कंग्रेसले किन रोज्यो केरलाको मुख्यमन्त्रीमा सथिसनलाई ?

आइतबार, ३ जेठ, २०८३
डिजिटल संस्करण
  • राज्यमा बलियो उपस्थिति, युडिएफका गठबन्धन सहयोगीहरूको समर्थन र धर्मनिरपेक्षतावादी छविले सथिसनको मुख्यमन्त्री बन्ने ढोका खोल्यो 

केरलाका नयाँ मुख्यमन्त्री को हुने भन्नेबारे १० दिन लामो रहस्य अन्ततः बिहीबार अन्त्य भयो । भारतीय राष्ट्रिय कंग्रेसले राज्यको विधान सभाका पूर्वप्रतिपक्षी नेता बिडी सथिसनलाई मुख्यमन्त्री बनाएसँगै कंग्रेसको केन्द्रीय ‘अल इन्डिया कंग्रेस कमिटी (एआइसिसी)’का महासचिव केसी वेणुगोपाल पाखा लागेका छन् । कंग्रेसले वेणुगोपालको स्थानमा सथिसनलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गर्नुपछाडि मुख्यतः पाँच प्रमुख कारण छन् ।

पहिलो कारण, केरलाका ६ पटकका विधायक सथिसनले यसपटक राज्यमा कंग्रेस नेतृत्वमा रहेको गठबन्धन ‘युनाइटेड डेमोक्रेटिक फ्रन्ट (युडिएफ)’को चुनावी अभियानको नेतृत्व गरेका थिए । उनकै नेतृत्वमा पार्टीले राज्यमा यसपटक बलियो जनसमर्थन प्राप्त गरेको छ । चुनावी र्यालीहरूमा उनले युडिएफले यसपटक केरलाको कुल १४० सिटमध्ये १०० भन्दा कम सिट जित्यो भने ‘राजनीतिबाट सन्न्यास’ लिने बताउने गरेका थिए । नभन्दै युडिएफले यसपटक १०२ सिट जित्यो । कंग्रेस एक्लैले ६३ सिट जित्दै सबैभन्दा ठुलो एकल दलका रूपमा देखा पर्यो ।

विगतमा विधान सभामा विपक्षी दलको नेताका रूपमा सथिसन अघिल्लो पिनारायी विजयन सरकारविरुद्ध सबैभन्दा प्रमुख विपक्षी व्यक्तित्व थिए । हुन त वेणुगोपालले दिल्लीमा रहेर कंग्रेस नेता राहुल गान्धीसँग घनिष्टता विकास गरेको मानिन्छ । तर, १० वर्षपछि केरलामा युडिएफलाई सत्तामा फर्काउने आधार भने सथिसनले तयार पारेका थिए । चुनावी जितपछि वेणुगोपाल मुख्यमन्त्री बन्ने चर्चाबिच कंग्रेसका तल्लो तहका कार्यकर्ता विरोधमा केरलाका सडकमा उत्रिएका थिए । त्यसैले जनभावना बुझ्दै, कंग्रेस नेतृत्वले सथिसनलाई रोज्नु नै उत्तम हुने निर्णय गर्यो ।

सथिसनलाई मुख्यमन्त्री बनाउन योगदान गर्ने दोस्रो कारण उनीप्रर्ति गणबन्धन सहयात्री दलको समर्थन रह्यो । २२ जना विधायक भएको इन्डियन युनियन मुस्लिम लिग (आइयुएमएल), ७ जना विधायक भएको केरला कंग्रेस (जोसेफ) र ३ विधायक भएको क्रान्तिकारी समाजवादी पार्टीले सथिसनलाई मुख्यमन्त्रीका रूपमा नियुक्ति गर्न खुला रूपमा आह्वान गरेका थिए । राज्यमा गठबन्धनलाई एकताबद्ध राख्नु महŒवपूर्ण भएकाले पनि कंग्रेस नेतृत्वले बहुमत गठबन्धनको आह्वान सुन्ने निर्णय लियो । किनकि, सरकार गठनको सुरुमै सहयोगीको प्राथमिकतालाई बेवास्ता गर्दा पछि तनाव सिर्जना हुन सक्थ्यो । 

