- एमके स्टालिनले आफ्नो करिअरमा दोस्रोपटक सत्ता मात्र गुमाएका छैनन्, आफ्नो निर्वाचन क्षेत्रमा नमिठो पराजय पनि चाखेका छन्
विजय थलपति र उनको तमिलगा भेत्री कजगम (टिभिके) पार्टी निर्णायक रूपमा आधा बाटोनजिक पुगेका छन् । मुख्यमन्त्री एमके स्टालिन आफ्नो कोलाथुर निर्वाचन क्षेत्रमा टिभिकेका उम्मेदवार एएस बाबुसँग पराजित भए । यद्यपि, उनका छोरा तथा उपमुख्यमन्त्री उदयनिधिले भने आफ्नो चेपौक क्षेत्रमा जित हात पारे । सोमबार सम्पन्न निर्वाचन नतिजाको पहिलो ठुलो निष्कर्ष यो हो कि विजय (थलपति) लहरले जातीय, धार्मिक र क्षेत्रका आधारमा हुने विभाजनलाई चुनौती दियो । तमिलनाडु र समग्र भारतीय युवाका लागि यो सुखद क्षण हो ।
अर्को ठुलो पक्ष के हो भने विजयको टिभिकेले मतदातासँग भोट माग्न वा आफ्ना र्यालीमा भेला गर्न कुनै घुस दिनुपरेको थिएन । यो तमिलनाडुमा एक उत्साहजनक परिवर्तन हो, जहाँ पैसाले चुनाव जितिन्छ भन्ने विषय एक खुला रहस्य हो । विजयको आधार स्वाभाविक थियो, उनका प्रशंसकले उनलाई हृदयैदेखि समर्थन गरे । उनको अभियान मौन थियो, किनकि विधानसभा निर्वाचन करुर भागदौड (दंगा) पछि सम्पन्न भएको थियो र उनका उम्मेदवारले सीमित स्रोतसाधनका साथ चुनावमा प्रतिस्पर्धा गरे । तैपनि, उनीहरूले जिते । यो तमिलनाडुको राजनीतिमा एक महत्वपूर्ण उदाहरण हो ।
४० देखि ४५ वर्षबिचका जनसंख्याबाट समर्थन पाए पनि उनले प्रमाणित गरेका छन् कि उनको आकर्षण कुनै पनि जाति, धर्म र लिंगका दृष्टिले हुने विभाजनभन्दा बाहिर छ । सहरी र ग्रामीणवासीबिचको खाडल पनि धेरै हदसम्म पुरिएको थियो । उनको पार्टीले चेन्नईमा परम्परागत राजनीतिक दललाई त बढारिदियो नै ग्रामीण भित्री भागमा पनि उत्साहजनक जित हासिल गर्यो । विजयका लागि धेरै कुरा उनी प्रतिकूल थिए । करुर भागदौडपछि उनी राज्य सरकारको निसानामा परे, उनको फिल्म जन नायगनलाई अझै पनि सेन्सर बोर्डले अनुमोदन गरेको छैन र उनको सम्बन्धविच्छेद सार्वजनिक तमासा र क्रूर सामाजिक सञ्जाल अभियानका लागि चारा बन्यो । निर्वाचन अभियानमा यो सबै कुरा मानिसले देखे । तर, यी सबै कुराको हिसाबकिताब मतदाताले मतदान केन्द्रमा गरे । यो तमिलनाडुको राजनीतिमा एउटा ठुलो र आलोचनात्मक परिवर्तन हो ।
एउटा अनौठो पुनरावृत्ति
पराजित स्टालिनका लागि यो नतिजाले उनका बुबा एम करुणानिधिको पराजयको सम्झना गराउँछ । उनलाई १९७७ मा एमजिआरले पदच्युत गरेका थिए र १९८९ मा एमजिआरको निधन नहुँदासम्म सत्ताबाट वञ्चित थिए । त्यसपछि उनलाई जयललिताले सन् १९९१, २००१ र २०११ मा पराजित गरिन् । यद्यपि, करुणानिधिले कहिल्यै विधानसभा सिट हारेनन् । आज यसविपरीत स्टालिनले आफ्नो करिअरमा दोस्रोपटक सत्ता मात्र गुमाएका छैनन्, आफ्नो निर्वाचन क्षेत्रमा पनि नमिठो पराजय चाखेका छन् ।
यहाँ अर्को एउटा सन्दर्भ पनि जोडौँ । सन् २०११ मा डिएमकेले अर्को पार्टी डिएमडिकेसँग पराजित हुँदा प्रमुख विपक्षी दल बन्ने हैसियत गुमाएको थियो । यसपटक यसले आफूलाई यस्तो पराजयबाट बचाएको भए पनि आजको नतिजा ६ दशकदेखि तमिलनाडुको राजनीतिलाई परिभाषित गर्ने पार्टीका लागि आश्चर्यजनक अपमान हो । एक तरिकाले यो परिणाम स्पष्ट रूपमा स्टालिनविरुद्धको जनादेश हो । वंश र पारिवारिक राजनीति उनका बुबा एम करुणानिधिको सबैभन्दा ठुलो कमजोरी थियो । आज, यो कमजोरी एमके स्टालिनका लागि ठुलो धक्का हो ।
डिएमकेले आफूलाई पुनर्जीवित गर्नका लागि यसले पारिवारिक छाया त्यागेर आफ्नो जरामा फर्कनु आवश्यक छ । यसको विचारधारा र उद्देश्य नातावाद र भ्रष्टाचारमा हराएको छ । स्टालिन परिवार र डिएमकेले सम्झनुपर्ने एउटा पाठ यही हो । स्टालिन अब सदनमा नभएको अवस्थामा राज्यसभामा कसले नेतृत्व गर्ने भन्ने कुरा पनि पार्टीले निर्णय गर्नुपर्नेछ । यसका लागि उदयनिधिको उत्तराधिकारमा कुनै चुनौती छ कि छैन भनेर नजिकबाट हेरिनेछ ।
अन्त्यमा, सबैभन्दा ठुलो प्रश्न भनेको मुख्यमन्त्रीका रूपमा विजयले केकस्ता योजना ल्याउँछन् भन्ने हो । चुनाव जित्नु एउटा कथा हो, मुख्यमन्त्री बन्ने अर्को विषय । के उनी लगभग ६ दशकदेखि एआइएडिएमके–डिएमकेले परिभाषित गरेको राज्यमा कर्मचारीतन्त्र र प्रहरी बलसँग ‘डिल’ गर्न सक्छन् ? अवश्य पनि उनलाई समर्थन गर्ने बलिया र अनुभवी नेता छन् । तर, उनीहरूले कस्तो भूमिका खेल्नेछन् र उनीहरूले उनका लागि अगाडिको बाटो कसरी बनाउनेछन् भन्ने कुरा हेर्न भने बाँकी नै छ ।
(भारतीय समाचार संस्था एनडिटिभीबाट)
(विरराघवा एनडिटिभीका कार्यकारी सम्पादक तथा स्तम्भकार हुन्)