हिजोका दिनमा तक्षशिलाजस्ता विश्वविद्यालय वा ऋषिमुनिका तपोभूमिले अनुसन्धानमार्फत भारतलाई संसारभर ज्ञानभण्डारको उद्गमस्थल र सभ्यताको पाठशालाको पहिचान दिएको छ भने इन्डस, इजिप्ट र मेसोपोटामियाजस्ता सभ्यताकेन्द्र वैज्ञानिक आविष्कारका जननीस्थल मानिन्छन् ।
संसारभर नै विश्वविद्यालय ज्ञानभूमि, अनुसन्धान र आविष्कारको भट्टी तथा चम्किलो तारापुञ्ज मानिन्छन् र आज संसारभरका विकसित देशको पहिचान, विकास र मानव सभ्यताजस्ता मापदण्डका श्रेय पनि त्यस देशका विश्वविद्यालयले गरेका अनुसन्धानमूलक आविष्कारको उपजलाई नै मान्ने गरेको भेटिन्छ ।
मंगल र चन्द्रमासम्म मानवजीव पहुँच पनि विश्वविद्यालयबाट विकसित आविष्कारका उपज नै भएको हामी सबैले पढेका छौँ । आज नोबेल पुरस्कारविजेता विश्वप्रख्यात वैज्ञानिकहरूले गर्ने अनुसन्धान होस् वा सूक्ष्म कम्प्युटर प्रविधियुक्त अनुसन्धान नै किन नहोस्, यी सबै प्रविधि विकास, सो प्रविधिको प्रचारप्रसार र बजार व्यवस्थापनमा समेत विश्वविद्यालयका प्राज्ञिक व्यक्तिले प्रतिपादन गरेको प्रविधिलाई नै निर्धारक मान्ने गरिन्छ । नेपाली विश्वविद्यालय पनि त्यस्तै प्रविधि विकास र विस्तारमा लाग्न सकोस् भन्ने हामी सबैको चाहना पनि छ ।
सन् १९५० मा सँगसँगै स्वतन्त्रता प्राप्त गरेका छिमेकी मुलुक चीन र भारतले विगत २०–३० वर्षमा गरेका शैक्षिक, प्राज्ञिक र प्रविधि उन्नयन हेरी अब हामी नेपालीले पनि अघि नबढ्ने हो भने हाम्रो राष्ट्रिय विकास र अन्तर्राष्ट्रिय पहिचान अरू खस्कँदै जाने देखिन्छ । यसकारण पनि नेपाली विश्वविद्यालयले अनुसन्धानमूलक अध्ययन–अनुसन्धानको दिशातर्फ उन्मुख भएर अघि बढ्ने उपयुक्त समय आइसकेको छ ।
विश्वविद्यालय अनुदान आयोगले शिक्षा, विज्ञान तथा प्रविधि र अर्थ मन्त्रालयसँगको समन्वयमा ‘बेलिब्रिजका’ रूपमा नेपालका राष्ट्रिय विश्वविद्यालयहरूलाई जोड्ने काम गरेको छ
विभिन्न नेपाली विश्वविद्यालयमा अनुसन्धान तथा त्यसका प्रकाशनलाई प्राज्ञिकहरूको पदोन्नति र वृत्ति विकासमा मात्र नभई विश्वविद्यालयको उच्चपदस्थ पदाधिकारी बन्नसमेत मुख्य आधार मान्ने प्रक्रियाको थालनीले अब अन्तर्राष्ट्रिय बजार सुहाउँदो अध्ययन, अनुसन्धान र प्रकाशन प्रक्रियामा नेपाली विश्वविद्यालयमा कार्यविधि नै बनिसकेकोसमेत पाइन्छ । नेपाली विश्वविद्यालयहरूको छाता संगठन विश्वविद्यालय अनुदान आयोगले स्थापनादेखि नै नेपालको उच्च शिक्षा विकासमा सिर्जनशील भूमिका खेलेको निर्विवाद छ ।
