उदयपुर/दसैँमा मिठोमसिनो खाने र बालबच्चालाई नयाँ लुगा किन्ने रहर सबैलाई हुन्छ । तर, दैनिक ज्यालामजदुरी गरेर परिवार पाल्ने उदयपुरको चौदण्डीगढीका मुसहर तथा सदा समुदायका परिवारका लागि यो रहर पूरा गर्न पनि मुस्किल पर्छ । यसपालि भने नगरपालिकाले प्रतिघर तीन हजार रुपैयाँ दसैँ खर्च दिएपछि उनीहरूको मुहारमा खुसी छाएको छ ।
चौदण्डीगढी नगरपालिका– ५ की ४९ वर्षीया बेचनी सदालाई यसपालि दसैँमा घरपरिवारका लागि मासु किन्ने पैसा जुटेको छ । घरमा श्रीमान् र आफू गरी दुईजना रहेको बताउँदै उनले भनिन्, ‘हामी दुईजनालाई मासु किन्ने पैसा पाएकी छु ।’
चौदण्डीगढी– ५ कै ३३ वर्षीया मनीषाकुमारी सदालाई भने बालबच्चाका लागि नयाँ लुगा किन्ने आशा पलाएको छ । त्रियुगा खोलाको किनारमा बस्दै आएकी उनी गिट्टी–बालुवा चालेर परिवार पाल्छिन् । ‘हामी खोलाको किनारमा बस्छौँ । गिट्टी–बालुवा चालेर परिवार पाल्छौँ । यसपालि चारवर्षे र एकवर्षे छोरालाई लुगा किन्ने पैसा पाएका छौँ,’ उनले भनिन् ।
४३ वर्षीय कैलु सदा पनि दसैँ खर्च पाएपछि खुसी छन् । ‘थोरै भए पनि मासु किन्ने पैसा पाएका छौँ । चिउरा धेरै आउँछ । घरमा तीनजनाको परिवार छ,’ उनले भने ।
चौदण्डीगढी नगरपालिकाले अति विपन्न मुसहर तथा सदा समुदायका परिवारलाई लक्षित गरी दसैँ खर्च वितरण गरेपछि मुसहर र सदा समुदायमा खुसी छाएको छ । नगरपालिकाले चालू आर्थिक वर्षबाट ‘मुसहर (सदा) समुदायलाई दसैँ खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८३’ अनुसार प्रतिपरिवार तीन हजार रुपैयाँका दरले रकम उपलब्ध गराउन लागेको हो ।
नगरपालिकाका सामाजिक शाखा प्रमुख नवराज बरालका अनुसार नगरपालिकाका १० वडामध्ये चार वडाका २२८ घरपरिवार यस कार्यक्रमबाट लाभान्वित हुनेछन् । वडा नम्बर २ का ६१, वडा नम्बर ५ का १००, वडा नम्बर ९ का ४४ र वडा नम्बर १० का २३ परिवारलाई दसैँ खर्च वितरण गरिनेछ । यसका लागि नगरपालिकाले ६ लाख ८४ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।