विकास आकांक्षी नेपाल र उदाउँदो भारत कसरी पुनः जोडिन सक्छन् ?

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

गैरदलीय पेसाकर्मी र राजनीतिकाे खासै ज्ञान नभएकाहरूद्वारा स्थापित राजनीतिक दलको उदय हुनु, पार्टी स्थापनाको चार वर्षभन्दा छोटो समयमा लगभग दुईतिहाइको संसदीय बहुमत प्राप्त गर्नु र पार्टीबाट विश्वको सबैभन्दा कान्छो प्रधानमन्त्री निर्वाचित हुनु राजनीतिक इतिहासमा नियमित भइरहने घटना होइन। त्यसकारण, नेपालमा विकसित घटनाक्रम र यो देश कता जाँदै छ भन्ने विश्वव्यापी उत्सुकता पूर्णतया स्वाभाविक हो। अझ, हजार माइलभन्दा बढी लामो सिमाना जोडिएको छिमेकी भारतमा यो चासो झन् बढी स्वाभाविक छ।

नेपालको जारी रूपान्तरणको कथ्य सडक हिंसा, सैन्य विद्रोह, विदेशी हस्तक्षेप वा संवैधानिक शून्यताद्वारा लेखिएको थिएन। बरु, यो एक शान्तिपूर्ण र लोकतान्त्रिक ‘मतपेटिका क्रान्ति’का रूपमा आयो। विश्वमा अहिले धेरै समाज ध्रुवीकरण, सत्ताप्रतिको अविश्वास र भ्रष्ट राजनीतिमा डुबेको देखिन्छ। कैयौँ समाज विकल्पका रूपमा अलोकतान्त्रिक शक्तितर्फ झुक्दै गएका छन्। त्यस्तो समयमा नेपालले बहुलवादी समाजमा लोकतन्त्र परिवर्तनका लागि शक्तिशाली माध्यम रहेको प्रमाणित गरेको छ।

आजको नेपाल अनिश्चित भविष्यतर्फ अघि बढिरहेको छैन; यसले त थप समृद्ध र जीवन्त लोकतन्त्रको स्पष्ट आकांक्षी दृष्टिकोणलाई अँगालेको छ। हाम्रा मूल सिद्धान्तहरू सरल छन्– सुशासनप्रति फलामे प्रतिबद्धता र विकास प्रदान गर्दै जनताप्रति प्रत्यक्ष जवाफदेहिता।

नयाँ राजनीतिक वास्तविकता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको नयाँ राजनीतिक वास्तविकता हो। नयाँ शक्तिका रूपमा यस पार्टीले बदल्न नसक्ने गरी कठोर बनेको पुरानो राजनीतिलाई बलियो चुनौती दिएको छ। यसले देशबारे फरक दृष्टिकोण प्रदान गरेर युवा पुस्तालाई ‘डेलिभरी’मा आधारित राजनीतिमा जोडेका छौँ। हामीलाई थाहा छ, रास्वपाले प्राप्त गरेको मतले आक्रोश र आशा दुवैलाई प्रतिनिधित्व गर्दछ। र, यो परिवर्तनको अभूतपूर्व जनआकाक्षांका रूपमा आएको छ। यसैले नै युवा, समावेशी र निष्कलंक प्रतिभालाई चुनाव जिताउन सघायो।

हामीसँग अहिले हाम्रो विदेश नीतिलाई बदल्न आवश्यक एउटा ठुलो सम्पत्ति छ, त्यो हो हामीमाथि विगतको कुनै बोझ छैन। हामीलाई कुनै पुरानो वैरभावले जकडेको छैन। निश्चित रूपमा हामीलाई सार्वभौम सन्धिहरू र जनस्तरको अनौपचारिक सम्बन्धले बाँधिएको भए पनि हामी नेताहरूका पुराना झिनामसिना सम्झौता र मौन समझदारीबाट मुक्त छौँ। हामी भारत र विश्वलाई खुला मन, स्पष्ट आँखा र ‘नेपालको आर्थिक रूपान्तरण’को पारदर्शी एजेन्डामार्फत हेर्छौँ।

