- राष्ट्रपति पुटिनको हालैको चीन भ्रमण केवल दुई देशको रणनीति साझेदारी मूल्यांकन गर्नेबारेमा मात्र थिएन, बरु तीन दशकदेखिको सहकार्य मजबुत पार्ने विषयमा केन्द्रित रह्यो ।
यस वर्ष रुस–चीन सम्बन्धमा धेरै दृष्टिले कोसेढुंगा साबित भएको छ, रुस–चीन समन्वयको रणनीतिक साझेदारीको स्थापनाको ३०औँ वार्षिकोत्सव, रुस–चीन असल छिमेकी र मैत्रीपूर्ण सहयोग सन्धिमा हस्ताक्षर भएको २५औँ वार्षिकोत्सव, चीनको १५औँ पञ्चवर्षीय योजना (२०२६–३०) को सुरुवात र दुई देशबिच शैक्षिक सहकार्यको सुरुवात । तसर्थ, सन् २०२६ रुस–चीन सम्बन्धका लागि कालक्रमिक अभिसरण हो । केही महिनाभित्रै चार फरक ऐतिहासिक मार्ग (१९९० को दशकको भूराजनीतिक सम्झौतादेखि २०३० को दशकको लागि प्राविधिक र मानवीय योजनासम्म) एक–अर्कासँग मिसिएका छन् । यी मार्गले राजनीतिक, आर्थिक, मानवीय र कूटनीतिक सहयोगको नयाँ ऐतिहासिक संरचना तय गर्छ ।
यस अभिसरण (संगम)को केन्द्रमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीनको राजकीय भ्रमण रहयो । यी चार कोसेढुंगाले भ्रमणको एजेन्डालाई प्रभावकारी रूपमा आकार दिन्छन् । विश्वव्यापी अशान्तिबिच यसै साता सम्पन्न भ्रमणले रुस–चीन सहकार्य र सम्बन्धका विभिन्न टाइमलाइनलाई एकसाथ जोड्ने क्षणको रूपमा काम गर्छ । यो आगामी दशकका लागि दुवै देशको विकास रणनीतिलाई संयोजन गर्ने संयन्त्र हो । भ्रमणको ऐतिहासिक महत्व अन्तिममा जारी हुने विज्ञप्तिले मापन गर्दैन, बरु विगत, वर्तमान र भविष्यलाई जोड्ने क्षमताले मूल्यांकन गर्छ ।
तीस वर्षअघि रुस–चीन सम्बन्धले ऐतिहासिक सफलता हासिल गरेको थियो । सोभियत संघको पतनपछि सावधानीपूर्वक भएको सम्बन्धबाट तीन दशकभन्दा बढी समयसम्म तिनीहरू ‘समन्वयको व्यापक रणनीतिक साझेदारी’ मा विकसित भए, जसलाई अहिले ‘प्रमुख देशहरूको सम्बन्धको मोडेल’का रूपमा वर्णन गरिएको छ ।
यो परिवर्तनले बहुध्रुवीय विदेश नीतितर्फ रुसको परिवर्तन र चीनको लामो साझा सीमामा स्थिरताको आवश्यकता, साथै अमेरिकासँगको सम्बन्धमा सन्तुलनलाई प्रतिबिम्बित गर्यो ।
सन् १९९६ को राजनीतिक सफलताअघि आधारभूत कार्य भएका थिए, जसमा सीमामा विश्वास कायम गर्ने उपाय र पारस्परिक बल घटाउने सम्झौता समावेश थिए । यसले विश्वासलाई बढावा दिने कानुनी रुपरेखा स्थापित गर्यो । आजको सम्बन्धलाई प्रायः ‘गैरगठबन्धन, गैरटकराव र तेस्रो पक्षलाई लक्षित नगर्ने’ सिद्धान्तमा आधारित अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ मोडेलको रूपमा वर्णन गरिन्छ, जसले दुवै देशलाई ‘महाशक्ति द्विविधा’बाट बच्न मद्दत गर्छ ।
असल छिमेकीपन र मैत्रीपूर्ण सहयोगको सन्धिले २१औँ शताब्दीमा द्विपक्षीय सम्बन्धको कानुनी आधारलाई औपचारिक रूप दियो, जसले सार्वभौमिकताका लागि पारस्परिक सम्मान, गैरआक्रमण, गैरहस्तक्षेप, समानता, पारस्परिक लाभ र शान्तिपूर्ण सहअस्तित्वजस्ता सिद्धान्तलाई स्थापित गर्यो । मूल रूपमा २० वर्षका लागि मान्य रहेको यो सन्धि २०२१ मा थप पाँच वर्षका लागि विस्तार गरियो । राष्ट्रपति पुटिनको हालैको चीन भ्रमण आगामी वर्षका लागि यसका सिद्धान्तप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने आदर्श क्षण हो । विगत २५ वर्षमा, चीन र रुसले आफ्नो समन्वयलाई मझबुत बनाएका छन् । संयुक्त राष्ट्र संघ, सांघाई सहयोग संगठन र ब्रिक्सभित्रको उनीहरूको सहयोग अन्तर्राष्ट्रिय शासनको प्रमुख स्तम्भ बनेको छ ।
