सल्यानमा गैरकानुनी रूपमा सञ्चालन हुँदै आएको एक स्वास्थ्य क्लिनिक सिल गरिएको छ। वनगाड कुपिन्डे नगरपालिका– ७, ढोरपिपलमा सञ्चालित विपिन स्वास्थ्य सेवा क्लिनिक सिल गरिएको हो।
नगरपालिकाले बजार अनगुमन गर्ने क्रममा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भएको पाइएपछि प्रहरीले मुचुल्कासहित सिल गरिएको बनगाड कुपिन्डे नगरपालिकाका सूचना अधिकारी प्रमोद न्यौपानेले जानकारी दिए।
पालिकाभित्रका बालुवासंग्रही, ढोरपिपल, बाबियाचौर र जयतपानी बजार क्षेत्रमा व्यवसाय दर्ता तथा नवीकरण, खाद्य, पेय पदार्थको गुणस्तर, म्याद तथा सेवा प्रवाहको अवस्थाबारे अनुगमन गरिएको उनको भनाइ छ। अनुगमनका क्रममा दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका व्यवसायीलाई सात दिनभित्र कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको नगरपालिकाले जनाएको छ।
त्यसैगरी, बजारमा बिक्रीका लागि राखिएका ठुलो परिमाणका म्याद गुज्रिएका खाद्य पदार्थ, पेय पदार्थ, मदिरा तथा औषधिजन्य सामग्री बरामद गरी नष्ट गरिएको छ। नगरपालिकाले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य तथा स्वास्थ्य सेवामा कानुनविपरीत गतिविधि गर्नेलाई कारबाही गरिने चेतावनी दिएको छ।
बजारलाई व्यवस्थित, सुरक्षित र उपभोक्तामैत्री बनाउन आगामी दिनमा नियमित अनुगमनलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।