नेपाली विश्वविद्यालयबिच ज्ञान र प्रविधिको विकास गर्न दक्ष मानव संसाधन विकास पु¥याउन होस् वा राष्ट्रिय महŒवको विकास क्षेत्रमा अनुसन्धान, विकास र प्रविधि विस्तारमै किन नहोस्, विश्वविद्यालय अनुदान आयोग विगत तीन–चार दशकदेखि अनवरत रूपमा उच्च शिक्षा उन्नयनमा प्रतिबद्ध भई लागेको पाइन्छ । नेपाली विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्न पुँजीगत एवं सञ्चालन खर्च उपलब्ध गराउने कार्य मात्र नभई, विश्वविद्यालयको प्रविधि विकास, गुणस्तर नियमन र प्रत्यायोजनमा पनि विश्वविद्यालय अनुदान आयोग, नेपाल कटिबद्ध भई लागिरहेको छ ।
सारमा हेर्दा नेपाल सरकारअन्तर्गत सम्बद्ध संघीय मन्त्रालयहरू विशेषतः शिक्षा, विज्ञान तथा प्रविधि र अर्थ मन्त्रालयसँगको समन्वयमा ‘बेलिब्रिजका’ रूपमा विश्वविद्यालय अनुदान आयोगले नेपालका राष्ट्रिय विश्वविद्यालयहरूलाई जोड्ने काम गरेको छ । यस लेखमा विश्वविद्यालय अनुदान आयोगले नेपालको उच्च प्राज्ञिक उन्नयन तथा वैज्ञानिक अनुसन्धान र विकासमा खेलेको वर्तमान भूमिका तथा भावी अनुसन्धान नीति र सुझावजस्ता विषयलाई चिरफार गर्ने कोसिस गरिएको छ ।
अनुदान आयोगको अनुसन्धानत्मक गतिविधि : विश्वभरका विकसित देशले अनुसन्धान र नवप्रवर्तनमा राष्ट्रिय बजेटको ठुलो हिस्सा खर्च गर्ने गरेको पाइन्छ । नेपालमा भने यस प्रक्रियाले हालसालैको दशकमा मात्र सुरुवाती प्रक्रिया थालनी गरेको छ । यसर्थ, नेपाली विश्वविद्यालयलाई विविध शीर्षकमा अनुसन्धान रकम उपलब्ध गराउने, अनुसन्धान तालिम प्रदान गर्ने, उद्यमशील कार्यक्रम थालनी गर्ने, अनुसन्धान ग्रन्थ प्रकाशन र प्रस्तुतीकरणमा आर्थिक सहयोग गर्ने मात्र नभई यी वैज्ञानिक एवं प्राज्ञिक अनुसन्धान गर्न–गराउनसमेत विश्वविद्यालय अनुदान आयोगले प्रयोगशाला निर्माणमा करोडौँ खर्च गरेको देखिन्छ ।
स्नातक तहका विद्यार्थीलाई छात्रवृत्ति तथा स्नातकोत्तर र पिएचडी तहका विद्यार्थीलाई शोध ग्रन्थमा समेत सहयोग पुर्याउँदै आएको विश्वविद्यालय अनुदान आयोगको एक सशक्त र क्रियाशील महाशाखा, अनुसन्धान तथा छात्रवृत्ति महाशाखा मानिन्छ । नेपाली विश्वविद्यालयमा अनुसन्धानमूलक वातावरण बनाउन विश्वविद्यालय अनुदान आयोगको महाशाखाले खेलेको भूमिका वर्षैपिच्छे खारिँदै गएकोसमेत पाइन्छ ।
