सी जोसेफ विजय लामो ‘खेल’ खेलिरहेका छन् । तमिलनाडुका मुख्यमन्त्रीका रूपमा उनको कार्यकालको सुरुवाती लक्षणले पनि त्यही संकेत गर्छ । हालसम्मको उनको सतर्क कदम हेर्दा विजयले कम्तीमा दुई कार्यकाल त सहजै सत्ता चलाउने देखिन्छ । जुन थप लम्बिन पनि सक्छ । यस क्रममा विजयले तमिलनाडुको राजनीतिमा आफ्नो सान्दर्भिकता प्रमाणित गर्नेछन् भने आफू नेतृत्वको पार्टी ‘तमिलगा भेट्टी कझगम (टिभिके)’लाई स्थापित गर्नेछन् ।
विजय र टिभिकेले आफ्नो स्थापनाको २७ महिनामै तमिलनाडुमा लामो कालमा देखिने पुस्तागत राजनीतिक परिवर्तन गरिसकेका छन् । उनले तमिलनाडुको राजनीतिलाई ६० वर्षदेखि लगभग पालैपालो शासन गर्दै आएका दुई द्रविड दल डिएमके र एआइएडिएमकेको प्रभुत्वबाट मुक्त गरेका छन् । विजयको परीक्षा डिसेम्बर २०२६ मा हुने नगरपालिका चुनाव हुनेछ । तथापि, अहिलेसम्मको परिदृश्यमा सन् २०२९ को लोकसभा चुनावअघि, विजयका लागि तमिलनाडुको राजनीतिमा ठुलो चुनौती देखिँदैन ।
यसपटक चुनावमा तमिलनाडुका मतदाताले १०८ टिभिके विधायकलाई निर्वाचित गरे । राज्यको सबैभन्दा ठुलो दल भए पनि पार्टीसँग ११७ को बहुमतभन्दा थोरै कम सिट थियो । यसैले विजयलाई मुख्यमन्त्री बन्न नदिने कैयौँ वैकल्पिक राजनीतिक सूत्र अघि सारियो । यहाँसम्म की डिएमकेले लामो समयको प्रतिद्वन्द्वी दल एआइएडिएमकेका नेता एडाप्पाडी के. पलानीस्वामीलाई मुख्यमन्त्रीका रूपमा समर्थन गर्ने प्रयास पनि भयो । भित्री रूपमा लामो राजनीतिक वार्ता भए पनि योजना साकार हुन सकेन ।
विजयले आफूलाई सरकार बनाउन आमन्त्रित गरिदिन राज्यका गभर्नर राजेन्द्र अर्लेकरलाई पटक–पटक भेटे । एक विन्दुमा, विजय राजनीतिक चालबाजीबाट यति निराश भएको बताइन्छ कि उनले आफ्ना सबै १०८ विधायकलाई राजीनामा दिन लगाएर नयाँ चुनावको माग गर्ने विचार पनि गरेका थिए । लामो रस्साकस्सीपछि मात्र मे १० मा टिभिकेले कांग्रेस, दुई कम्युनिस्ट दल र दलित तथा मुस्लिम दलको साथमा विजयलाई मुख्यमन्त्री बनायो ।
उसो त डिएमके नेता एमके स्टालिनले टिभिकेको जित इन्स्टाग्राम र सामाजिक सञ्जालको प्रभावका कारण भएको आरोप लगाएका थिए । यदि त्यसो हो भने टिभिकेले पनि त जनताको भावना नाप्न र मिडिया रणनीति बनाउन राजनीतिक सल्लाहकार तथा सर्वेक्षण एजेन्सी खरिद गरेको थियो । जित्न सामाजिक सञ्जालको उपस्थिति त्यति नै आवश्यक थियो भने उसले त्यस्तै रणनीति किन अपनाएन ?