तेस्रो कारण वेणुगोपालको छविसँग जोडिएको छ । उसो त उनले केरलाबाट तीनपटक विधान सभा र तीनपटक लोकसभा चुनाव जितिसकेका छन् । तर, पछिल्लो एक दशकको अवधिमा राज्यमा उनलाई धेरै हदसम्म ‘दिल्लीका मान्छे’का रूपमा हेर्न थालिएको छ । यो छविपछाडि केन्द्रका नेता राहुल गान्धीसँगको उनको निकटता र राष्ट्रिय राजनीतिमा उनको सक्रियताको भूमिका हुन सक्छ । उनी सन् २०१७ देखि एआइसिसीका महासचिव छन् र प्रायः केरला राज्यमा भन्दा भारतीय केन्द्रको राजनीतिमा सक्रिय छन् । उनले सन् २०१९ को लोकसभा चुनाव लडेनन् । र, अर्को वर्ष राजस्थान राज्यको कोटाबाट राज्यसभा सदस्य बने ।

चौथो कारण यो पनि थियो कि वेणुगोपाललाई मुख्यमन्त्री बनाइएको भए कंग्रेसले राज्यमा तुरुन्तै दुईवटा उपचुनाव लड्नुपर्ने थियो । वेणुगोपाल हाल अलाप्पुझा क्षेत्रबाट लोकसभा सांसद छन्, विधायक होइनन् । मुख्यमन्त्री बन्नका लागि उनले केन्द्रको संसद् पदबाट राजीनामा दिनुपर्ने थियो र ६ महिनाभित्र विधान सभा उपचुनाव लड्नुपर्ने थियो । यसमा हारको जोखिम पनि थियो । यसअघि पनि वेणुगोपालले सन् २०२४ को लोकसभा चुनाव लड्न राज्यसभा सिट त्यागेका थिए ।
उनी मुख्यमन्त्री बनेका भए, कंग्रेसले अलाप्पुझा लोकसभा सिटका लागि पनि उपचुनाव लड्नुपर्ने थियो । कंग्रेसले अहिले कैयौँ राज्यमा लोकसभा सिटमा भएको उपचुनावमा जित निकाल्न संघर्ष गरिरहेको समयमा धेरै पार्टी नेताले अर्को चुनावी जोखिम लिनु अनुपयुक्त हुने महसुस गरे । सथिसन पहिल्यै एक विधान सभाका विधायक र विपक्षी नेता थिए । त्यसैले पनि उनी सुरक्षित विकल्प बने । 

कंग्रेसले सथिसनलाई छान्नुपछाडिको पाँचौँ कारण थियो, धर्मनिरपेक्ष नेताका रूपमा उनको बलियो छवि । केरलाको राजनीतिमा साम्प्रदायिक ध्रुवीकरण बढ्दै गएको समयमा, सथिसनले भाजपा र माकपा (मार्क्सवादी कम्युनिस्ट पाटी) दुवैलाई साम्प्रदायिक राजनीतिमा संलग्न भएको आरोप लगाउँथे । उनको वैचारिक अडान कंग्रेस नेतृत्वको राष्ट्रिय लाइनसँग मिल्दोजुल्दो थियो, विशेष गरी राहुल गान्धीको धर्मनिरपेक्षता, सामाजिक न्याय र साम्प्रदायिक राजनीतिको विरोधको निरन्तर सन्देशसँग । 

सथिसन ती केही कंग्रेसी नेतामध्ये एक देखिएका छन्, जसले ‘जे बोल्छन्, त्यही व्यवहारमा उतार्छन्’ भन्ने प्रतिष्ठा बनाएका छन् । उनले राज्यका अन्य नेताभन्दा कंग्रेसको वैचारिक लाइनलाई स्पष्ट रूपमा व्यक्त गरे । संवेदनशील राजनीतिक मुद्दामा अन्य धेरै नेताले नरम वा सतर्क अडान लिँदा सथिसनले आक्रामक नीति अंगीकार गरेर केरलामा कंग्रेसको राष्ट्रिय सन्देशलाई निरन्तर प्रवर्द्धन गरे । उनलाई मुख्यमन्त्री बनाउनुपछाडि हालैका वर्ष पार्टीले हासिल गरेको सबैभन्दा ठुलो चुनावी जितका ‘आर्किटेक्ट’प्रति पार्टीको सम्मानजस्तो पनि देखिन्छ । 

(पत्रकार मिश्रा समसामयिक राजनीतिमाथि कलम चलाउँछिन्) 
द प्रिन्टबाट

सुझावित समाचार