- कंग्रेसभित्रको कमजोरी र पार्टीभित्रको क्षतिले भाजपाको विजयलाई सहयोग पुर्यायो
भारतीय जनता पार्टी (भाजपा) ले असममा लगातार तेस्रोपटक सरकार बनाउने संकेत मात्र होइन, राज्यमा आफ्नो उत्कृष्ट चुनावी प्रदर्शन पनि गरेको छ । पार्टीले असमको कुल १२६ सिटमध्ये ८२ सिट जितेको छ । यसको विपरीत २०२१ को विधानसभा चुनावदेखि कंग्रेसको उपस्थिति नाटकीय रूपमा घटेको छ, जतिवेला उसले २९ सिट जितेको थियो । राज्यका लगभग सबै क्षेत्रमा पार्टी ध्वस्त छ । पार्टीको १९ मध्ये एकबाहेक सबै सिट मुस्लिम मतदाताको उल्लेखनीय संख्या भएका क्षेत्रबाट आएका छन् ।
हिन्दु मतको विशाल एकीकरण
भाजपाको भारी विजयको प्रमुख कारण हिन्दु मतको विशाल एकीकरणजस्तो देखिन्छ । ‘हिन्दुहरूको रक्षकको रूपमा भाजपाको आत्म–प्रक्षेपण र हिन्दु तथा असामी पहिचानको संयोजनले पार्टीलाई मत एकीकृत गर्न सहयोग गर्यो,’ डिब्रुगढ विश्वविद्यालयमा अध्यापन गर्ने राजनीतिक वैज्ञानिक कौस्तुभ डेकालेले भने । भाजपा पहिलोपटक २०१६ मा असममा जातीय, माटी र भेती (समुदाय, भूमि र चुलो) को रक्षा गर्ने वाचाका साथ सत्तामा पुगेको थियो । तर, दोस्रो कार्यकालमा त्यो वाचा आक्रामक साम्प्रदायिक राजनीतिमा परिणत भयो (विशेषगरी मुख्यमन्त्री हिमन्त विश्व शर्माबाट) ।
विगत पाँच वर्षमा मुख्यमन्त्री शर्माले असमेली जनताको दशकौँ पुरानो चिन्तालाई हतियार बनाएका छन् कि राज्य बाहिरी व्यक्तिले कब्जा गरिरहेको छ र यस विषयलाई मुस्लिमको हिन्दुत्व शंकामा जोडेका छन् । शर्माले राज्यमा बंगाल मूलका मुस्लिम समुदायविरुद्ध एक उग्र अभियानको नेतृत्व गरे, उनीहरूलाई ‘बंगलादेशबाट आएका अवैध आप्रवासी’ भएको आरोप लगाए । उनले बारम्बार कंग्रेसलाई मुस्लिमहरूका लागि मात्र काम गर्ने पार्टीको रूपमा प्रस्तुत गरे र कंग्रेस नेता गौरव गोगोईलाई ‘पाकिस्तानी एजेन्ट’ भएको आरोप लगाए ।
उत्तरी असमका हिन्दुबहुल क्षेत्रहरू, जातीय समूहको प्रभुत्व रहेको माथिल्लो असम र छैटौँ अनुसूची–प्रशासित क्षेत्रहरू, जस्तै– बोडोल्यान्ड, कार्बी र दिमासा हिल्समा कंग्रेसको निराशाजनक प्रदर्शनलाई मनन गर्दा भाजपाले लगाएको आरोपले काम गरेको देखिन्छ । कंग्रेसले जितेका २१ सिटमध्ये १८ मुस्लिमबहुल क्षेत्र पर्छन् । कांग्रेसले हिन्दु मतदाताबहुल भएको एउटा मात्र क्षेत्र (माथिल्लो असमको नौबोइचा) मा जितेको छ । यहाँ पनि मुस्लिम मतदाताको उल्लेखनीय संख्या छ । २०२१ मा भारतको पुरानो राजनीतिक दल कंग्रेसले २९ सिट जितेको थियो र १६ जना विधायक हिन्दु थिए । राजनीतिक वैज्ञानिक डेकाले भन्छन््, ‘ध्रुवीकरणका लागि अगाडि बढाएको भाजपाको कट्टरपन्थी हिन्दु दृष्टिकोणले जनसांख्यिकीय लाभांश पाएको छ ।’
कल्याणकारी योजना र पूर्वाधार
भाजपा सरकारको नगद लाभको ठुलो सञ्जाल (महिलाका लागि प्रमुख ओरुनोदोई योजनादेखि विद्यार्थी र स्नातकका लागि आर्थिक सहयोगसम्म) मतदातामाझ प्रतिध्वनित भयो । ‘यसका लागि भाजपाको ‘विकासात्मक’ मोडेल विभिन्न तरिकाले काम गरेको छ,’ डेकालेले भने, ‘बृहत् स्तरमा, मानिसको एक हिस्साले पार्टीले कनेक्टिभिटी र आवश्यक पूर्वाधार निर्माणको सन्दर्भमा डेलिभर गरेको महसुस गर्छ । थप सूक्ष्मस्तरमा असमका मानिसले विभिन्न कल्याणकारी योजना महत्वपूर्ण छन् र उनीहरूले ती योजना गुमाउन सक्दैनन् भन्ने महसुस गर्छन् ।’
