संसदमा प्रधानमन्त्री र मन्त्री खोज्दै श्रम संस्कृति

प्लेकार्ड नै देखाएपछि मर्यादामा बस्न सभामुखको चेतावनी

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण

प्रतिपक्षी श्रम संस्कृति पार्टीले प्रधानमन्त्री र मन्त्रीहरूको जवाफ माग्दै केही दिनदेखि गर्दै आएको संसद् अवरोधलाई बुधबार पनि निरन्तरता दिएको छ । प्रधानमन्त्री र मन्त्रीहरू संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृतिका सांसदले बुधबार पनि प्रतिनिधिसभा बैठकमै प्लेकार्ड देखाएका हुन् ।

उक्त पार्टीले ४ जेठयताका हरेक बैठकमा प्लेकार्डसहित विरोध गर्दै आएको छ । अघिल्ला दुई दिनजस्तै बुधबार पनि अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरू प्लेकार्डसहित उठेर नाराबाजी गर्दै बैठक अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले मर्यादामा बस्न चेतावनी दिएका थिए ।

नियम १५(२) पालना गर्नुपर्ने, संसदीय सर्वोच्चता कायम गर्नुपर्ने, सरकार संसद्प्रति जवाफदेही बन्नैपर्ने, प्रतिपक्षीको आवाज दबाउन नपाइनेजस्ता नारा लगाएर विरोध गरेका थिए । संसदीय विभेद बन्द गर्न, बोल्ने समय बढाउन र विदेशी ऋण बन्द गर्न पनि श्रम संस्कृतिको माग छ । त्यस्तै, सुकुमवासी र गरिबलाई बाँच्न दिनुपर्ने, सहकारीपीडितलाई न्याय दिनुपर्ने, सहकारीपीडितलाई राज्यकोषबाट नभई ठगी गर्नेबाटै रकम फिर्ता गराउनुपर्ने र सरकार जवाफदेही नभए राजीनामा दिनुपर्ने माग पनि गरेको छ । 

निरन्तर प्लेकार्ड देखाएर नाराबाजी गरेपछि सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम ३० सम्झाउँदै मर्यादामा बस्न भनेका थिए । ‘हर्कराज राई (साम्पाङ)सहित श्रम संस्कृति पार्टीका सदस्यहरूले नियमित रूपमा सभाको मर्यादाविपरीत संसद्मा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकाले प्रतिनिधिसभा नियमावली नियम ३० बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु,’ उनले भनेका थिए । 

तर, सभामुखको चेतावनीलाई श्रम संस्कृतिका अध्यक्षसमेत रहेका सांसद साम्पाङले प्रतिवाद गरेका थिए । उनले सवाल राखेका थिए, ‘हामीले सभामुखको चेतावनी सुन्यौँ, यहाँले नियम १५(२) पालना गराउनुहुन्छ कि हुन्न जान्न चाहन्छौँ ।’ प्रतिनिधिसभा नियमावलीको नियम १५(२) मा आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनुपर्ने व्यवस्था छ । 

साम्पाङले मन्त्रीले उत्तर नदिनु मर्यादा हो कि होइन भनेर पनि सोधे । ‘हामीले महिना पहिलादेखि उठाएका प्रश्नको उत्तर सम्बन्धित मन्त्रीले दिनुपर्छ भन्ने नियमावलीमा व्यवस्था छ । सरकारको पक्षबाट मन्त्रीहरू उपस्थित नहुनु, हामीले उठाएको प्रश्नको उत्तर नपाउनुले संसद्को मर्यादा गरिमा रहन्छ ? कायम भएको छ ?’ उनले प्रतिप्रश्न गरेका थिए । 

साम्पाङले सरकार सदनप्रति जवाफदेही हुनैपर्ने भन्दै सभामुखबाट रुलिङको माग गरे । ‘नियम १५(२) लागू भएन । त्यसैले यहाँले कडा रुलिङ गरेर सरकारका मन्त्री आउने व्यवस्था गरियोस् । कर्तव्यबाट मन्त्रीहरू भाग्न मिल्दैन । संसदीय मर्यादाअन्तर्गत प्रधानमन्त्री र मन्त्री बोलाइयोस्,’ उनले भने, ‘सम्बोधन नभएसम्म पर्चा देखाइरहन्छौँ, आन्दोलन गरिरहन्छौँ, प्रदर्शन गरिरहन्छौँ ।’ 

सभामुख अर्यालले २८ वैशाखबाट संसद् सुरु भएको र बुधबार सातौँ दिन पुगेको स्मरण गराए । ‘वैशाख २८ गते सदन सुरु गर्‍यौँ, आज ६ गते सातौँ दिन हो । आजै केही मन्त्रीले शून्य, विशेष, आकस्मिक समयमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ,’ उनले भने । 

सभामुखको जवाफपछि श्रम संस्कृतिका सांसदहरू बसे । सदनको कारबाही अघि बढ्यो । आकस्मिक र शून्य समय चल्यो । सभामुख अर्यालले सञ्चारमन्त्री विक्रम तिमिल्सिनालाई आकस्मिक, शून्य र विशेष समयमा उठेका जिज्ञासाको जवाफका लागि रोस्टममा बोलाए । तिमिल्सिनाले आफ्नो मन्त्रालयसँग सम्बन्धित भएर उठेका जिज्ञासाको जवाफ सदनलाई दिए । 
 

See More On

सुझावित समाचार