हालैका सातामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङको लगातार राजकीय भ्रमणले चीनलाई विश्वव्यापी प्रकाशमा ल्याएको छ । यी शिखर सम्मेलनहरू आयोजना गरेर चीन ‘केही दिनभित्रै दुई प्रमुख प्रतिद्वन्द्वीलाई स्वागत गर्न सक्षम स्थिर शक्ति’, ‘ठुला शक्तिबिचको मध्यस्थकर्ता’ र ‘विश्वव्यापी स्थिरताको स्तम्भ’ बनेको केही अन्तर्राष्ट्रिय विश्लेषकले औल्याए । त्यस्तै, अन्यका लागि भ्रमणले चीन कसरी ‘अपरिहार्य विश्वव्यापी शक्ति’ बन्दै छ र राष्ट्रपति सी जिनपिङ ‘सम्मान गर्नुपर्ने विश्वनेता’ बन्दै छन् भन्ने कुरा प्रकाश पारेको छ ।
विगत ६ महिनाको अवधिमा, फ्रान्स, बेलायत, क्यानडा, दक्षिण कोरिया र जर्मनीका नेतासहित धेरै अन्य विश्वनेताले बेइजिङको भ्रमण गरेका छन् । यस विषयलाई चिनियाँ विश्लेषकले पनि मनन गरेका छन् । अझ महत्वपूर्ण कुरा त ती नेता लामो अन्तरालपछि चीन भ्रमणमा निस्किएका थिए । उदाहरणका लागि यो बेलायती प्रधानमन्त्रीको आठ वर्षमा पहिलो भ्रमण थियो । त्यस्तै, क्यानेडियन, दक्षिण कोरियाली र अमेरिकी नेताका लागि नौ वर्षमा पहिलो भ्रमण थियो ।
एकपछि अर्को विश्वनेताको भ्रमण भइरहदा चिनियाँ सञ्चार माध्यमले चिनियाँ राजधानीलाई अन्तर्राष्ट्रिय ‘बैठक कक्ष’को रूपमा वर्णन गर्यो, जसले अशान्त संसारमा स्थिरता प्रदान गर्छ । सञ्चार माध्यमले विश्वनेताको शृंखलाबद्ध भ्रमणलाई विशेष महत्व दिएका थिए । विश्वनेताको भ्रमणका सन्दर्भमा एउटा समाचारको शीर्षकमा लेखिएको थियो, ‘विश्व बेइजिङ समयमा प्रवेश गर्दै छ ।’
चीन कार्ड कि अमेरिकाको विकल्प ?
बेइजिङका लागि विश्वव्यापी मञ्चमा यो निर्विवाद रूपमा ठुलो क्षण हो । तर यी व्याख्याले तीन महत्वपूर्ण बुँदा ‘छुटाएका’ छन् । पहिलो, यो स्पष्ट छैन कि विश्वनेताहरू सक्रिय चिनियाँ कूटनीतिको कारणले बेइजिङ भ्रमण गरिरहेका छन् वा ट्रम्प प्रशासनविरुद्ध प्रतिक्रिया जनाउने तरिकाको रूपमा ।
उदाहरणका लागि जब क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले जनवरीमा बेइजिङको भ्रमण गरेका थिए, यसलाई व्यापक रूपमा अमेरिकामा क्यानडाको संरचनात्मक निर्भरता र दोस्रो ट्रम्प प्रशासनको अस्थिरताको प्रतिक्रियाको रूपमा व्याख्या गरिएको थियो । केही मिडियाले विश्लेषण गरेका छन् कि उनी अमेरिकासँग आफ्नो देश अनुकूलको सर्त राखेर वार्ता गर्न ‘चीन कार्ड’ खेलिरहेका थिए । ट्रम्पको दोस्रो कार्यकालमा अमेरिका– क्यानडा सम्बन्ध त्यति सुखद छैन ।
दोस्रो, बेइजिङले आफ्नो ‘बैठक कोठा’मा भ्रमणका लागि उच्च ‘प्रवेश शुल्क’ तोक्छ । कहिलेकाहीँ यी शिखर सम्मेलनलाई भ्रमण गर्ने विशिष्ट व्यक्तिको प्रमुख नीति परिवर्तनसँग जोडिएको छ । उदाहरणका लागि ट्रम्पले बेइजिङको भ्रमण गर्दा उनले चिनियाँ नागरिकलाई अमेरिकामा कृषि जग्गा किन्नबाट रोक्न र अमेरिकी विश्वविद्यालयमा चिनियाँ विद्यार्थीको संख्यामा सीमा लगाउने पहिलेका आह्वानबाट पछि हटे । चिनियाँ मिडियाले ट्रम्पको मेक अमेरिका ग्रेट अगेन अर्थात् एमएजिए (मगा) आधार र अमेरिकाका अन्य रिपब्लिकनबाट यी सहुलियत प्राप्त भएको नकारात्मक प्रतिक्रियालाई प्रकाश पारे ।
