- भाजपाले विगतका गल्तीबाट गतिलो पाठ सिकेर प्रदेशमा आफ्नो उपस्थिति बलियो बनाउने नयाँ रणनीति तय गर्दै छ
हालै प्रधानमन्त्री नरेन्द्र मोदी दुई राज्यमा शपथ ग्रहण समारोहमा सहभागी भए । यी समारोह सम्राट चौधरी र शुभेन्दु अधिकारीलाई आ–आफ्नो राज्यको मुख्यमन्त्री घोषणा गर्न मात्र आयोजना गरिएका थिएनन् । ती हिन्दुवादी पार्टी भाजपाले हालैका वर्षमा गरेको उत्कृष्ट सफलताबाट प्रेरित ‘चुनावी अश्वमेध यज्ञ’को घोषणा थिए । सन् २०१४ को मेमा जब मोदीले केन्द्रमा प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरे, राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) आफ्ना सत्ता साझेदारको सहयोगमा देशका केवल सात राज्यमा सत्तामा थियो । आज, एनडिएले देशका २२ राज्य र केन्द्रशासित प्रदेशमा शासन गरिरहेको छ । १५ महत्वपूर्ण राज्यमा भाजपाका मुख्यमन्त्री छन् । तिनले यस्तो सफलता कसरी हासिल गरे ? केही पक्षपाती पर्यवेक्षक यसलाई साम्प्रदायिकताको विजय भन्छन् । तर, के व्याख्या साँच्चै त्यति सरल छ ?
सन् १९८८ मा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले मोदीलाई भाजपा सुम्पियो । भाजपाले उनलाई गुजरातको जिम्मेवारी दियो । उनको पहिलो परीक्षा एक वर्षपछि भएको गुजरात नगरपालिका चुनाव थियो । त्यसमा, भाजपाले पहिलोपटक अहमदाबादमा मेयर पद सुरक्षित गर्यो । यो राज्यमा भाजपाको विजय यात्राको सुरुवात थियो ।
त्यतिवेला गुजरातमा एक प्रमुख तस्कर अब्दुल लतिफ थिए । उनले पाँचवटा काउन्सिलर सिटमा स्वतन्त्र रूपमा चुनाव लडेका थिए । उनका समर्थकले उनलाई पिँजडामा राखिएको बाघका रूपमा प्रस्तुत गरे । मेयरको चुनावमा मोदीले यसलाई चुनावी मुद्दा बनाए र चुनाव जिते । प्रतिस्पर्धालाई साम्प्रदायिक दृष्टिकोणबाट हेर्नेहरूले विषय पाएनन् । लतिफ अब्दुल हमिदजस्ता युद्धनायक वा अब्दुल कलामजस्तो वैज्ञानिक थिएनन् । उनी इतिहासका पाना थिए । उनको जित वा हार धर्मनिरपेक्षताको जित वा हार कसरी हुन सक्छ ? चुनावी मुद्दालाई लक्षित गर्दै र घोषणापत्र कार्यान्वयन गर्दै यहीँबाट मोदीले नयाँ राजनीतिक ढाँचा स्थापित गरे । यसैले, उत्तराखण्डदेखि ओडिसा र गारो पहाडदेखि गुजरातसम्मका विधानसभा गेरु रंग (भाजपा झन्डा) मा परिणत भएका छन् ।
पश्चिम बंगाल यसको पछिल्लो उदाहरण हो । २०२१ को विधानसभा चुनावमा भाजपाले ३८.१५ प्रतिशत मत प्राप्त गर्यो । धेरैले अनुमान गरेका थिए कि २०२६ को चुनावसम्ममा ममता बनर्जी समस्यामा पर्नेछिन् । के भाजपालाई मतदान गर्ने बहुसंख्यक हिन्दुहरू साम्प्रदायिक हुन् ? पटक्कै होइनन् । मेरा एक सहकर्मीका बुबा, जो एक सेवानिवृत्त प्राध्यापक थिए, उनले बर्दवानमा रहेको आफ्नो सम्पत्तिको एक भाग एक सानो गुन्डाले हडपेको देखे । तृणमूल कंग्रेस सत्तामा नआउन्जेल ती गुन्डा वाममोर्चाका कार्यकर्ता थिए । त्रिणमूल सत्तामा पुगेपछि उनी तृणमूलका बफादार कार्यकर्ता बने । जब वृद्ध प्राध्यापकले उनीविरुद्ध आवाज उठाए, उनले दुर्व्यवहार गरे । जब उनी प्रहरीकहाँ उजुरी गर्न गए, उनीमाथि उल्टै दुर्व्यवहार गरियो । पश्चिम बंगालमा तपाईंले ‘कट मनी’ र जग्गा हडप्नेजस्ता हजारौँ कथा पाउन सक्नुहुन्छ । यी मानिसले किन टिएमसीलाई मतदान गर्छन् ?
पश्चिम बंगाल जित्नका लागि भाजपाले आफ्ना विगतका गल्तीबाट गतिलो पाठ सिक्यो । केन्द्रीय गृहमन्त्री अमित शाहले ६६ र्याली र रोड सो गरे । प्रत्येक मतदान केन्द्रमा तयारीको समीक्षा गरे । भाजपा अभियानको सम्पूर्ण ध्यान तृणमूलको कुशासन र दुर्व्यवहारमा केन्द्रित थियो । जब भाजपा र तृणमूल दुवैले अभियानका क्रममा साम्प्रदायिक जोसलाई बढावा दिए, हामी ध्रुवीकरणका लागि एउटा पार्टीलाई दोष दिन सक्दैनौँ । आङ (बिहार), बाङ (पश्चिम बंगाल) र कलिंगा (ओडिसा) जितेपछि भाजपाको हातमा थप जिम्मेवारी आएको छ । बिहार र ओडिसा देशका १० सबैभन्दा गरिब राज्यमध्ये पर्छन् । बंगाल तुलनात्मक रूपमा राम्रो छ, तर धेरै चुनौतीको सामना गरिरहेको छ ।
अर्को वर्ष, सात महत्वपूर्ण राज्यमा चुनाव हुनेछ । पाँच राज्य– उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर, गुजरात र गोवामा भाजपाको सरकार छ । अन्य दुई, पन्जाब र हिमाचलमा पुनरुत्थान भएको भाजपाले सबैलाई नियन्त्रणमा लिनेछ । विहार, पश्चिम बंगाल र ओडिसालगायत उत्तरपूर्वी राज्यले संसद्मा १२८ सदस्य पठाउँछन् । यस क्षेत्रमा विपक्षी शासित राज्य झारखण्ड मात्र छ । यसमा १४ लोकसभा सिट छन् । यद्यपि, २०२९ को आमचुनावमा भाजपाले आफ्नो संख्या बढाउने नयाँ रणनीति तय गर्दै छ ।
हिन्दुस्तान टाइम्सबाट
(शेखर हिन्दुस्तान टाइम्सका प्रधान सम्पादक हुन्)