सल्यानमा माटोको उर्वराशक्ति बढाउन र व्यावसायिक कृषिलाई प्रोत्साहन गर्न माटो परीक्षण गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सल्यानको आयोजना र एकीकृत कृषि प्रयोगशाला सुर्खेतको प्राविधिक सहयोगमा माटो परीक्षण शिविर सञ्चालन तथा डिजिटल माटो नक्सा अद्यावधिक कार्यक्रम सञ्चालन गरेको हो ।
शिविरमा १३२ जना किसानको माटो परीक्षण गरिएको कार्यालयले जनाएको छ । विशेषगरी जोन क्षेत्र लागू भएका किसानलाई लक्षित गरेर शिविर आयोजना गरिएको परियोजना इकाइ प्रमुख अनिल बानियाँले जानकारी दिए। उनका अनुसार शिविरमार्फत किसानको खेतबारीबाट माटोको नमुना संकलन गरी परीक्षण गरिएको थियो । परीक्षणका क्रममा अधिकांश किसानको माटोमा अम्लीयपना देखिएको उनले जानकारी दिए ।
माटो परीक्षणपछि अम्लीयपना बढी भएका क्षेत्रमा माटो सुधारका लागि कृषि चुनलगायत आवश्यक सामग्री वितरण गरिनेछ । एकीकृत प्रयोगशालाका वरिष्ठ कृषि अधिकृत प्रयोगबहादुर शाहीले सल्यानमा किसानले रासायनिक मल बढी प्रयोग गरेका कारणले माटोको अवस्था बिग्रँदै गएको बताए। माटो परीक्षणपछि सिफारिसको आधारमा मल प्रयोग गर्न निर्देशन गर्दा पनि किसानले अटेरी गर्दा यो समस्या आएको बताए ।
उनले उत्पादन वृद्धि गर्न माटो परीक्षण आवश्यक रहेको बताए। माटो परीक्षणपछि कुन बाली लगाउँदा उपयुक्त हुन्छ भन्ने विषय किसानले सहजै थाहा पाउने उनको भनाइ छ । नेपालमा करिब ५५ प्रतिशत माटो अम्लीय रहेको उल्लेख गर्दै माटो सुधार नगरी दीर्घकालीन रूपमा उत्पादन वृद्धि सम्भव नहुने धारणा राखिएको छ । माटो परीक्षण तथा सुधार कार्यक्रमले किसानलाई सहज हुने, उत्पादन बढ्ने र माटोको गुणस्तर संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।