स्वास्थ्य बिमा बोर्डले अस्पतालको आकस्मिक कक्षमा पुगेका बिरामीको उपचारलाई समेत बिमामा कडाइ गरेको छ । सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवाअन्तर्गत उपचार प्रदान नगर्न बोर्डले अस्पतालहरूलाई निर्देशन जारी गरेको हो ।
बोर्डले सामान्य किसिमका बिरामीको विवरण दाबी पेस गरिएमा त्यस्ता दाबीहरूको भुक्तानी नगरिने चेतावनी दिएको छ । यसअघि १२ जेठमा निजी सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पत्राचार गर्दै बोर्डले सामान्य अवस्थाका बिरामीलाई बिमामा उपचार नगराउन भनेको थियो ।
‘कुनै बिरामीको स्वास्थ्य अवस्थामा आकस्मिक उपचार आवश्यक पर्ने प्रकृतिको देखिएमा मात्र आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नुहुन साथै त्यस्ता आकस्मिक बिरामीलाई उपचारको क्रममा भर्ना वा शल्यक्रियासमेत आवश्यक पर्ने भएमा उपचार पद्धतिअनुसार उपचार गरी डिस्चार्ज गर्न सकिने व्यहोरा जानकारी गराइन्छ,’ बोर्डले भनेको छ ।
बाेर्डले अगाडि भनेकाे छ, ‘तर, सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवाअन्तर्गत उपचार प्रदान गरी दाबी पेस गरिएमा त्यस्ता दाबीहरूको भुक्तानी नगरिने तथा प्रचलित कानुनबमोजिम भइजाने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’