बन्द रहेको कर्णाली करिडोर खुलेको छ। बाजुरा–हुम्ला सीमा विवादका कारण अवरुद्ध बनेको कर्णाली करिडोर खुलेको हो। हिमाली युवा क्लब तथा हिमाली गाउँपालिकाका राजनीतिक दल र जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल गुल्म बाजुराबिच सम्झौता भएपछि खुलेको हो ।
जेठ २ देखि ४ सम्म बाजुरा र हुम्लाको सीमा हिमाली गाउँपालिका– ३ र खार्पुनाथ गाउँपालिका– २ को लाम्पाटामा अस्थायी प्रहरी चौकी राख्ने विषयमा विवाद उत्पन्न हुँदा कर्णाली करिडोर बन्द रहेको थियो। उक्त घटनापछि हिमाली युवा क्लबले बुधबारदेखि पालिकाको केन्द्र धुलाचौरमा कर्णाली करिडोर अवरुद्ध गराएको थियो।
प्रहरी चौकी स्थापनाको विषयलाई लिएर खार्पुनाथ गाउँपालिका– २ का राय र थाली गाउँका बासिन्दाले प्रहरी चौकी निर्माणमा अवरोध गरेका थिए। राय र थाली गाउँका स्थानीयको कुटपिटबाट हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा नम्बर ३ का वडासदस्यसहित पाँचजना घाइते भएका थिए।
