नेमार जुनियरले चौथोपटक फिफा विश्वकप फुटबल प्रतियोगिता खेल्ने पक्का गरेका छन् । प्रशिक्षक कार्लोस एन्सेलोटीले मंगलबार विश्वकपमा सहभागी हुने टोलीमा नेमारसहितको अन्तिम २६ खेलाडी घोषणा गरेका हुन् । चोटका कारण नेमार विश्वकपमा खेल्ने वा नखेल्ने भन्ने द्विविधामा थियो । गत साता नेमारको सम्भावना कम रहेको स्थानीय एजेन्सीहरूले जनाएका थिए । नेमारविनाको विश्वकप ब्राजिलियन टोली पूरा नहुने भनी फुटबल समर्थकहरूले त्यसको विरोध जनाए । तर, प्रशिक्षक कार्लोसले सबैका अनुमानविपरीत सबैभन्दा सिनियर खेलाडीका रूपमा उनलाई स्थान दिए ।
३४ वर्षीय नेमार ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले राष्ट्रिय टोलीका लागि ७९ गोल गरेका छन् । सन् २०२३ अक्टोबरमा बायाँ घुँडाको एसिएल चोट बोकेपछि उनी पूर्ण फिटनेसमा फर्किन संघर्षरत छन् । यस वर्ष उनले सान्तोसका लागि आठ खेल खेल्दै चार गोल र दुई असिस्ट गरेका छन् । नेमारलाई टोलीमा समावेश गर्ने विषयमा पनि ब्राजिलमा ठुलो बहस चलेको थियो । नेमारलाई गत मार्चमा भएका मैत्रीपूर्ण खेलबाट बाहिर राखिएको थियो । त्यसपछि उनी टोलीमा नरहने अनुमान गरिएको थियो ।
विश्वकप खेल्ने टोलीमा समावेश भएपछि नेमार निकै भावुक बनेको सोसल मिडियामा भाइरल बनेको छ । ब्राजिलका मुख्य प्रशिक्षक कोर्लोस रियो दी जेनेरियोमा पत्रकार सम्मेलन गरी प्रारम्भिक ५५ बाट २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका थिए । ३४ वर्षीय नेमारले आफ्नो घरेलु क्लब सान्तोसका लागि डेढ वर्षदेखि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । तर, उनको मुख्य समस्या नै चोट बोक्नु रहेको छ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप आगामी ११ जुन देखि ११ जुलाई १९ सम्म हुँदै छ । समूह ‘सी’मा रहेको ब्राजिलले हाइटी, मोरोक्को र स्कटल्यान्डसँग समूह चरणमा खेल्नेछ ।
ब्राजिलियन टोलीमा फिनिसिङको जिम्मेवारी नेमारसहित भिनिसियस जुनियर, राफिन्हा, एन्ड्रिक, इगोर थियागो र गाब्रिएल मार्टिनेलीले पाएका छन् । यसपटक प्रशिक्षक कार्लोसलाई स्ट्राइकरमा धेरै वैकल्पिक खेलाडी पाएका छन् । प्रशिक्षक कार्लोसले पाँचजना मिडफिल्डर राखेका छन् । यसपटक अनुभवी र युवा खेलाडीहरूको मिश्रण रहेको ब्राजिलियन टोलीमा इंग्लिस क्लब बर्नमाउथबाट खेल्ने रायान अन्तिम टिममा पर्दा चेल्सीका जोआओ पेड्रो बाहिरिएका छन् । चोटका कारण रियल म्याड्रिडका स्ट्राइकर रोड्रिगो, डिफेन्डर एडर मिलिटाओ र चेल्सीबाट खेल्ने इस्टाभियो अन्तिम छनोटमा परेनन् ।
रोनाल्डो छैटौँपटकका लागि तयार
क्रिस्टियानो रोनाल्डो पोर्चुगलको प्रारम्भिक २७ सदस्यीय टोलीमा परेका छन् । रोनाल्डोको छैटौँ विश्वकप यात्रा हो । अहिलेसम्म कुनै पनि पुरुष फुटबल खेलाडीले ६ पटक विश्वकप खेलेका छैनन् । लियोनल मेसी पनि अर्जेन्टिनी टोलीमा परेमा छैटौँ विश्वकप खेल्ने सूचीमा समावेश हुनेछन् । चोटमुक्त रहे रोनाल्डोले विश्वकपमा दुर्लभ कीर्तिमान बनाउनेछन् । प्रशिक्षक रोबर्टो मार्टिनेजले मंगलबार घोषणा गरेको टोलीमा ब्रुनो फर्नान्डेस, भिटिन्हा, जोआओ नेभेस र नुनो मेन्डेसजस्ता स्टार खेलाडी पनि छन् ।
मार्टिनेजले चार गोलरक्षक समावेश गरेका छन् । उनले अन्तिम टोली घोषणा गर्दा एकजनालाई बाहिर राख्नेछन् । आश्चर्यजनकजनक रूपमा वुल्भरह्याम्प्टनका पूर्वखेलाडी गोन्कालो चार वर्षपछि राष्ट्रिय टोलीमा परेका छन् । पोर्चुगलबाट केवल चार खेल खेलेका डिफेन्सिभ मिडफिल्डर सामुएल कोस्टा पनि टोलीमा परेका छन् ।
बायर्न म्युनिखबाट लोनमा टोटनह्याम पुगेका पाल्हिन्हाले पोर्चुगलका लागि ३७ खेल खेलिसकेका छन् । फर्नान्डेसले स्थान बनाउन सकेनन् । बेन्फिकाका डिफेन्डर एन्टोनियो सिल्भा, स्ट्राइकर पाउलिन्हो, पेड्रो गोन्काल्भेस, रिकार्डो होर्टा तथा पोर्टोका युवा खेलाडी रिकार्डो मोरा बाहिरिएका छन् । पोर्चुगलले हालसम्म विश्वकप जित्न सकेको छैन ।