- अमेरिकी राजनीतिशास्त्री ग्राहम एलिसनले लोकप्रिय बनाएको यो पदावली (थुसिडाइड्स ट्रयाप )लाई दुई शक्तिशाली देश कसरी युद्धमा फस्न सक्छन् भनेर वर्णन गर्न प्रयोग गरिन्छ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच यो साता बेइजिङमा शीर्ष भेटवार्ता भयो । भेटमा सीले अमेरिकी समकक्षी ट्रम्पलाई आफ्नो देशले ‘थुसिडाइड्स ट्रयाप ’मा फस्नबाट बच्नुपर्ने चर्चा गरेको बताइएको छ । सन् २०१० को दशकको सुरुमा अमेरिकी राजनीतिशास्त्री ग्राहम एलिसनले लोकप्रिय बनाएको यो पदावलीलाई दुई शक्तिशाली देश कसरी युद्धमा फस्न सक्छन् भनेर वर्णन गर्न प्रयोग गरिन्छ । विशेषतः विद्यमान महाशक्ति राष्ट्र उदाउँदो शक्तिको कारण चिन्तित हुँदा यस्तो अवस्था आउन सक्ने यस अवधारणाले बताउँछ । र, एलिसनले यो पदावली विशेष गरी चीन र अमेरिकालाई मध्यनजर गरेर प्रस्तुत गरेका थिए ।
यसको नाम एथेन्सका इतिहासकार तथा जनरल थुसिडाइड्सबाट लिइएको हो, जसले ईसापूर्व ४३१ मा एथेन्स र स्पार्टाबिच भएको २७ वर्षे ‘पेलोपोनेसियाली युद्ध’माथि बृहत् इतिहास लेखेका थिए । आफ्नो पुस्तकमा थुसिडाइड्सले खासमा के भनेका थिए ? र एथेन्स र स्पार्टाको अनुभव अमेरिका–चीनबिचको वर्तमान अवस्थासँग कत्तिको मेल खान्छ ? यहाँ त्यसैको वर्णन गरिएको छ ।
एथेन्स–स्पार्टा युद्धसँग जोडिएको इतिहास
‘थुसिडाइड्स ट्रयाप ’ पदावलीले भन्छ कि कुनै स्थापित महाशक्तिले आफू पछि पर्ने भयले उदाउँदो शक्तिसँग नराम्रो व्यवहार गर्ने गर्छ र यसले दुई देशबिच युद्ध एक मात्र विकल्प नहुँदानहुँदै पनि युद्धको सम्भावना बढ्दै जान्छ । यो अवधारणा एथेनियन जनरल थुसिडाइड्सले लेखेको ‘पेलोपोनेसियन युद्धको इतिहास (पुस्तक एक, अध्याय २३)’मा उल्लेख उद्धरणमा आधारित छ । पुस्तकमा थुसिडाइड्सले भनेका छन् : ‘एथेन्सको बढ्दो शक्ति र यसले लेसेडेमोन (स्पार्टा)मा बढाएको डरको भावनाले युद्धलाई अपरिहार्य बनायो ।’
अर्को शब्दमा, जनरल थुसिडाइड्सले पेलोपोनेसियाली युद्धलाई अपरिहार्य बनाउने पक्षमा एथेनियन शक्तिको उदय भएको विषयलाई जोड दिएका छन् । त्यतिखेर धेरै ग्रिकवासीले एथेन्स र स्पार्टा ससाना विवादकै कारणले पटक–पटक लडिरहेको भनिरहेका थिए । तर, थुसिडाइड्सले त्यसभन्दा फरक विचार राख्दै भने कि स्पार्टा (परम्परागत महाशक्ति)लाई नयाँ शक्तिशाली राज्य एथेन्सको उदयप्रति उत्पन्न चिन्ता नै युद्धको मूल कारण थियो ।
