वर्षौँदेखि पैदल यात्राको भरमा रहेको सल्यानको विकट पोखरीडाँडामा अब मोटरगाडी गुड्न थालेको छ। छत्रेश्वरी गाउँपालिका– ४ को निगालचुला–टोट्के–पोखरीडाँडा सडक निर्माण भएसँगै बस्ती प्रत्यक्ष सडक सञ्जालमा जोडिएको छ। कडा चट्टान काटेर बनाइएको छोटो, तर महत्त्वपूर्ण सडकले स्थानीयवासीको दैनिक जीवनमा महत्त्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
गाउँपालिकाले करिब १६ लाख रुपैयाँको लगानीमा निर्माण गरेको ३५० मिटर लामो सडकको उद्घाटन गरिएको छ। जसमध्ये करिब दुई सय मिटर भाग अत्यन्त कडा चट्टान काटेर तयार पारिएको वडा प्राविधिक जनक घर्तीले बताए। गाउँपालिकाकै एक्स्काभेटर प्रयोग गरी इन्धन खर्चसहित काम सम्पन्न गरिएको हो।
भौगोलिक रूपमा निकै विकट क्षेत्रमा सडक बनाउनु सजिलो नभए पनि स्थानीयको माग र दीर्घकालीन आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिएको वडाध्यक्ष छविलाल खत्रीले बताए। ‘कठिनाइ धेरै थियो, तर गाउँलेहरूको खुसी हेर्दा सबै मिहिनेत सार्थक भएको महसुस भएको छ,’ उनले भने ।
पोखरीडाँडाका अधिकांश परिवार तरकारी खेतीमा निर्भर छन्। सडक नहुँदा उत्पादन भएको तरकारी बजार पुर्याउन ठुलो समस्या थियो । अब ढुवानी सहज हुने भएपछि किसानहरू उत्साहित छन्। तुल्सा विकले भनिन्, ‘वर्षौँदेखि मोटरबाटोको सपना देखेका यहाँका नागरिक आज गाउँमै गाडी आएको देखेर निकै खुसी छन् ।’
छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले दुर्गम क्षेत्रलाई सडक सञ्जालमा जोड्नु पालिकाको मुख्य प्राथमिकता रहेको बताए। भौगोलिक कठिनाइका बाबजुद पनि नागरिकले विकासको अनुभूति गर्न पाउनुपर्छ भन्ने हाम्रो प्रतिबद्धता हो। यो सडकपछि शिक्षा, स्वास्थ्य, कृषि र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्नेछ। आगामी दिनमा सडकको स्तरोन्नति र अन्य पूर्वाधार विकासलाई निरन्तरता दिन्छौँ।’ यसअघि पनि पालिकाका विभिन्न दुर्गम बस्तीमा निकै मिहिनेतका साथ मोटरबाटो निर्माण गरिएको उनकाे भनाइ थियो ।
प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले सीमित स्रोतसाधनमा पनि दुर्गममा सडक पुर्याउनु ठुलो उपलब्धि भएको उल्लेख गरे।स्थानीयहरूले सडकलाई थप स्तरोन्नति गर्न र वर्षायाममा पनि यातायात सञ्चालन गर्न सकिने बनाउनुपर्ने माग गरेका छन् । यो सडक निर्माणसँगै पोखरीडाँडासहित आसपासका अन्य नागरिकलाई पनि सहजता भएको बताइएको छ ।