राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्रीकै मातहत लगियो
सरकारले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)लाई फेरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत लगेको छ। बुधबार पारित भएको कार्यसम्पादन नियमावली, २०८३ अनुसार विभागलाई प्रधानमन्त्री कार्यालयमातहत राखिएको हो।
गत असोजमा तत्कालीन चुनावी सरकारले विभागलाई प्रधानमन्त्री कार्यालयबाट गृह मन्त्रालयमातहत लगेको थियो। सुरक्षामा समन्वय गर्न सहज हुने भन्दै विभागलाई गृहमातहत राखिएको थियो। हालको सरकारले प्रधानमन्त्री कार्यालयमातहत नै उपयुक्त हुने निष्कर्ष निकालेको छ।
०७४ सालमा केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमातहत लगेको थियो। पछि ती निकायलाई मन्त्रालयकै मातहत फर्काइएको थियो। यसपटक सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पनि प्रधानमन्त्री कार्यालयमातहत राख्ने गृहकार्य भए पनि अन्तिममा अर्थमै राखिएको स्रोत बताउँछ। राजस्व अनुसन्धान विभाग भने खारेजीको प्रक्रिया अघि बढाइएको छ।
सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु
सरकारको बेरुजु सात अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा मात्र ८८ अर्ब नौ करोड रुपैयाँबराबरको बेरुजु बढेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ।
कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई आर्थिक वर्ष ०८१/८२ को प्रतिवेदन बुझाउँदै बेरुजुको तथ्यांक सार्वजनिक गरेको हो।
महालेखापरीक्षक तोयम रायका अनुसार संघीय कार्यालयतर्फ ५३ अर्ब ४९ करोड, प्रदेशतर्फ पाँच अर्ब २३ करोड र स्थानीय तहतर्फ १९ अर्ब पाँच करोड बेरुजु देखिएको छ। अन्य संस्थतर्फ १० अर्ब ३२ करोड बेरुजु कायम भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको अनिश्चितकालीन निलम्बन फुकुवा गरेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, उनका खेलकुद सल्लाहकार सिद्धि ब्यञ्जनकार, परिषद्का सदस्यसचिव रामचरित्र मेहता, एन्फाका महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र प्रवक्ता सुरेश शाहलगायतको बैठकमा सहमति निस्किएपछि निलम्बन फुकुवा गरिएको हो।
सुकुमवासी बस्तीबाट हटाइएका बालबालिकालाई निजी विद्यालयले आवासीय सुविधासहित निःशुल्क पढाउने
नदीकिनार तथा जोखिमयुक्त बस्तीबाट हटाइएका परिवारका बालबालिकाहरूलाई आवासीय सुविधासहित निजी विद्यालयले निःशुल्क पढाउने भएका छन्। काठमाडौं महानगरपालिका, अभिभावक, प्याब्सन र एन प्याब्सनबिच शुक्रबार विद्यार्थी पढाउने सम्बन्धमा सम्झौता भएको हो।
पहिलो चरणमा १४ जना बालबालिकालाई महानगरपालिकाले पढाउनका लागि निजी विद्यालयहरूसँग सम्झौता गरेको छ। हाल विद्यार्थीले जुन कक्षामा पढिरहेका थिए उनीहरूलाई निजी विद्यालयले पनि सोहीअनुसारकै कक्षामा भर्ना गरेर निःशुल्क रूपमा पढाउनेछन्।
इन्भेष्टमेन्ट बैंकका सिइओ पाण्डे हाजिरी जमानीमा छुटे
स्मार्ट टेलिकमका उपकरण ऋण असुलीका लागि लिलाम गरेको प्रकरणमा पक्राउ परेका नेपाल इन्भेष्टमेन्ट बैंकका सिइओ ज्योतिप्रकाश पाण्डे सर्वाेच्च अदालतको आदेशमा थुनामुक्त भएका छन्। उनलाई सिआइबीले हाजिरी जमानीमा रिहा गरेको छ।
बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वाेच्चले उनलाई हाजिरी जमानीमा छाड्न भनेको हो। थुनामै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको न्यायाधीशद्वय सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले दिएको आदेशमा भनिएको छ।
सरकारी अस्पतालहरूमा करोडौँका स्वास्थ्य उपकरण प्रयोगविहीन
सरकारी ठुला अस्पतालहरूमा करोडौँका स्वास्थ्य उपकरणहरू प्रयोगविहीन बनेका छन्। महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार अस्पतालको हेलचेक्र्याइँ र दक्ष जनशक्तिको अभावमा अत्याधुनिक उपकरणहरू वर्षौँदेखि थन्किएका हुन्।
प्रतिवेदनअनुसार फितलो व्यवस्थापनकै कारण काम लाग्ने अवस्थाका उपकरण थन्किएका छन्। त्यस्ता उपकरण प्रयोगविहीन बनाउने अस्पतालहरूमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टरदेखि नेपाल प्रहरी अस्पतालसम्म छन्।
एकैपटक ६९ कन्सल्टेन्सीका सञ्चालक पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एकैपटक ६९ कन्सलटेन्सीका सञ्चालकलाई पक्राउ गरेको छ।
उच्च शिक्षाको लागि विदेश पठादिन्छु भनी ठगी गरेको उजुरीका आधारमा खटिएको प्रहरीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो। ९५ वटा कन्सलटेन्सीमा खटिएको प्रहरी टोलीले ६९ वटा कन्सलटेन्सीका सञ्चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।
यी कन्सल्टेन्सीले प्रकृया पूरा नगरी, दर्ता नवीकरण नगरी तथा इजाजत नलिई शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा, भाषा शिक्षणलगायतका सेवा प्रदान गर्दै आएको पाइएको प्रहरीले जनाएको छ।
अन्तिम समयमा विश्वासको मत लिनबाट पछि हटे मुख्यमन्त्री यादव
आज विश्वासको मत लिने घोषणा गरेका मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले अन्तिम समयमा स्थगित गरेका छन् । सत्तागठबन्धनभित्र बढ्दो असन्तुष्टि र आन्तरिक विवादका कारण उनि विश्वासको मत लिनबाट पछि हटेका हुन् । अन्तिम समयमा राजनीतिक समीकरण असहज बनेपछि उनले विश्वासको मत लिने कार्यक्रम स्थगित गरेका हुन् ।
जंगली च्याउ खाँदा चितवनमा चेपाङ बालिकाको मृत्यु, दुईजना गम्भीर
चितवनको इच्छाकामना गाउँपालिकामा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बालबालिका गम्भीर बिरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका– १, कुलबाङ, हात्तीबाङकी नाै वर्षीया नमुना चेपाङको मृत्यु भएको हो । उनी नमुना राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङमा कक्षा दुईमा अध्ययनरत थिइन् ।
निरुता राष्ट्रिय भलिबल टिमको नयाँ कप्तान
निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल टिमको नयाँ कप्तान नियुक्त भएकी छिन्।
शुक्रबार नेपाल भलिबल संघ (एनभिए)ले निरुतालाई नयाँ कप्तान नियुक्त गरेको जानकारी गराएकाे हाे। संघको ६९औँ कार्यसमितिले निरुतालाई कप्तान नियुक्त गरेको हो।
सन् २०१९ देखि कप्तान रहेकी अरुणा शाही अस्ट्रेलिया पुगेपछि निरुताले नयाँ जिम्मेवारी पाएकी हुन्। ओपन स्पाइकर निरुताले सोही समय राष्ट्रिय टिममा डेब्यु पाएकी थिइन्। निरुतासहित अर्की ओपन स्पाइकर उषा भण्डारी र लिबेरो सलिना श्रेष्ठ पनि कप्तानको प्रतिस्पर्धामा थिए।