- कूटनीतिक समाधान खोज्ने गरी कदम नचालिए सम्पूर्ण सहेल क्षेत्रमा अस्थिरताको ठुलो लहर आउन सक्छ
मालीको राजधानी बामाकोमा विद्रोही समूहले इन्धन प्रवेशमा नाकाबन्दी लगाएको लगभग नौ महिना भइसक्यो । अप्रिलको अन्त्यपछि द्वन्द्व अझ चर्कियो । अल–कायदासम्बद्ध ‘जमात नुसरत अल–इस्लाम वाल–मुस्लिमिन (जेएनआइएम)’ले टुआरेग पृथकतावादी आन्दोलनका सदस्यसँग मिलेर माली सेना र यसलाई सहयोग गर्ने रुसी अर्धसैनिक समूह अर्थात् अफ्रिकी कोर्प्स (पहिले वाग्नर)विरुद्ध समन्वित आक्रमण सुरु गर्यो । अप्रिलको आक्रमणमा मालीका रक्षामन्त्री सादियो कामारा नै विद्रोहीबाट मारिए ।
त्यसयता विद्रोहीले कैयौँ सैन्य शिविर नियन्त्रणमा लिइसक्यो । देशको उत्तरी भेगको सबैभन्दा ठुलो उत्तरी सहर किडालमाथि पनि तिनले पुनः नियन्त्रण हासिल गरेका छन् । राजधानी बामाकोमाथिको नाकाबन्दी थप कडा पारिएको छ । पछिल्लो आक्रमण शृंखला मुख्यतः ‘अजावाद’ भनिने टिम्बक्टु, तौदेनिट, किडाल र गाओ समेटिएको बृहत्तर क्षेत्रमा बस्ने टुआरेग समुदायको विद्रोहको पछिल्लो विस्तारित रूप हो । सन् २०२१ मा भएको सैन्य विद्रोह र त्यसपछिको विदेशी हस्तक्षेपले माली राज्य कमजोरी भएपछि वर्तमान संकट थप जटिल बन्यो । यसलाई सम्बोधन गर्न कुनै गम्भीर प्रयास गरिएन भने अस्थिरता सम्पूर्ण सहेल क्षेत्रमा फैलिन सक्छ ।
सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएदेखि नै मालीको उत्तरी भेग पटकपटक उथलपुथलबाट गुज्रियो । यस भेगमा स्थानीय टुआरेग समुदायले आत्मनिर्णयको माग गर्दै पटकपटक विद्रोह गरिसके । चौध वर्षअघि पनि टुआरेग समुदायले अल–कायदासँग सम्बद्ध समूहसँग गठबन्धन गरे उत्तरी मालीमा धेरै सहर कब्जा गर्न सफल भएका थिए । यदि सन् २०१३ मा फ्रान्सेली सैन्य हस्तक्षेप नभएको भए उनीहरू झन्डै बामाको कब्जा गर्ने अवस्थामा पुगेका थिए । त्यतिवेला दुई फ्रान्सेली सैन्य अप्रेसनले टुआरेग आन्दोलन र अल–कायदासँग सम्बद्ध समूहलाई कमजोर बनायो । त्यस सफल अभियानको बलमा ती समूह सरकारसँग वार्तामा बस्न तयार भएका थिए । लामो वार्तापछि सन् २०१५ मा ‘अल्जियर्स सम्झौता’सँगै त्यतिवेला युद्ध सकिएको थियो ।
यस सम्झौताको सबैभन्दा प्रमुख खण्डमध्ये एक बुँदा अजावद क्षेत्रमा विकेन्द्रीकरण लागू गर्ने भन्ने थियो । त्यसले स्थानीय नेतालाई थप अधिकार प्रदान गरेको थियो । यस सम्झौतामा माली सरकारले अजावद क्षेत्रमा विकास निर्माणको कार्य बढाउने, पृथकतावादी लडाकुलाई सेनामा समायोजन गर्ने र राजनीतिक पदमा ती आन्दोलनका नेताको नियुक्ति गर्नेजस्ता वाचा गरेको थियो । बदलामा आन्दोलनकारी समूहले पृथकतावादी माग परित्याग गर्ने र देशको क्षेत्रीय अखण्डताप्रति प्रतिबद्धता जनाएका थिए ।
अल्जियर्स सम्झौताले तत्कालीन सयममा तनाव कम गर्ने र पृथकतावादी आह्वानका स्रोतहरूलाई नै सम्बोधन गर्ने प्रयास गरेको थियो । यसले माली र सहेल क्षेत्रमा सापेक्षिक स्थिरता कायम राख्न मद्दत हुने आमअपेक्षा थियो । यद्यपि, विभिन्न चुनौती देखा परेपछि शान्ति लामो समयसम्म टिकेन । सबैभन्दा महत्वपूर्ण रूपमा उत्तरी भेगमा विकास परियोजना कार्यान्वयन गर्ने आफ्नो प्रतिबद्धताको सम्मान गर्न सरकार असफल रह्यो । अझ, सन् २०२१ मा जनरल असिमी गोइटाको नेतृत्वमा भएको सैन्य विद्रोहपछि अवस्था झन् खराब बन्यो ।
