संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन–जी प्रतिनिधिहरूसँग छलफल गर्दै छ। कार्यदलले आज शुक्रबार अपराह्न ५ बजे संविधान संशोधन गर्न सुझाव संकलनका लागि जेन–जी प्रतिनिधिसँग छलफल गर्न लागेको हो।
कार्यदलले छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात्मक संवादका लागि आह्वान गरेको छ। कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य ध्येय रहेकाले सोहीअनुरूप जेन–जीहरूलाई पनि छलफलका लागि आमन्त्रण गरिएको बताए।
केही जेन–जी प्रतिनिधिहरूले अघिल्लो सरकारसँग भएका सहमतिको विषयलाई लिएर असन्तुष्टि जनाएपछि संयोजक शाहले अघिल्लो सरकारसँग भएका सहमतिहरू कार्यान्वयनकै चरणमा रहेको स्पष्ट पारेका छन्। जेन–जी परिषद् निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।
कार्यदलले जेन–जीहरूबाट मौखिक र लिखित दुवै माध्यमबाट सुझाव लिने गरी समय व्यवस्थापन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।