एसइई ०८२ मा कञ्चनपुरका १४ विद्यालयको शतप्रतिशत नतिजा

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

माध्यमिक परीक्षा शिक्षा (एसइई)मा कञ्चनपुरका १४ विद्यालयका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत सोमबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसइई ०८२ को नतिजाअनुसार जिल्लाका १२ निजी र दुई सरकारी विद्यालयका पूरै विद्यार्थी उत्तीर्ण भएका हुन्। कुल २१३ विद्यालयमध्ये १४ अर्थात् सात प्रतिशत विद्यालयले मात्रै शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन्। 

शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरको तथ्यांकअनुसार भीमदत्त, बेलौरी र पुनर्वास नगरपालिका क्षेत्रका सरकारी, निजी विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।  न्यून विद्यार्थी भएका बेलौरीका दुई सरकारी विद्यालयका पूरै विद्यार्थी उत्तीर्ण भएका छन्। बेलौरीको कल्यान मावि श्रीपुरपहुलाहका चार र गणेश मावि बेलौरीका दुई विद्यार्थी उत्तीर्ण भएर शतप्रतिशत नतिजा ल्याएका हुन्। 

भीमदत्त नगरपालिका– ३, भाँसी महेन्द्रनगरको महाकाली मोडर्न पब्लिक स्कुल, भीनपा– १८, महेन्द्रनगरकै सनराइज पब्लिक स्कुल, भीनपा– २, उल्टाखामको एभरेस्ट इभरग्रिन इंग्लिस स्कुल, महेन्द्रनगरकै प्रकाश मेमोरियल स्कुलले शतप्रतिशत नजिता ल्याएक छन्। महाकाली मोडर्न पब्लिक स्कुलका ४३, सनराइज पब्लिक स्कुलका ३१, एभरेस्ट इभरग्रिन इंग्लिस स्कुलका १५ र प्रकाश ममोरियलका पाँच पूरै विद्यार्थी उत्तीर्ण भएका छन्। 

बेलौरीको उग्रतारा बाल विद्यालयका २०, बेलौरी लक्ष्मीपुर लिटिल गार्डेन इंग्लिस बोर्डिङ  स्कुलका २८, दुर्गा बाल विद्यालयलका ३४, सिद्धबाबा एकेडेमीका सात, वात्सल्य विद्या निकेतनका ४७ र पुनर्वासको नवयुग विद्या निकेतनका १७ पूरै विद्यार्थी उत्तीर्ण भएका हुन्। शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका विद्यालयले विद्यार्थीको स्वयं मिहिनेत, विद्यालय, घरपरिवारको उच्च गाइडले उत्कृष्ट नतिजा आएको बताएका छन्।

सुझावित समाचार