प्रारम्भमा विजय सरकारको संयमित कदम
कुनै पनि सरकारका लागि पहिलो सय दिन अर्थात् पहिलो तीन महिना महत्वपूर्ण हुन्छ । विजयले पनि मुख्यमन्त्रीका रूपमा यस अवधिमा स्थिरता हासिल गर्नुपर्नेछ । पहिलो त गठबन्धन सरकार जोगाउन आफ्ना विपक्षीको कुनै पनि अस्थिरता निम्त्याउन सक्ने प्रयासलाई राजनीतिक रूपमा निष्क्रिय पार्नुपर्नेछ । साथमा उनले पहिलो बजेटमार्फत आफ्ना चुनावी वाचा कार्यान्वयन गर्ने विश्वास दिलाउनुपर्नेछ ।
भ्रष्टाचार आरोप लागेका केही वरिष्ठ द्रमुक नेताविरुद्ध उनले कडा निर्णय लिने संकेत गरेका छन् । यसबाहेक, विजयले विगतका राज्य सरकारले जस्तै केन्द्र सरकारसँग लामो समय टकराव गरेर राजनीतिक लाभ नहुने बुझेका छन् । उनको राजनीतिक दृष्टिकोण सन्तुलित र रणनीतिक छ । उनले प्रणालीविरुद्ध गएरभन्दा पनि यसभित्र खेल्ने रुचि देखाएकाले टिभिकेले दीर्घकालीन राजनीतिक ठाउँ बनाउन सक्छन् । विजयले सत्ता सम्हालेको एक महिनाभित्रै प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने अपेक्षा गरिएको छ । दिल्लीमा मोदीका साथै उनले अन्य प्रमुख राष्ट्रिय नेतालाई भेट्न सक्छन् ।
व्यवसायीसँग विजयको भेटघाटले पनि आफ्नो शासनमा आर्थिक विकासलाई प्राथमिकता दिने उनको इच्छा प्रदर्शन गर्छ । उनले राजनीतिक दबाब सामना गर्ने र विपक्षीलाई जवाफ दिने क्षमता प्रदर्शन गरेका छन् । विजयको नेतृत्वमा पछिल्लो २० दिनमा तमिलनाडु सरकारको काम सावधानीपूर्ण देखिन्छ ।
आफ्नो सिनेमाको प्रसिद्धिलाई ‘विजयवाद’ भनिने राजनीतिक आन्दोलनमा रूपान्तरण गरेका विजयको व्यक्तित्व गम्भीर, शान्त र संयमित देखिन्छ । तथापि, पार्टी स्थापनाका सुरुवाती दिनमा एक चुनावी ¥यालीमा भएको भागैदाड अर्थात् ‘करुर भागदौड’मा ४१ जनाको मृत्युले अझै उनलाई पछ्याउन छाडेको छैन । विपक्षीले उनको व्यक्तिगत जीवन र उनकी श्रीमती संगीतासँगको सम्बन्धलाई लिएर अझै उनको विरोध गर्ने गर्छन् ।
तमिलनाडुको बदलिँदो राजनीतिक परिस्थितिलाई हेर्दा आगामी दिन विजयका लागि सहज भने हुनेछैन । उनले सत्ता साझेदार वामपन्थी दल, कांग्रेस र एआइएडिएमकेका फुटेका गुटबिच सन्तुलन कायम गर्नुपर्नेछ । विजयको हालसम्मको प्रतिष्ठा पिभी नरसिंह रावजस्तै बनेको छ, जसले शान्तिपूर्वक परिस्थितिलाई अवलोकन गरेर प्रतिक्रिया दिन्थे ।
राज्यमा सत्ता साझेदार कांग्रेस भएकाले विजय भविष्यमा कांग्रेस नेतृत्वको ‘इन्डिया’ गठबन्धनमा सहभागी हुने सम्भावना उच्च छ । टिभिकेले सन् २०२९ मा हुने लोकसभा चुनावमा विपक्षी दलको प्रधानमन्त्री पदको उम्मेदवारका रूपमा राहुल गान्धीलाई समर्थन गर्न सक्छन् । त्यसअघि भने विजयले अर्को प्रमुख राजनीतिक प्रश्नको सामना गनुपर्नेछ । सन् २०२७ मा राष्ट्रपति द्रौपदी मुर्मुको उत्तराधिकारीका लागि हुने राष्ट्रपतीय चुनावमा उनले कसलाई समर्थन गर्लान् ? त्यो भने समयले बताउला ।
(राजगोपालन वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक हुन्) द प्रिन्टबाट