नेपाली कांग्रेसले पार्टीको नीति निर्माण, अनुसन्धान र प्रशिक्षण कार्यलाई थप प्रभावकारी बनाउन सात विषयगत उपसमितिहरू गठन गरेको छ। बिहीबार राति सम्पन्न केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले अर्थतन्त्र, जलवायु परिवर्तन, युवा, बाल अधिकार तथा श्रमिकका मुद्दालाई प्राथमिकतामा राख्दै उपसमितिहरू गठन गर्ने निर्णय गरेको हो।
प्रतिष्ठानका प्रमुख तथा पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकमा पार्टी सभापति गगन थापा पनि सहभागी थिए।
बैठकले विभिन्न क्षेत्रका विज्ञ तथा नेताहरूलाई उपसमितिको संयोजकको जिम्मेवारी दिएको छ। पार्टीको नीति, दृष्टि तथा योजना उपसमितिको संयोजकमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेल नियुक्त भएका छन्। उक्त उपसमितिले निजी क्षेत्र, सेयर बजार, बिमा, सहकारी तथा समग्र वित्तीय क्षेत्रको अध्ययन गर्नेछ।
त्यसैगरी, चलचित्र निर्देशक मीनबहादुर भामलाई ‘नवयुवा भावना, मुद्दा र अन्तरपुस्ता संवाद तथा समन्वय उपसमिति’ को संयोजक चयन गरिएको छ। उनले जेनजीदेखि नागरिक समाजसम्म संवाद र समन्वयको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन्।
जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजकमा रोशनी गिरी, अनौपचारिक क्षेत्रका श्रमिक उपसमितिमा महेन्द्र यादव, बाल अधिकार उपसमितिमा उमंग लोहनी, सार्वजनिक सेवा प्रवाह उपसमितिमा गोपालप्रसाद पोखरेल तथा गैरसरकारी संस्था नीति संवाद तथा समन्वय उपसमितिमा अञ्जु झा चयन भएका छन्।
बैठकमा प्रतिष्ठानका उपप्रमुख मधु आचार्यले आन्तरिक आचारसंहितासम्बन्धी प्रस्ताव पनि प्रस्तुत गरेका थिए।
यसअघि चयन भएका ६ जना संयोजकहरूले आफ्नो अवधारणा प्रस्तुत गरेको बैठकमा नयाँ नियुक्त संयोजकहरूलाई आगामी चौथो बैठकमा प्रारम्भिक अवधारणा र कार्ययोजना पेस गर्न निर्देशन दिइएको छ।