भावी महामारी रोक्ने हो भने तयारी राम्रो हुनुपर्छ

प्रस्थान–बन्दरगाहहरूमा स्थानीय जोखिमलाई विचार गर्न असफल हुने निगरानी प्रणालीले विश्वव्यापी गम्भीर खतरालाई बल दिन्छ

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

दुई साताको अन्तरमा विश्वले दुई दुर्लभ रोगको प्रकोप सामना ग¥यो । ‘एन्डिज हान्टाभाइरस’ र ‘बुन्डिबुग्यो इबोला’ नामक प्रकोपले धेरैको ज्यान लियो । सीमित क्षेत्रमा फैलिएका यी दुई प्रकोपलाई नियन्त्रणमा लिन विश्वले महँगो प्रतिक्रिया जनाउनुप¥यो । यस क्रममा रोग देखिइसकेपछि प्रतिक्रिया जनाउने हाम्रो क्षमताको कमजोरी मात्र नभई पूर्वानुमान, रोकथाम तथा सावधानी अवलम्बनमा समेत गम्भीर समस्या रहेको उजागर भएको छ । 

आन्द्र महासागरको दक्षिणी भागको यात्रामा रहेको क्रुज जहाजमा फैलिएको हान्टाभाइरसको प्रकोप बिस्तारै सतहमा आएको थियो । १ अप्रिलमा अर्जेन्टिनी बन्दरगाहबाट हिँडेको क्रुजमा सवार एक यात्रुको ११ दिनपछि मृत्यु भयो । उनको मृत्युको कारण हान्टाभाइरस भएको पुष्टि हुँदासम्म तीन साता बितिसकेको थियो । त्यसबिचमा ‘एमभी होन्डियस’ नामक जहाजमा सवार यात्रु आफ्नो सुरमा अवलोकन यात्रामा हिँडिरहेका थिए ।

हुन पनि हान्टाभाइरस पुष्टि हुनुअघि मृतक यात्रुको मृत्युको कारण प्राकृतिक हुन सक्ने चिकत्सकले नै अनुमान गरेका थिए । रोग यकिन हुनुअघि जहाजमा सवार करिब डेढ सय यात्रुले विभिन्न दुर्गम टापुको भ्रमण गरे । एउटै टेबलमा बसेर खाना खाए । अझ, बिचमा सेन्ट हेलेनामा जहाज रोकिँदा विभिन्न देशका ३० भन्दा बढी यात्रु आ–आफ्ना देशतर्फ उडेका थिए ।

जब जहाजमा हान्टाभाइरस फैलिएको पुष्टि भयो, त्यसपछि विश्व स्वास्थ्य संगठनको समन्वयमा ठुलो उद्धार अभियान चलाइयो । आन्द्र महासागरको एक टापुमा जहाजलाई रोक्न दिन स्पेनी प्रधानमन्त्रीले नै हस्तक्षेप गर्नुप¥यो । त्यसपछि दर्जनौँ देशका यात्रुलाई तिनका सरकारले चार्टर्ड जहाजमार्फत स्वदेश लगे र हप्तौँ आइसोलेसनमा राखे । दोस्रो प्रकोप भने सुरुदेखि नै तीव्र देखियो । अफ्रिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले गत शुक्रबार युगान्डा र दक्षिणी सुडानका दुर्गम प्रान्त इटुरीमा दर्जनौँको इबोलाका कारण मृत्यु भएको जानकारी दियो । प्रकोपले तत्काल चिन्ता उत्पन्न गरे पनि द्वन्द्वग्रस्त क्षेत्रमा भाइरस केही समयदेखि नै फैलिरहेको पाइयो । यसपटक फैलिएको इबोला दुर्लभ ‘बुन्डिबुग्यो स्ट्रेन’का रूपमा पहिचान गरियो । 