थुसिडाइड्सले एथेन्स र स्पार्टाबारे व्यक्त गरेका विचार अहिलेको सन्दर्भमा तुलना गर्दा चीनको उदयको बारेमा स्थापित महाशक्ति अमेरिकाको चिन्ताले अन्य विकल्प उपलब्ध हुँदाहुँदै दुई देश युद्धतर्फ धकेलिन सक्ने भन्छ । तथापि, प्राचीन ग्रिसको इतिहासका कैयौँ अध्येताहरूले भने यस पदावली जुन सन्दर्भमा प्रयोग भइरहेको छ, त्यसप्रति असन्तुष्टि जनाएका थिए ।
विवादित पदावली
यस पदावलीमा रहेको ‘ट्रयाप (फन्दा)’ शब्दले ईसापूर्व ४३१ को घटनामा स्पार्टाले चालेको कदम गलत भएको र उसले फरक ढंगले कदम चाल्न सक्थ्यो भन्ने संकेत गर्छ । तर, थुसिडाइड्सले नै आफ्नो पेलोपोनेसियन युद्धको इतिहासको पुस्तकको अन्य भागमा वास्तवमा त्योभन्दा फरक वर्णन गरेका छन् । उनका अनुसार स्पार्टाहरू उदाउँदो शक्ति एथेन्ससँग डराउनुको उचित कारण थियो । त्यतिवेलासम्म एथेन्स बाल्कन र एजियन सागरमा एक प्रमुख नौसेना शक्ति बनिसकेको थियो । यस क्रममा उसले स्पार्टाको कैयौँ सहयोगीलाई आफूतर्फ तानेको थियो । गुट परिवर्तन गर्न अस्वीकार गर्ने राज्यमाथि उसले आक्रमणसमेत गरिरहेको थियो ।
एथेन्सबाट बढ्दो आक्रमणबिच स्पार्टाका सहयोगीले ईसापूर्व ४३२ मा औपचारिक रूपमा आफ्नो गुनासो राखेका थिए– ‘तपाईंहरूले एथेन्सबारेमा केही कदम चाल्नुपर्छ । त्यस्तो कुनै कदम चालिएन भने, हामी उनीहरूसँग सामेल हुन बाध्य हुनेछौँ ।’ आफ्ना सहयोगी राज्यको दबाबका कारण स्पार्टावासीलाई एथेन्सविरुद्ध कारबाहीमा उत्रिन बाध्य बनाएको थियो । एक अर्थमा एथेन्सको बढ्दो शक्तिप्रति स्पार्टाको चिन्ताले युद्ध निम्त्याएको थियो । तर, स्पार्टाले एथेन्सविरुद्ध पूर्णस्तरको युद्धमा उत्रनैपर्ने महसुस गर्यो । यसैले उसले ईसापूर्व ४३१ मा एथेन्ससँग विगतमा भएको शान्तिसन्धि तोड्यो ।
दीर्घकालीन दृष्टिकोण
‘थुसिडाइड्स ट्रयाप ’ पदावलीले खासमा स्पार्टाका लागि लामो अवधिमा परिस्थिति कसरी खराब बन्यो भन्ने व्याख्या गर्छ । उनीहरूले पेलोपोनेसियाली युद्ध जितेका थिए । तर, जितका लागि २७ वर्ष लाग्यो । र, जितपछि स्पार्टा पहिलेभन्दा ठुलो महाशक्ति बन्ने धुनमा थप ठुलो राज्यविस्तारमा संलग्न भयो । यसले विभिन्न राज्यमा विभाजित अन्य ग्रिकलाई समेत चिन्तित बनायो । ईसापूर्व ४०४ पछि स्पार्टन्सको शक्तिमा भएको वृद्धिले नै यसका धेरै सहयोगीलाई शत्रु बनायो । त्यसपछि विभाजित सबै ग्रिक राज्यहरू स्पार्टाविरुद्ध सामना गर्न एकजुट भए । यसै, एकीकृति शक्तिले ईसापूर्व ३७१ मा भएको ‘ल्युक्ट्राको युद्ध’मा स्पार्टाको महाशक्तिको पहिचान पूर्ण रूपमा सधैँका लागि नष्ट गरिदियो ।