फ्रान्स, अल्जेरिया र पश्चिम अफ्रिकी राज्यको आर्थिक समुदाय ‘इकोवास’का सदस्यले बामाकोमा उदाएको नयाँ सैन्य सरकारलाई मान्यता दिन अस्वीकार गरे । फलस्वरूप, सन् २०२२ मा सैन्य सरकारले फ्रान्सेली सेनालाई देशबाट निष्कासन गर्यो भने सन् २०२४ मा अल्जियर्स सम्झौता नै रद्द भएको घोषणा गर्यो । त्यसपछि, कूटनीति र संवादको सट्टा सेनाले अशान्त उत्तरलाई नियन्त्रण लिन सैन्य अभियान सञ्चालन गर्यो । यी कठोर कदमसँगै मालीको मौरिटानिया, अल्जेरिया र फ्रान्ससँगको सम्बन्ध तनावपूर्ण बन्यो । बामाकोले उनीहरूलाई विद्रोहीलाई सहयोग प्रदान गरेको र देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाउन थाल्यो । फलस्वरूप, छिमेकीहरूसँग सैन्य समन्वय र व्यापार घट्दै गयो र माली सैन्य र आर्थिक रूपमा कमजोर भयो ।
राज्य कमजोर हुँदा जेएनआइएम र पृथकतावादी आन्दोलनले परिस्थितिको फाइदा उठाए । उनीहरूले अधिकांश आयात र निर्यात हुने प्रमुख यातायात मार्गमै आक्रमण गरेर राजधानीमाथि नाकाबन्दी लगाए । उनीहरूले सेनेगल र आइभरी कोस्टबाट आउने पेट्रोल र डिजेलको आपूर्ति अवरुद्ध गरे । मौरिटानिया हुँदै खाद्यान्न आपूर्ति गर्ने मोरक्कन ट्रकमा आक्रमण गर्न थाले । सन् २०१२ मा जस्तै टुआरेग आन्दोलनकारी समूह र अल–कायदासम्बद्ध पुनः बनेको गठबन्धन यसपटक पनि सफल साबित भएको छ । गठबन्धनले धेरै स्थानमा माली सेनालाई पराजित गरेको छ । देशको ठुलो भाग कब्जामा लिन सफल भएको छ । अझ, राजधानीबाहिर सशस्त्र समूह स्वच्छन्द रूपमा सञ्चालन भइरहेको छ । यसपटक विदेशी सेना माली सेनाको सहयोगमा आएका छैनन् । किनकि, अप्रिलको अन्त्यमा भएको आक्रमणपछि रुसी फौजसमेत बाहिरिएको छ । यसबिच, टर्किएले बढ्दो अस्थिरताबिच मालीमा आफ्नो संलग्नता बढाएको छ । मे महिनाको सुरुमा माली सेनामाथि आक्रमणपछि अंकाराले माली सैन्य सरकारसँग धेरै रक्षा सम्झौतामा हस्ताक्षर गर्यो ।
माली संकट गहिरिँदै गए यो सरकार र पृथकतावादी आन्दोलनकारी समूहबिचको राजनीतिक संकटमा मात्र सीमित हुनेछैन । क्षेत्रीय तथा विश्वव्यापी प्रतिद्वन्द्विता मालीमा देखिन थाल्ने सम्भावनाबिच थप विदेशी हस्तक्षेप निम्तिन सक्छ । ‘अजवाडी’ आन्दोलन र अल–कायदासम्बद्ध समूहबिचको गठबन्धनले स्थिति झन् भयावह बनाएको छ । यस सम्बन्धभित्र स्पष्ट विरोधाभास छन् । किनकि, दुई पक्षबिच केन्द्रको सैन्य शासन अन्त्य गर्ने भन्नेबाहेक कुनै साझा मुद्दा छैन । यसैले, उत्तरमा अजवाडी आन्दोलन र इस्लामी समूहबिच भविष्यमा युद्ध हुने सम्भावना उच्च छ ।
माली संकटले अनिवार्य रूपमा क्षेत्रीय परिणाम निम्त्याउनेछ । जारी मानवीय संकटले युरोप र उत्तरी अमेरिकातिर ठुलो बसाइँसराइको लहर निम्त्याउन सक्छ । उत्तरमा निरन्तर अस्थिरताले अतिवादी आन्दोलन बढाउन सक्छ । यसले सम्पूर्ण पश्चिम अफ्रिकी भेगभरि उनीहरूको आक्रमण बढाउन सक्छ । फलस्वरूप, मालीको संकट छिमेकी देश, क्षेत्र र विश्वका लागि प्रत्यक्ष सुरक्षा खतरा बन्न सक्छ । अहिलेको अवस्था हेर्दा कुनै पनि युद्धरत पक्षले निर्णायक सैन्य विजय हासिल गर्ने सम्भावना देखिँदैन । त्यसकारण, द्वन्द्वको समाधान संवाद र वार्ताबाट मात्र सम्भव छ । बामाकोले उत्तरमा रहेका तुआरेग समुदायको गुनासो र उनीहरूको मागलाई गम्भीरतापूर्वक विचार गर्न आवश्यक छ ।
मालीका छिमेकी देश र क्षेत्रीय शक्तिले पनि मालीका द्वन्द्वरत पक्षलाई वार्ताका लागि दबाब दिनु र शान्तिपूर्ण समाधान खोज्नु तिनकै सामूहिक हितका लागि श्रेयष्कर हुन्छ । माली द्वन्द्वको क्षेत्रीय प्रभावको जोखिम रहेकाले यी शक्तिलाई सीमित समय खेर फाल्ने छुट छैन ।
अलजजिराबाट
(लेखक ‘राइड सेन्टर फर स्ट्राटेजिक स्टडिज एन्ड डेभलपमेन्ट’का प्रमुख हुन्)