इटुरी क्षेत्र लामो समयदेखि द्वन्द्व र कमजोर स्वास्थ्य समस्यासँग जुध्दै आएको स्थान हो । त्यसै भेगमा यसअघि पनि इबोलाले विनाशकारी प्रकोपको रूप लिएको थियो । दुई वर्षसम्म जारी प्रकोप सन् २०२० मा मात्र अन्त्य भएको थियो । कमजोर स्वास्थ्य पूर्वाधार र द्वन्द्वबिच काम गर्न बाध्य स्वास्थ्यकर्मीले रोग पहिचान गरी प्रतिक्रिया दिनमा ठुलो चुनौती सामना गर्छन् । यस्तोमा प्रारम्भिक पहिचान गर्न तयारीका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय समर्थन आवश्यक पर्छ । 

प्राप्त जानकारीअनुसार दुवै प्रकोपको मृत्युदर ३२ प्रतिशत (संक्रमितमध्ये मर्नेको दर) देखिन्छ । उसो त प्रत्येक प्रकोपले पाठ पनि सिकाउँछ । पछिल्ला प्रकोपका सन्दर्भमा यिनले ज्ञात जोखिमको सटिक भविष्यवाणी गरेर त्यसविरुद्ध कदम चाल्नाले धेरैको जीवन बच्ने र अन्तर्राष्ट्रिय स्वास्थ्य संकट रोक्न सकिने पाठ सिकाएका छन् । 

‘एन्डिस हान्टाभाइरस’ मुख्यतः अर्जेन्टिनामा देखिने गरेको छ । र, यसै देशको उसुआइया क्षेत्रबाट बर्सेनि पाँच सयभन्दा बढी जहाजले हजारौँ मानिसलाई आन्द्र महासागरको तल्लो भेगको दृश्यावलोकन गराउँछन् । उसुआइया क्षेत्रबाट अघि बढ्ने क्रुजका यात्रुमा तीव्र श्वासप्रश्वाससम्बन्धी रोग देखिँदा ‘हान्टाभाइरस’को शंका स्वाभाविक हुनुपर्छ । जहाजमा सवार चिकित्सक र चिकित्सकीय प्रोटोकलले जहाजको प्रस्थानविन्दुमा कायम स्थानीय रोगको परिदृश्यमा ख्याल गर्नुपर्छ । जीवनमा एकपटक गरिने यस्तो यात्रामा निस्कने मानिसले आफूलाई यात्रापछि ‘आइसोलेसनमा’ अलग्गै राख्न चाहँदैन होला । तथापि, यसो नगर्दाको परिदृश्य धेरै खराब हुन सक्छ ।

उता इटुरी क्षेत्रमा, यसअघि फैलिएको इबोलाको ‘जायर स्ट्रेन’को परीक्षण नेगेटिभ आएपछि पनि सम्भावित रोगका केसलाई अलग्गै राखिएको थियो । इबोलाको लामो र पीडादायी इतिहास भएको देशमा, निश्चित रूपमा अन्यथा प्रमाणित नभएसम्म रक्तस्राव ज्वरोका लक्षणलाई सम्भावित रोगकै रूपमा व्यवहार गर्नुपर्छ । व्यवहारमा जोखिमका आधारमा सावधानी अपनाउने भनेको यही हो । अर्थात् भूगोल, स्थानीय रोग ढाँचा र स्थानीय क्षेत्रमा प्रकोपको इतिहासलाई हेरेर चिकित्सक तथा निगरानी प्रणालीले कदम चाल्नुपर्छ । यी ज्ञात जोखिमलाई निरन्तर निगरानी गरेर र भुगोलअनुरूपको प्रोटोकलमा अनुवाद गर्न समर्पित वैज्ञानिक निकाय (जसमा महामारीविद्, पारिस्थितिकीविद्, चिकित्सक र अन्य विशेषज्ञ अनिवार्य हुनुपर्छ)ले मात्र जोखिम कम गर्छ । 
द गार्जियनबाट

सुझावित समाचार