आगामी मंसिरमा एकता महाधिवेशन गर्ने निर्णय गरेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले जनसंगठनहरूको समायोजन प्रक्रिया अघि बढाएको छ । नेकपाले ३२ जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेर समायोजन प्रक्रिया अघि बढाएको हो ।
जेठ महिनाभर सबै संगठनको समायोजन प्रक्रिया सम्पन्न हुने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । ‘पार्टीले जनसंगठनका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको छ । इन्चार्ज र सहइन्चार्जले समायोजन प्रक्रिया अगाडि बढाउनुहुन्छ । जेठभित्र समायोजन प्रक्रिया सकिन्छ,’ उनले भने ।
अखिल नेपाल महिला संगठनको इन्चार्जमा जयन्ती राई र सहइन्चार्ज कमला रोका, अखिल नेपाल किसान महासंघको इन्चार्जमा बलदेव चौधरी र सहइन्चार्जमा कुमार पौडेल छन् । प्रेस संगठनको इन्चार्ज प्रकाश ज्वाला र सहइन्चार्ज शम्भु श्रेष्ठ र विष्णु सापकोटा, विद्यार्थी संगठनको इन्चार्ज रत्न ढकाल र सहइन्चार्ज सुदेश पराजुली, शिक्षक संगठनको इन्चार्ज माधव सापकोटा र सहइन्चार्ज केदार सञ्जेल, युवा संगठनको इन्चार्ज लक्ष्मण केसी र सहइन्चार्ज सुमन देवकोटा तथा ज्ञानबहादुर गुरुङ छन् ।
सहिद, बेपत्ता तथा घाइते योद्धा संगठनको इन्चार्ज हितराज पाण्डे तथा सहइन्चार्ज कृष्णप्रसाद सापकोटा र बालकृष्ण गैरे, आदिवासी जनजाति महासंघको इन्चार्जमा सुरेश आलेमगर र सहइन्चार्ज पासाङ शेर्पा छन् । इन्जिनियर्स एसोसिएसनको इन्चार्ज लेखनाथ न्यौपाने र सहइन्चार्ज कपिल आचार्य, उद्योग तथा व्यवसायी महासंघको इन्चार्ज विरोध खतिवडा र सहइन्चार्ज कृष्ण आचार्य, कानुन व्यवसायी संगठनको इन्चार्जमा पूर्णबहादुर घर्ती र सहइन्चार्ज रामकुमार ज्ञवाली छन् । खेलकुद महासंघको इन्चार्ज केशव विष्ट र सहइन्चार्ज शिव कोइराला, जनसांस्कृतिक महासंघको इन्चार्ज चेतबहादुर पुन तथा सहइन्चार्ज ईश्वरचन्द्र ज्ञवाली र उदय श्रेष्ठ, ट्रेड युनियन महासंघको इन्चार्ज रामदीप आचार्य र सहइन्चार्ज विष्णु लम्साल, दलित संगठनको इन्चार्ज गणेश विक र सहइन्चार्ज दलजित श्रीपाली, नेपाल रिटर्नी एसोसिएसनको इन्चार्ज देवेन्द्य्र पराजुली र सहइन्चार्ज भवानी खड्का छन् ।