विश्वविद्यालय अनुदान आयोग नेपाल विगत दशकदेखि सातवटा विषयगत क्लस्टरमार्फत वार्षिक ५०–५० संख्याका एमफिल, लघु अनुसन्धान, ‘फ्याकल्टी’ अनुसन्धान गराउँदै अघि बढिरहेको छ भने पिएचडीमा यो संख्या वार्षिक ६० वटा अनुसन्धानात्मक कार्यमा अघि बढाइएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकार्यात्मक सहभागिता र हातेमालो गर्दै २०–२५ वटा ठुला अनुसन्धानात्मक कार्यमा समेत विश्वविद्यालय अनुदान आयोग लागिपरिरहेको छ । युवा वैज्ञानिक तथा प्राज्ञिक अनुसन्धानत्मक कार्यमा थप सहयोगार्थ प्रशस्तै तालिम प्रकाशन र विदेश भ्रमणसमेत यसका नवप्रवर्तनकारी कार्य हुन् ।
यी सबै अनुसन्धान गतिविधि विस्तारमा आयोगले वार्षिक लगभग ४० करोड लगानी गर्दै नवीनतम अनुसन्धान प्रवद्र्धनमा कटिबद्ध भई लागिपरिरहेको छ । वल्र्ड बैंकको आर्थिक सहयोगमा सञ्चालित नवप्रवर्तनकारी सहकार्यात्मक राष्ट्रिय वा प्रादेशिक विश्वविद्यालयमा उद्यमशील कार्यक्रम सुरु गरी नेपालभरिका लगभग १०० जना नवयुवा विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई पढ्दै कमाउँदै अघि बढ्ने प्रकृतिको उद्यमशील कार्यक्रमको सुरुवाती प्रक्रियाले अब विश्वविद्यालय सबैको ‘सिक्ने र सिकाउने’ तथा ‘आफ्नै देशमा बसेर पढ्ने पढाउने’ स्थलका रूपमा रूपान्तरण हुनेमा आयोगले विश्वास लिएको छ ।
विगत १० वर्षदेखि लगभग तीन अर्बमा सम्पादित अनुसन्धानलाई सातवटा विषयका सोधसार पुस्तक प्रकाशन गर्ने लक्ष्य लिएको विश्वविद्यालय अनुदान आयोग नेपालले अब नेपालमा गरेका अनुसन्धानलाई पनि बाह्य संसारसँग जोड्नेछ भने, अनुसन्धानमा भएका एकै प्रकृतिका दोहोरोपनाका खर्चलाई समेत नियन्त्रण गरी नवीनतम अनुसन्धानात्मक कार्यमा थप प्रभावकारिता थप्न सक्ने विषयलाई हृदयंगम गरिएको छ । नेपालभरका विश्वविद्यालयमा प्राध्यापनरत प्राध्यापकका लागि राष्ट्रिय रूपमै अनुसन्धानमूलक पोर्टल तयार गर्ने अनुसन्धान महाशाखाको प्रयासले पक्कै सकारात्मक प्रभाव पार्ने अनुमान गर्न सकिन्छ ।
नवीनतम प्राज्ञिक उन्नयन वैज्ञानिक अनुसन्धान मार्ग : वर्तमान अवस्थामा कार्यरत कर्मचारी दरबन्दीको अवस्थामा मात्र विश्वविद्यालय अनुदान आयोगले अनुसन्धानमूलक गतिविधि नियमन गरी गुणस्तरीय अनुसन्धान गर्न गराउन सम्भव देखिँदैन । विभिन्न विश्वविद्यालयबाट प्रतिनिधित्व गर्ने प्राध्यापक तथा नेपालका विभिन्न सरकारी निकायका सयौँ प्रबुद्ध विषयगत विज्ञहरूको रोस्टर सूचीले मात्र पनि अनुदान आयोगका अनुसन्धान गतिविधिलाई मूल्यांकन गरिरहेको वर्तमान परिवेशलाई नयाँ ढंगबाट हेर्नुपर्ने भएको छ ।