स्पार्टाको सम्पूर्ण सुरक्षा संरचना ध्वस्त भयो । तिनीहरूले आफ्ना सबै सहयोगी गुमाए । तिनको शक्तिको स्रोत रहेका दासहरू सबै मुक्त भए । योसँगै स्पार्टा केवल एक सानो राज्यमा खुम्चियो । त्यसैले अमेरिकाका लागि ‘थुसिडाइड्स ट्रयाप ’ले कुनै पाठ दिन्छ भने मूलतः महाशक्ति राष्ट्रको डरले अन्तर्राष्ट्रिय मामिलालाई उल्लेख्य रूपमा आकार दिन्छ भन्ने हुन्छ । ‘थुसिडाइड्स ट्रयाप ’ पदावलीमा जोड दिने धेरै मानिसहरूले स्पार्टाको नियतिमा मात्र चर्चा गर्छ । लामो अवधिमा एथेन्समा के भयो भनेर उल्लेख गर्न बिर्सन्छन् । एथेन्स ‘पेलोपोनेसियन युद्ध’मा बच्यो । उसले आफ्नो लोकतन्त्र र सेना पुनर्स्थापित गर्दै एक क्षेत्रीय शक्ति बन्यो ।
ईसापूर्व चौथो शताब्दीको सुरुतिर एथेन्सले फारसी साम्राज्यबाट दबाब महसुस गर्न थालेको थियो । कुनै पनि ग्रिक राज्यभन्दा धेरै गुणा शक्तिशाली फारससँग भिड्नु एथेन्सलाई सम्भव थिएन । त्यसैले एथेन्सले आफूलाई खुम्च्याएर विशाल भूमध्यसागरीय क्षेत्रको महाशक्ति बन्ने महत्वाकांक्षा त्याग्यो । यसले फारसनजिक रहेका एनाटोलियाका ग्रिक राज्यहरूमाथि आफ्नो साम्राज्यवादी नियन्त्रण पुनर्स्थापित गर्ने प्रयास नै परित्याग गरिदियो ।
एथेन्सले नजिकको एजियन सागरमा बढी ध्यान केन्द्रित गर्ने र फारसीसँग टकरावमा पर्नबाट बच्ने नीति अपनाएको थियो । अर्थात्, एथेन्सले आफ्नो शक्तिको सीमिततालाई पहिचान गरेको थियो । त्यसैले ईसापूर्व ४३१ मा एथेन्ससँग लड्ने स्पार्टाको निर्णयले एथेन्सलाई आफ्नो दिगो अस्तित्व रक्षाबारे सोच्न र त्यसअनुरूपको रणनीति अपनाउन बाध्य बनायो ।
आजको विश्वका लागि के छ पाठ ?
‘पेलोपोनेसियाली युद्ध’को इतिहासले आज चीन–अमेरिका सम्बन्धका लागि महत्वपूर्ण पाठ प्रदान गर्दछ । पहिलो पाठ, कुनै पनि स्थापित महाशक्तिले (यहाँ अमेरिका) उदीयमान महाशक्ति (चीन)को उदयलाई रोक्नु मूर्खतापूर्ण हुन सक्छ भन्ने हो । स्पार्टाले त्यस्तो प्रयास गर्दा भयानक मूल्य चुकाउनुपर्यो । एथेन्सलाई मिलाएर अघि बढेको भए स्पार्टा कम्तीमा चौथो शताब्दीसम्म महाशक्तिको रूपमा रहन सक्ने इतिहासले देखाउँछ ।
अर्को पाठ यो हो कि अमेरिकाजस्तो स्थापित महाशक्तिले आफ्नो महत्वाकांक्षालाई सीमित गरेर आफ्नो क्षेत्रमा मात्र ध्यान केन्द्रित गर्ने विकल्प अपनाउन सक्छ । लोकतान्त्रिक एथेन्सले ‘पेलोपोनेसियन युद्ध’पछि यही गरेको थियो । त्यसो गर्नाले एथेन्स सांस्कृतिक र राजनीतिक रूपमा फस्टाउन सक्यो । साथमा यस नीतिले सो राज्यलाई ईसापूर्व ३१० सम्म आफ्ना शत्रुबाट बच्ने अवसर प्रदान गर्यो ।
लेखक युनिभर्सिटी अफ क्विन्सल्यान्डका ग्रिक इतिहासका सहप्राध्यापक हुन्
– द कन्भर्सेसनबाट