दुवै देशले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा स्थिरीकरण गर्ने शक्तिको रूपमा काम गर्छन् । उनीहरूले प्रायः विश्वव्यापी शासन प्रणालीमा सुधारको वकालत गर्छन् । उनीहरूले विशेषगरी विकासशील देश र ग्लोबल साउथमा वैकल्पिक अन्तर्राष्ट्रिय ढाँचाको विस्तार र सुदृढीकरणमा पनि अग्रणी भूमिका खेलेका छन् ।
राष्ट्रपति पुटिनको हालैको चीन भ्रमण केवल दुई देशको रणनीति साझेदारी मूल्यांकन गर्नेबारेमा मात्र थिएन, बरु तीन दशकको सहकार्यलाई मझबुत पार्ने विषयमा केन्द्रित रहयो । भ्रमणले उच्चस्तरको प्राविधिक आत्मनिर्भरता हासिल गर्ने प्रमुख लक्ष्यसँगै ६ जी नेटवर्क, कृत्रिम बुद्धिमत्ता, ठुलो डेटा, क्वान्टम प्रविधि, जैविक प्रविधि, अर्धचालक र हरित ऊर्जाजस्ता क्षेत्रमा भएका सफलतालाई जोड दियो ।
रुसका लागि यसले व्यापक अवसर खोल्छ । रुसको सुदूरपूर्व विकास रणनीतिसँग चीनको योजनाको पंक्तिबद्धताले सहयोगका लागि एक प्राकृतिक प्लेटफर्म खडा गर्छ । रुसका धेरै सुदूरपूर्वी क्षेत्रमा अन्तर्राष्ट्रिय प्राथमिकता विकास क्षेत्रको सुरुवातले ठुलो मात्रामा चिनियाँ लगानीका लागि अनुकूल अवस्था प्रदान गर्छ । भ्रमणमा ऊर्जा सहयोग प्रमुख विषय रहेको थियो । २०२५ मा रुस र चीनले पावर अफ साइबेरिया–२ ग्यास पाइपलाइन परियोजनाको निर्माणसम्बन्धी ज्ञापनपत्रमा हस्ताक्षर गरेका थिए । त्यस्तै, यातायात पूर्वाधारमा सहयोग र सहकार्य अर्को प्रमुख विषय हो । साइबेरिया, मंगोलिया र पश्चिमी चीनलाई जोड्ने केन्द्रीय युरेसियन यातायात कोरिडोरजस्ता परियोजनाले कनेक्टिभिटीलाई उल्लेखनीय रूपमा बढाउन सक्छन् । दुवै देशले विश्वव्यापी वित्तीय संस्थालाई अझ समतामूलक र कम राजनीतीकरण गर्न सुधारको वकालत गर्छन् । अर्थतन्त्रभन्दा बाहिर, गहिरो औद्योगिक र प्राविधिक एकीकरण नयाँ प्राथमिकता बन्दै गइरहेको छ । यसमा युरेसियन आर्थिक संघलाई बेल्ट एन्ड रोड इनिसिएटिभसँग मिलाउनुका साथै ग्रेटर युरेसियन साझेदारीको अवधारणालाई प्रवर्द्धन गर्नु समावेश छ ।
अस्थिरताले भरिएको विश्वव्यापी वातावरणमा, रुस–चीन सम्बन्ध स्थिर आधारको रूपमा देखा परेको छ । यो साझेदारीले आर्थिक अन्तरनिर्भरता मात्र नभई प्रभुत्वलाई अस्वीकार गर्ने र सन्तुलनमा जोड दिने साझा दृष्टिकोणलाई पनि प्रतिबिम्बित गर्छ । राष्ट्रपति पुटिनको भ्रमणले यो दृष्टिकोणलाई पुनः पुष्टि गर्ने सम्भावना छ, जसले बढ्दो अशान्त संसारमा रुस–चीन साझेदारी स्थिरताको स्तम्भ बनेको देखाउँछ ।
मिगुनोभा सेन्ट पिटर्सबर्ग स्टेट युनिभर्सिटी अफ इकोनोमिक्समा चीन र एसिया–प्रशान्त देशको अध्ययन केन्द्रकी शैक्षिक पर्यवेक्षक हुन् ।
चाइना डेलीबाट