प्राविधिक धारतर्फ कृषि र वन, विज्ञान र प्रविधि, इन्जिनियरिङ तथा स्वास्थ्य विज्ञान एवं अप्राविधिक धारतर्फ मानविकी, शिक्षा र व्यवस्थापन संकायका लागि अनुसन्धान हेर्ने एक–एकजना डाइरेक्टर र यी सबैलाई अनुसन्धानको ‘ट्र्याक रेकर्ड’ हेरी नियमन गर्ने एकजना प्राध्यापक तहको कार्यकारी अनुसन्धान निर्देशकको सांगठनिक संरचनाको आवश्यकता युजिसीलाई खड्केको छ ।
युजिसीले विश्वविद्यालयका प्राध्यापकलाई उपलब्ध गराइएको अनुसन्धानको ‘अनुगमन/मूल्यांकनमा थप निगरानीको आवश्यकता देखिन्छ । विश्वविद्यालय अनुदान आयोगबाट विस्तारित विविध प्रकृतिका अनुसन्धान सम्पादन गर्ने कार्यविधि तयार गरिँदै गर्दा विशेषतः एमफिल र पिएचडी अनुसन्धानका लागि नेपालका सबै विश्वविद्यालयलाई नियमनकारी कार्यविधि लागू गर्न परिपत्र भइसकेको अवस्थामा नेपालका हरेक विश्वविद्यालयका ‘पोस्ट–ग्र्याजुएट’ कार्यक्रमलाई सुधार गर्नु विश्वविद्यालयको दायित्व हो । अनुदान आयोगले सबै नेपाली विश्वविद्यालय तथा उच्च शैक्षिक निकायमा अनुसन्धानात्मक गतिविधि बढाउन समतामूलक र प्रतिस्पर्धामूलक ढंगबाट अनुसन्धान बजेटसमेत उपलब्ध गराई आवश्यक प्रयोगशाला स्थापना र विकासका लागि गरिरहेको वर्तमान परिवेशलाई विश्वविद्यालयले सुनौलो अवसरमा बदल्न सक्नुपर्छ ।
मुख्यतया, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा अनुसन्धान विकास नियमनकारी भइसकेको र अन्य पछिल्ला नयाँ विश्वविद्यालयमा भर्खरै मात्र अनुसन्धान नियमनकारी कार्यविधि बन्दै गरेको अवस्थामा आयोगबाट लिन सकिने अधिकतम फाइदाका लागि अग्रसर हुनुपर्छ । विश्वविद्यालय–विश्वविद्यालयबिच सहकार्यात्मक अनुसन्धान प्रवद्र्धन तथा प्रस्तुत गर्न गराउन नेपालका विश्वविद्यालय अघि बढ्नुपर्छ ।
नेपाल सरकार संघीय, प्रादेशिक र स्थानीय निकायसँग समेत समन्वयकारी भूमिका खेली नवप्रवर्तनकारी अनुसन्धानमा लाग्नु र अनुसन्धानमूलक उपजलाई गुणस्तरीय जर्नलमा प्रकाशन तथा ‘बहुजन हिताय’ कार्यमा लगाउन सके मात्र नेपाली विद्यार्थीलाई स्वदेशका विश्वविद्यालयमा आकर्षित गर्न सकिन्छ । नेपालकै उच्चशिक्षाको अग्रणी विश्वविद्यालयको खस्किँदो शैक्षिक तथा प्राज्ञिक गुणस्तर सुधार गरी अघि बढ्न राष्ट्रिय शिक्षा नीति (२०१९), राष्ट्रिय प्राविधिक शिक्षा नीति (२०१९) र सहस्राब्दी विकास योजना (२०१५)ले घोषणा गरेको लक्ष्य र नीतिको प्रभावकारी कार्यान्वयन प्रमुख पक्ष हुन जान्छन् ।
