द्वन्द्वले गाजामा पानीको संकट

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण

इजरायलसँग जारी द्वन्द्वका कारण गाजामा पानीको संकट देखिएको छ । इजरायली सेनाको कारबाही, संरचना ध्वस्त, विद्युत् आपूर्ति अवरुद्ध, इन्धन र अत्यावश्यक सामग्रीमा रोक लगाइएका कारण पानीको संकट देखिएको हो । प्यालेस्टाइनी जल प्राधिकरणले गाजा क्षेत्रमा पानीको गम्भीर संकट उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरेको छ । 

गाजावासीले प्रतिदिन औसतमा केबल तीनदेखि पाँच लिटर पानी मात्र पाउँछन्, जबकि स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डअनुसार न्यूनतम १५ लिटर हुनुपर्ने हो । स्थानीय बासिन्दा पिउन नमिल्ने नुनिलो पानी प्रयोग गर्न बाध्य भएका छन् । प्राधिकरणले इजरायललाई मानव अधिकारको उल्लंघन गरेको आरोप लगाउँदै तत्काल सैनिक आक्रमण रोक्न, नाकाबन्दी अन्त्य गर्न र पानी आपूर्ति सेवामा संलग्न कामदारको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ ।

पानीको अभावका कारण मानिसहरूको जीवनयापन कष्टकर हुँदै गएको छ । हरेक दिन प्रत्येक परिवार स्वच्छ पिउने पानीका लागि ठूलो संघर्ष गर्नुपरेको छ । सरसफाइ तथा लुगा धुने प्रयोजनमा प्रयोग हुने पानी प्राप्त गर्न घन्टौं समय लाग्छ । यसैबिच संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले गाजाका २० लाख मानिसलाई प्रति महिना ६२ हजार टन खाना चाहिने बताएको छ ।

सुझावित समाचार