त्यस्तै, क्यानडाका प्रधानमन्त्री कार्नीको चीन भ्रमणले पहिलो ४९ हजार कारका लागि वार्षिक रूपमा चीनमा निर्मित विद्युतीय सवारीसाधनमा ६.१ प्रतिशतमा कर घटाउने व्यापार सम्झौता गर्यो । २०२४ को अन्त्यतिर क्यानडाले चिनियाँ इभीहरूमा शतप्रतिशत कर लगाएको थियो । महिनौँ पछि २०२५ को चुनावका क्रममा कार्नीले चीनलाई ‘भूराजनीतिक अर्थबाट’ सबैभन्दा ठुलो खतरा भने । विद्युतीय कारमा कार्नीको छुटले स्वदेशमै आलोचना निम्त्यायो । यसले क्यानडाको अर्थतन्त्रमा लगानीको ग्यारेन्टीविना ‘चीनमा निर्मित विद्युतीय सवारी साधनको बाढी’ निम्त्याउने भन्दै कतिपय विश्लेषकले सम्झौताको विरोध गरे ।
अन्तमा, विदेशी नेताको यी भ्रमणले स्पष्ट रूपमा चीनको मुख्य विदेश नीति स्थिति परिवर्तन गरेका छैनन् । उदाहरणका लागि युरोपेली नेताहरूको अपिलले युक्रेनमा रुसको युद्धका लागि बेइजिङको भौतिक समर्थनलाई परिवर्तन गरेन । न त तिनीहरूले युरोपेली संघसँग चीनको ठुलो व्यापार अधिशेषलाई घटाए । त्यस्तैगरी, ट्रम्पले सीको नेतृत्वको प्रशंसा र ताइवानलाई हतियार बिक्री रोक्ने निर्णयका बाबजुद बेइजिङ इरानमा ट्रम्प प्रशासनलाई सहयोग गर्न सहमत भएन । अर्थात्, ट्रम्पको भ्रमणका बाबजुद इरानप्रति चीनको धारणामा कुनै परिवर्तन आएन । अर्कोतर्फ बेइजिङ भ्रमणका क्रममा पुटिनले पनि पावर अफ साइबेरिया २ पाइपलाइनमा देखिएको असहमति समाधान गर्न असफल भए । उक्त परियोजनामा देखिएको असहमति समाधान गर्न पुटिनले लामो समयदेखि खोजिरहेका थिए । यदि निर्माण गरियो भने पाइपलाइनले वार्षिक ५० अर्ब घनमिटर रुसी प्राकृतिक ग्यास चीनमा निर्यात हुन सक्छ । यो भनेको सन् २०२५ मा चीनको ग्यास प्रयोगको लगभग १२ प्रतिशत हो ।
अमेरिकी विदेश नीतिको नाटकीय परिवर्तनको प्रभाव
चीनमा हालै अन्तर्राष्ट्रिय नेताहरूको आगमन विश्वव्यापी व्यवस्थामा बढ्दो अनिश्चितताको प्रतिबिम्ब हुन सक्छ । ट्रम्प प्रशासनको अधीनमा अमेरिकी विदेश नीतिमा नाटकीय परिवर्तनले वासिंटनका परम्परागत सहयोगीमा ठुलो चिन्ता उत्पन्न गरेको छ । यसले चीनलाई वर्षौंदेखि आफ्नो आक्रामक ब्वाँसो–योद्धा कूटनीति (वुल्फ वारियर डिप्लोमेसी) पछ्याएपछि आफूलाई स्थिर साझेदारको रूपमा प्रस्तुत गर्ने अवसर पनि प्रदान गरेको छ ।
तर, यी भ्रमणले चीनको कूटनीतिक प्रयास अझ प्रभावकारी भएको प्रमाणित गर्दैनन् । घरेलु आर्थिक दबाब र प्रतिस्पर्धी अन्तर्राष्ट्रिय प्राथमिकताका कारण अझै पनि बेइजिङले वास्तविक रूपमा के प्रदान गर्न सक्छ भनेर सीमित गर्छ ।
उदाहरणका लागि, कारखाना बन्द हुनबाट रोक्न र वृद्धि लक्ष्य पूरा गर्न चीनले निश्चित उत्पादन क्षेत्रमा ठुलो मात्रामा राज्य अनुदान प्रवाह गर्छ । यसले अतिरिक्त उत्पादन सिर्जना गर्छ, जुन कृत्रिम रूपमा कम मूल्यमा विश्वव्यापी रूपमा निर्यात गरिन्छ (इयूसहित) । चीनले यी निर्यातलाई लगाम लगाउन सक्दैन । साथै, चीनको आर्थिक विकासमा पश्चिमी बजारको महत्वका बाबजुद बेइजिङले अमेरिका र युरोपको सुरक्षालाई चुनौती दिन रुस र इरानलाई निरन्तर समर्थन गरिराखेको छ । फलस्वरूप, बेइजिङमा हुने हाई प्रोफाइल बैठकहरूले समारोह र भव्यता निम्त्याउने गर्छ , तर सीमित ठोस परिणाम प्रदान गर्छन् ।
ट्रम्प, पुटिन र अन्य विश्वनेताहरूको हालैका भ्रमणले निश्चित रूपमा चीनलाई विश्वव्यापी कूटनीतिमा बढी केन्द्रबिन्दु बनाएको छ । तर, यो दृश्यता प्रभावकारी विश्वव्यापी नेतृत्वमा रूपान्तरण हुँदैन ।
द कन्भर्सेसनबाट