नेपाल र भारत केवल दुई देश मात्र होइनन्। हामी एक गौरवशाली र प्राचीन सभ्यताका ‘स्टेकहोल्डर्स’ हौँ। रामको गाथा तब मात्र पूरा हुन्छ जब जनकपुर र अयोध्या जोडिएका हुन्छन्। पशुपतिनाथ र केदारनाथलाई एकसाथ ल्याइएपछि मात्र हाम्रो आस्था पूरा हुन्छ। लुम्बिनी र बोधगयालाई जोडेर मात्र एक महान् सभ्यताको आधारभूत गर्भ साकार हुन्छ।

यद्यपि, हामीसँग न त आत्मभोगमा रमाउने सुविधा छ, न त हामी पुराना–वाक्यांश पछाडि हाम्रा कमजोरी लुकाउन चाहन्छौँ। हामी हाम्रो सम्बन्धले के हासिल गरेको छ भनेर बस्नुको सट्टा यसले के हासिल गर्न सक्थ्यो र यो कस्तोसम्म सम्बन्ध बन्न सक्छ भन्ने कुरामा ध्यान केन्द्रित गरेर नयाँ सुरुवात गर्न चाहन्छौँ।

सिमाना मात्र नभई, अर्थतन्त्र पनि जोड्ने
जब हामी (नेपालबाट) सीमापारि हेर्छौँ, आफूले आफैँलाई मौलिक रूपमा पुनः परिभाषित गरेको भारत देख्छौँ। पछिल्लो दशकमा, भारत पुरानो नोकरशाही बन्धनबाट मुक्त हुँदै सफलतापूर्वक पृथ्वीको सबैभन्दा ठुलो र द्रुत गतिमा बढ्ने अर्थतन्त्रहरूमध्ये एक बनेको छ। यस उपलब्धिलाई सम्मान गर्दै हामी (भारतको) विकासमा साझेदार बन्न चाहन्छौँ।

भारत मेट्रो रेल विस्तारमा विश्वकै अग्रणी राष्ट्र बन्ने बाटोमा छ। यस देशले प्रतिदिन लगभग १५ किलोमिटर रेलवे ट्र्याक बिछ्याइरहेको छ। (हाम्रो दुई देश जोड्ने) प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्ग केवल १५० किलोमिटरभन्दा कम लम्बाइको हुनेछ। जुन दिन उक्त १५० किलोमिटर ट्र्याक तयार हुनेछ, दुई देशबिचको व्यापार, पर्यटन, लजिस्टिक तथा क्षेत्रीय सम्पर्कमा क्रान्तिकारी परिवर्तन आउनेछ। नेपाल भारतसँग केवल सीमा मात्र जोडियोस् भन्ने चाहँदैन; हामी त रेलले सम्पूर्ण अर्थतन्त्रलाई बढावा देओस् भन्ने चाहन्छौँ।

हाम्रो नजर केवल नयाँदिल्लीतिर मात्र छैन; हामी भारतभरका राज्यको गतिशील रूपान्तरणमाथि नजर राखिरहेका छौँ। हामीले भारतको उड्डयन क्षेत्रले कसरी उडान भर्याे भन्ने देखेका छौँ; के हामी पोखरा र लुम्बिनीबाट सिधै दिल्ली, मुम्बई र बेंगलुरुको चम्किला केन्द्रहरूमा उडान गर्न सक्दैनौँ ? हामी खालि आन्ध्र प्रदेश र तेलंगाना प्रेदशले कसरी आफ्नो राज्यमा आइटीको समृद्ध ‘इकोसिस्टम’ निर्माण गरे भनेर बुझ्न चाहँदैनौँ; के हामी काठमाडौं–बेंगलुरु डिजिटल करिडोरको परिकल्पना गर्न सक्दैनौँ ? गुजरातको औद्योगिक पूर्वाधारले हामीलाई प्रेरित गर्छ; के यसले हाम्रो सीमा क्षेत्रमा रासायनिक मल कारखाना स्थापना गर्न तत्काल सहकार्यलाई प्रेरित गर्न सक्दैन ?

