सिराहामा दुई अलग-अलग हत्याको घटनामा भारतीय सुटरको प्रयोग गरिएको खुलासा भएको छ। गत वर्ष सिराहा नगरपालिका– ७ स्थित बाँसघारी तथा औरही गाउँपालिका– ५, जितिया मन्दिरमा भएको गोली प्रहारमा भारतीय सार्प सुटरको प्रयोग भएको पाइएको हो।
घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले २०८२ माघ १६ मा सिराहा नगरपालिका– ७ स्थित बाँसघारीमा वडा नम्बर १ का ४२ वर्षीय प्रेमनाथ यादवलाई गोली प्रहार गरी हत्या गर्ने भारतीय सुटर रहेको स्पष्ट पारेको छ। घटनाको अनुसन्धान गरेको प्रहरीले ८० जनासँग सोधपुछ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशबहादुर पालले जानकारी दिए।
सिडिआर जाँच, सोधपुछ तथा घटना विवरण कागज, आशंका गरिएका ६ जनाको पोलिग्राफ टेस्टसमेत गरिएको डिएसपी पालले बताए। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट प्राविधिक विज्ञसहितको टोलीको सहयोग, नेपाल प्रहरी प्रदेश कार्यालयको अनुसन्धानले घटनामा संलग्नबारे पहिचान भएको डिएसपी पालले बताए। घटनामा एक भारतीय ‘सार्प सुटर’ र दुई नेपाली नागरिकको संलग्नता रहेको प्रहरीले जनाएको छ।
घटनाको मुख्य योजनाकार मृतककै छिमेकी सिराहा नगरपालिका– १ का ५२ वर्षीय उपेन्द्र यादव रहेको डिएसपी पालले बताए। घटनामा संलग्नता स्वीकार गरेका यादवले विगत ४ वर्षदेखि पारिवारिक मनमुटावका कारण हत्याको योजना बनाएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक पालले भने, ‘अभियुक्तले बदला स्वरूप भारतीय अपराधीहरूको समेत सहयोग लिएको थियो।’
हत्या गर्न ३ लाखमा सुपारी डिल गरेर एड्भान्स स्वरूप तत्काल १ लाख दिइसकेको र २ लाख अझै दिन बाँकी रहेको अनुसन्धानको क्रममा खुलेको छ। अभियुक्त उपेन्द्रलाई ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा सिराहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भैरहेको डिएसपी पालले बताए।
यसैगरी, २०८२ माघ ४ मा औरही गाउँपालिका– ५ जितिया मन्दिरभित्र पुजारी सोही ठाउँका ५५ वर्षीय श्यामसुन्दर शर्मामाथि गोली प्रहार हुँदा गम्भीर घाइते भएका थिए। मन्दिरभित्र चुकुल लगाई सुतिरहेको अवस्थामा टाउको पछाडि गोली प्रहार भई गम्भीर घाइते भएका शर्माको तीन सातासम्म विराटनगरमा उपचार गरिएको थियो।
सो घटनामा पनि भारतीय सार्प सुटरको प्रयोग गरिएको थियो। सोही ठाउँका ५५ वर्षीय हरि ठाकुरले पारिवारिक रिसइबीकै कारण भारतीय सुटरलाई ५० हजार रुपैयाँ दिएर प्रयोग गरेको अनुसन्धानबाट खुलेको डिएसपी पालले बताए। जिल्ला अदालत सिराहाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको उनले बताए।