भर्खरै लागू गरिएको १६औँ पञ्चवर्षीय योजना र यस आर्थिक वर्ष ०८३/८४ मा घोषित नीति, कार्यक्रम र बजेटअनुसार अघि बढ्नु र प्रत्येक विश्वविद्यालय सभा र कार्यकारी परिषद्को निर्देशानुसार नयाँनयाँ कार्यक्रम लिई अघि बढ्नु उपयुक्त र अपरिहार्य हुन सक्छ । अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र विश्वविद्यालयका अनुसन्धानात्मक प्रविधिलाई ‘पेन्टेन्ट राइट’ लिनसमेत विश्वविद्यालय अनुदान आयोगले पहलकदमी लिइराखेको वर्तमान परिवेशलाई अंगीकार गर्दै ‘विश्वविद्यालय पवित्र मन्दिर वा ज्ञानभूमि हो’ भन्ने कुरालाई विश्वविद्यालयका प्राज्ञिक व्यक्तिले चरितार्थ गर्नुपर्ने उपयुक्त समय भएको छ ।
सारांश : संसारैभरि नवप्रवर्तनकारी अनुसन्धान उपजको प्याटेन्ट राइट विश्वविद्यालयका पर्यायवाची नाम मानिन्छन् । नेपालका पुराना विश्वविद्यालयमा अनुसन्धान नियमनकारी कार्यविधि लागू भई सफल प्रयोग भए पनि नेपालमा लोकतान्त्रिक, गणतान्त्रिक बहुदलीय व्यवस्थापछि खुलेका विश्वविद्यालयमा भर्खरै मात्र अनुसन्धान प्रक्रिया सुरु भएको पाइन्छ । अनुदान आयोगका उच्च शैक्षिक निकायमा समतामूलक र प्रतिस्पर्धी ढंगको अनुसन्धान र त्यसको उन्नयनका लागि आवश्यक प्रयोगशाला स्थापनामा दसकौँदेखि अनवरत लागिरहेको छ ।
नेपाली विश्वविद्यालयमा अध्ययनरत स्नाकोत्तर, एमफिल, पिएचडी र पोस्टडकका विद्यार्थी तथा कार्यरत प्राध्यापक, कर्मचारीको वृत्ति विकास र पदोन्नतिका लागि आवश्यक अनुसन्धान प्रस्ताव लेखन तालिमदेखि प्रकाशन र प्रस्तुतीकरणमा समेत प्राविधिक र आर्थिक सहयोग गर्न विश्वविद्यालय अनुदान आयोगले थप भूमिका खेलिरहेको वर्तमान परिवेशलाई नेपालका सबै विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक तथा कर्मचारीले सुनौलो अवसर मानी अघि बढ्नुपर्छ ।
भावी कार्यक्रमका रूपमा नेपालका प्रायः सबै विश्वविद्यालयमा थुप्रै विषयका वैज्ञानिक प्रयोगशाला बनिसकेको, तर दक्ष जनशक्तिको अभावमा प्रयोगशाला सञ्चालनमा आउन नसकेको विवि अनुदान आयोगको अब उपरान्त लगानी ढंगको प्रयोगशाला सञ्चालन जनशक्ति उत्पादन गर्नुपर्छ । विश्वविद्यालय–उद्यमशीलता कार्यक्रम लागू गराई अन्तर्राष्ट्रिय (बजार सुहाउँदो नयाँनयाँ कार्यक्रम निर्माण गरी नवप्रवर्तनकारी अनुसन्धानका लागि प्राज्ञिक अनुसन्धान गर्ने मात्र नभई त्यसलाई थप सामाजिक हितमा प्रयोगमा ल्याउँदै गरेका हरेक विश्वविद्यालयलाई दीर्घकालीन ढंगबाट अघि बढाउनुपर्ने उपयुक्त समय आएको छ ।
(प्राडा अम्गाई त्रिभुवन विश्वविद्यालयको कृषि र पशुविज्ञान अध्ययन संस्थानमा कार्यरत छन्)