हिमन्तका लागि भोट
मुख्यमन्त्री हिमन्त शर्माको लोकप्रियता राज्यमा अक्षुण्ण थियो । उनको लोकप्रियता प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियतासँग पनि मेल खान्छ । सोमबारको चुनावी नतिजाले त्यसलाई प्रमाणित गर्यो । ‘हिमन्त विश्व शर्मा पार्टी स्रोत प्रयोग गरेर आफ्नो एकल छवि निर्माण गर्न र बृहत् अखिल भारतीय भाजपा परिदृश्यमा आफ्नो स्थान बनाउन सक्षम देखिन्छन्,’ राज्यका राजनीतिक पर्यवेक्षक र अनुसन्धानकर्ता अंगसुमान चौधरीले भने । गत वर्ष सिंगापुरमा लोकप्रिय गायिका जुवीन गर्गको मृत्युपछि भएको हंगामाले उनको लोकप्रियतालाई केही हदसम्म कमजोर बनाएको थियो, तर शर्माले चुनौती पार गर्न सक्षम थिए ।
पूर्वकांग्रेसी शर्माको ‘असम कांग्रेसबाट पक्ष परिवर्तन गराउने क्षमताले पनि उनलाई महत्वपूर्ण फाइदा पुर्याउँछ,’ पर्यवेक्षक चौधरीले भने, ‘उनको निर्लज्ज साम्प्रदायिक बयानबाजी धेरै हिसाबले मोदीको भन्दा पनि बलियो र स्पष्ट छ । यसले असममा मात्र नभई राज्यबाहिरका कट्टर भाजपा समर्थकलाई पनि आकर्षित गर्छ ।’ डिब्रुगढ विश्वविद्यालयका राजनीतिक वैज्ञानिक डेकालेको विश्लेषणमा शर्माले ‘डबल–इन्जिन’ सरकारको अभियानबाट पनि फाइदा उठाए, किनकि केन्द्र र राज्य सरकारको ‘समन्वयपूर्ण काम’ उत्तरपूर्वी भारतको ऐतिहासिक वास्तविकता हो । ‘यी गतिशीलतावरपर अभियान चलाउनु राम्रो भयो,’ उनले भने ।
सीमांकनका फाइदा भाजपालाई
असमले देशको सबैभन्दा विवादास्पद सीमांकन अभ्यासमध्ये एउटा अभ्यास देखेको छ, जसले राज्यमा मुस्लिम प्रतिनिधित्वलाई प्रभावकारी रूपमा कमजोर बनाएको छ । सोमबारको नतिजाले देखाउँछ कि सीमांकनले ‘मुस्लिम मत’ क्षेत्रगत रूपमा प्रभावकारिता घटाएर भाजपा र यसका सहयोगीको संख्या बढाउन मद्दत गरेको देखिन्छ । २०२१ मा असमका मतदाताले ३१ मुस्लिम विधायकलाई विधानसभामा पठाएका थिए । यसपटक २२ जना मात्र छन् ।
तल्लो असममा मुस्लिमबहुल क्षेत्रमा हिन्दु मतदातालाई बहुमत समूहमा एकीकृत गर्न सीमा पुनः कोरिएको थियो । उदाहरणका लागि यी धेरै नयाँ सिटमा, बारपेटा, अभयपुरी, गोलपारा पश्चिम, हैलाकांडीमा भाजपा र यसका सहयोगीको दबदबा देखियो । दक्षिणी असममा कंग्रेसले १३ सिटमध्ये चार जितेको छ । २०२१ मा सीमांकनअघि कंग्रेस र एआइयुडिएफ गठबन्धनले १५ मध्ये नौ सिट जितेको थियो । यस क्षेत्रका दुई मुस्लिमबहुल सिट खारेज गरिएका थिए ।
कलहमा फसेको विपक्षी
अन्ततः राज्यको ठुलो भागमा कंग्रेसभित्रको कमजोरी र पार्टीभित्रको क्षतिले भाजपाको विजयलाई सहयोग पुर्याएको छ । २०२१ को विधानसभा चुनावमा पार्टीले अल इन्डिया युनाइटेड डेमोक्रेटिक फ्रन्ट र बोडो पिपुल्स फ्रन्टसँग बलियो गठबन्धन बनाएको थियो, तर यसपटक पार्टीले गठबन्धनलाई मैदानबाट हटाउन संघर्ष गर्यो । रायजोर दल र असम जातीय परिषद्सँगको यसको अन्तिम समयको सम्झौताले कुनै फाइदा दिएन ।
पार्टीसँग भाजपाको हिन्दुत्व र असमिया राष्ट्रवाद र कल्याणकारी लाभको मिश्रणलाई लिनका लागि स्पष्टता थिएन । दुई प्रमुख नेता भूपेन बोरा र प्रद्योट बोर्डोलोईको अचानक बहिर्गमन र पार्टीभित्रको आन्तरिक कलहले कंग्रेसको हारलाई सहज बनायो । ‘हामीले हाम्रो घर व्यवस्थित गर्न ध्यान दिएनौँ,’ एक कंग्रेस नेताले भने ।
स्क्रोल डट इनबाट
(जमान द स्क्रोल डट इनका स्तम्भकार हुन्)