हामी आइआइटी र आइएमएमजस्ता संस्थाहरूलाई नेपालमा आतिथ्य प्रदान गर्न चाहन्छौँ। आज, नेपालले भारतका आइटी कम्पनी, स्टार्टअप इकोसिस्टम र विश्वविद्यालयहरूलाई आत्मविश्वासका साथ भन्न सक्छ– ‘नवप्रवर्तन प्रयोगशाला, इन्क्युबेसन सेन्टर र टेक–हब स्थापना गरेर हामीलाई नवप्रवर्तनमा आफ्नो साझेदार बनाउनुहोस्।’ हामी नेपालको उच्च–प्रतिभाशाली युवा पुस्ता, प्रचुर मात्रामा स्वच्छ ऊर्जा र बढ्दो डिजिटल इकोसिस्टममा गर्व गर्छौँ। तर, भारतको थप परिष्कृत प्राविधिक इकोसिस्टमबाट थोरै भरथेग पाउने हो भने हाम्रो पनि उल्लेख्य रूपान्तरण हुन सक्छ। हामी डिजिटल भुक्तानी, ‘फिनटेक’ र सीमापार प्लाटफर्महरूसँग सहकार्य गर्न चाहन्छौँ जसले दुवै पक्षका साना उद्यमीहरूलाई सशक्त बनाउनेछ।

विकास कूटनीतिमा परिवर्तन
राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल–भारत सम्बन्धको सम्पूर्ण शब्दावलीलाई भूराजनीतिक घर्षणबाट टाढा राख्न चाहन्छ। हामी दुईदेशीय सम्बन्धको आधार विकास कूटनीतिका आधारमा कायम गर्न दृढ छौँ। हाम्रो प्रमुख एजेन्डा कूटनीतिक नियोगहरूलाई लगानी, व्यापार तथा आर्थिक साझेदारीको इन्जिनमा रूपान्तरण गर्नु हो। हामी दुवै राष्ट्रका सर्वसाधारण नागरिकको दैनिक जीवनमा मापन गर्न सकिने परिणाम दिने सम्बन्ध चाहन्छौँ।

नेपालको जलविद्युत् क्षमता अब केवल घरेलु सम्पत्ति मात्र रहेन; यो उदाउँदो भारतको औद्योगिक करिडोरहरूलाई ऊर्जा प्रदान गर्न सक्षम, सफा र हरित इन्जिन हो। हामीले खण्डित सीमापार व्यापारबाट बलियो रूपमा एकीकृत ऊर्जा बजारतर्फ अघि बढ्नुपर्छ। टमाटरको मूल्यदेखि मेसिनरीको आवागमनलाई अझै नोकरशाही अवरोधले निर्देशित गरिरहनुहुँदैन। हामीलाई आधुनिक, ‘डिजिटलाइज्ड’ एकीकृत चेक पोस्ट (इन्टिग्रेटेड चेक पोस्ट वा आइपिसी) र उन्नत ट्रान्जिट करिडोरको आवश्यकता छ। यी पूर्वाधारले कठोर सिमानालाई निर्बाध पुलमा बदल्छन्।

हिमालय चुचुरादेखि जनकपुर, लुम्बिनी तथा बोधगयाका पवित्र सर्किटसम्म, हाम्रो पर्यटन सम्भावना अन्तरनिर्भर छ। हामीले पर्यटन सर्किटहरू यसरी निर्माण गर्नुपर्छ कि विश्वभरबाट आउने पर्यटकहरूले प्रशासनिक अवरोधविना हाम्रो साझा सम्पदा अनुभव गर्न सकून्। हामीले हालै अहमदाबादमा सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) फाइनल प्रत्यक्ष हेरेदेखि नेपाली खेलाडी तथा नेपाली रंगशालाहरूलाई कसरी आइपिएल फ्रेन्चाइजमा जोड्न सकिन्छ भनेर गहिरोसँग विचार गरिरहेका छौँ।

पारस्परिक विश्वासको जग निर्माण
उसो त नेपाल–भारतबिचको सहयोगको सम्भावना कृषि, स्वास्थ्य सेवा, साइबर सुरक्षा र विपत् व्यवस्थापनलगायत अनगिन्ती क्षेत्रहरूमा फैलिएको छ। तर, हामीले यी सबको जग अर्थात् विश्वास अभिवृद्धिमा पनि काम गर्नुपर्छ। हामी मुख्य मुद्दाहरूलाई ढाकछोप गरेर, नदेखेझैँ गरेर साँचो मित्रता हासिल गर्न सक्दैनौँ।

