एकैसाथ १२ कर्मचारी ट्रेड युनियनको दर्ता खारेज, अदालत जाने तयारीमा ट्रेड युनियनहरू

बिहिबार, २४ बैशाख, २०८३
डिजिटल संस्करण

‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’अनुसार सरकारले एकैसाथ १२ वटा कर्मचारी ट्रेड युनियन खारेज गरेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार सूचना जारी गर्दै ट्रेड युनियनहरू खारेज गरेको हो । विभागले श्रम ऐनअन्तर्गत दर्ता भएका ट्रेड युनियनहरू मूल ऐनको व्यवस्था खारेज भएको जनाएको छ । विभागको पञ्जिकाधिकारीको निर्णयबाट ट्रेड युनियनको दर्ता खारेज गरिएको छ ।

दर्ता खारेज भएका ट्रेड युनियनमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनलगायत छन् । यी ट्रेड युनियनहरू क्रमशः एमाले, कांग्रेस र साबिक माओवादीनिकटका हुन् । त्यस्तै, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालको पनि दर्ता खारेज भएको छ ।

त्यस्तै, नेपाल स्वास्थ्य सेवा ऐनबमोजिम दर्ता राष्ट्रियस्तरका अरू चार ट्रेड युनियनको पनि दर्ता खारेज गरिएको छ । ती ट्रेड युनियनमा नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन छन् ।

अध्यादेशमार्फत ऐनको व्यवस्था संशोधन गरेर सरकारले अस्तित्व समाप्त पारिदिएपछि ट्रेड युनियनहरू कानुनी लडाइँमा जाने गृहकार्यमा छन् । नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहालले अध्यादेशको व्यवस्थाविरुद्ध अदालत जाने तयारी भइरहेको बताइन् । ‘यस विषयमा कानुनी परामर्शमा छौँ । कानुनविद्हरूसँग छलफल गर्ने र कागजात जुटाउने काम भइरहेको छ । अध्यादेशको व्यवस्था संविधानसँग बाझिएको छ,’ उनले भनिन् । सोमबार मात्रै राष्ट्रियस्तरका ६ वटा ट्रेड युनियनले संयुक्त विज्ञप्ति जारी गर्दै अधिकार पुनर्स्थापितका लागि कानुनी लडाइँ लड्ने तथा सरकारको कदमविरुद्ध चरणबद्ध आन्दोलनमा जाने बताइसकेका छन् ।

कार्यालय बन्द गर्न र आबद्धलाई सुविधा फिर्तासहित काममा फर्किन सरकारको निर्देशन 
सरकारले ट्रेड युनियनका कार्यालय बन्द गर्न र आबद्ध कर्मचारीलाई सुविधा फिर्तासहित काममा फर्किन निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार मन्त्रालय, विभाग, आयोग, सचिवालय र निकायहरूसमेत सबै सरकारी कार्यालयलाई एकमुस्ट पत्राचार गर्दै ट्रेड युनियनको नाममा गतिविधि रोक्न र काममा फर्किन निर्देशन दिएको हो । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निर्देशनसहित पत्राचार गरेको छ ।

सबै मन्त्रालय र अधिकांश केन्द्रीय निकाय–संस्थानमा ट्रेड युनियनपिच्छेका विभागीय संरचना र समिति छन् । सबै निकायलाई एकमुस्ट सम्बोधन गर्दै मन्त्रालयले विभागीय तथा अन्य समितिका कार्यालय बन्द गर्न भनेको हो । साथै सवारीसाधनलगायत अन्य सेवा सुविधा फिर्ता गर्न भनिएको छ । मन्त्रालयले ट्रेड युनियनका विभिन्नस्तरका समितिमा आबद्ध कर्मचारीलाई काममा लगाउन भनिएको छ ।

वर्षौँदेखि शुल्क नबुझाई प्रयोग गरिएका सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन
सरकारलाई शुल्क नबुझाई वर्षौँदेखि प्रयोग गरिएका सरकारी जग्गा र संरचना खाली गर्न सरकारले निर्देशन दिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण कगरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई बुधबार निर्देशन दिएको हो ।

२१ जेठ ०७३ र २१ वैशाख ०७४ मा तत्कालीन भूमिसुधार तथा व्यवस्थापन विभागले सूचना प्रकाशित गर्दै साबिकमा भोगाधिकार प्राप्त गर्ने व्यक्ति, संस्था वा निकायलाई उक्त जग्गा लिजमा परिणत गर्न ६ महिनाको समय दिइएको थियो । तर, तोकिएको म्यादभित्र लिजमा परिणत गर्न निवेदन नदिएका व्यक्ति, संस्था तथा निकायहरूको हकमा भोगाधिकार कानुनतः स्वतः समाप्त भइसकेको मन्त्रालयले जनाएको छ । सम्झौताअनुसार तिर्न बाँकी रकम बुझाउन र जग्गा तथा त्यसमा निर्माण संरचना खाली गर्न सूचनमा भनिएको छ ।

सुझावित समाचार