हामी त्यस्तो छिमेकी हौँ, जसको सभ्यतागत सम्बन्ध अहिलेको मानवनिर्मित सीमाभन्दा हजारौँ वर्ष अघिदेखि कायम छ। त्यसकारण, पछि विकास भएका विवादहरूलाई लम्बिन दिनुहुँदैन। तिनलाई ऐतिहासिक तथ्यहरू र आपसी समझदारीको आधारमा समाधान गर्न सकिन्छ। हामी परम्परागत राजनीतिज्ञहरूले प्रयोग गर्ने उग्र–राष्ट्रवादी बयानबाजीलाई घृणा गर्छौँ। हामी प्रमाणमा आधारित संवाद र चुनावी राजनीतिमुक्त विकल्प प्रस्ताव गर्न चाहन्छौँ।

राजनीतिक रूपमा खण्डित नेपाल भारतका लागि चिन्ताको विषय हुनेछ। त्यसैले नेपालको आर्थिक विकास भारतको लागि रणनीतिक आवश्यकता हो। स्थिर र समृद्ध नेपाल भारतको उत्तरी सिमानामा प्राकृतिक रेलिङ हो।

ऐतिहासिक अवसर
इतिहासले कसैलाई पनि असीमित अवसर प्रदान गर्दैन; यसले समय–समयमा छोटो अवधिका लागि अवसर प्रदान गर्दछ। र, अहिले सन् २०२६ को मध्यकाल नेपाल–भारत सम्बन्धलाई पूर्ण रूपमा पुनर्स्थापित गरेर माथि लाने सबैभन्दा अनुकूल अवसर हो।

अस्थिरता र घृणाले भरिएको विगत ३० वर्षको नेपाल अब इतिहास भइसकेको छ। आखिर हामीमा त्यस्तो के छ ? सचेत युवा मतदाताको बलियो जनादेश प्राप्त वर्तमान नेतृत्व व्यावसायिक छ, जसले कर्पोरेट कार्यान्वयनको भाषा बोल्छ, राजनीतिक सतहीपनको होइन। हामी नीतिगत निरन्तरता, पारदर्शिता र निष्ठाको प्रतिज्ञा गर्छौँ। रास्वपा नेतृत्व तयार छ, किनकि नेपालका जनता तयार छन्। त्यसैले, विगतका डरत्रासबाट परिभाषित साझेदारीको स्थानमा साझा भविष्यको असीम सम्भावनाहरूद्वारा परिभाषित साझेदारी निर्माण गरौँ।

हामीले दुईदेशीय सम्बन्ध पुनर्स्थापित गर्दै थप गहिरो बनाउन खोज्दै गर्दा हामीसँग एउटा ऐतिहासिक आधारविन्दु छ– अगस्ट ३, २०१४। त्यस दिन, प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्लाई मात्र सम्बोधन गरेनन्; नेपाली जनतासँग प्रत्यक्ष अन्तरक्रिया गर्न सडकमा निस्किए। उनले प्रेमका साथ भने कि भारत र नेपालबिचको सम्बन्ध हिमालय र गंगाजत्तिकै प्राचीन छ, जुन लिखित दस्ताबेजभन्दा पर जान्छ। हाम्रा सिमाना बाधा नभई पुल बन्न सक्ने दृष्टिकोण व्यक्त गर्ने व्यक्ति मोदी नै हुन्। त्यसवेलादेखि बागमती र गंगामा धेरै पानी बगिसकेको छ। यी नदीहरूले पहाडहरूसँग वार्ता गर्दैनन्; तिनले त केवल आफ्नो बाटो खोज्छन्। र, हामी पनि खोज्नेछौँ।

हामीसँग अगस्ट ३, २०१४ को विश्वास र न्यानोपनमा फर्कनुबाहेक अरू कुनै विकल्प छैन। र, हामी फर्कनेछौँ, पूर्ण इमानदारीका साथ। र, यस क्रममा हामी नयाँ सम्भावनाहरूलाई समेट्ने र पुराना मतभेद तोड्ने प्रतिज्ञायुक्त पुल निर्माण गर्न पहिलो ढुंगा बोक्ने व्यावहारिकता देखाउनेछौँ।

द हिन्दुस्तान टाइम्सबाट

सुझावित समाचार