ट्रेड युनियनका कार्यालय बन्द गर्न र आबद्धहरूलाई सुविधा फिर्तासहित काममा फर्किन सरकारको निर्देशन

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण

ट्रेड युनियनका कार्यालय बन्द गर्न र आबद्ध कर्मचारीहरूलाई सुविधा फिर्तासहित काममा फर्किन सरकारले निर्देशन दिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार मन्त्रालय, विभाग, आयोग, सचिवालय र निकायहरूसमेत सबै सरकारी कार्यालयहरूलाई एकमुस्ट पत्राचार गर्दै ट्रेड युनियनको नाममा गतिविधि रोक्न र काममा फर्किन निर्देशन दिएको हो।

अध्यादेशमार्फत ट्रेड युनियनहरू खारेज गरिएपछि सरकारले त्यसको आधारमा थप कदम अघि बढाएको हो। मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निर्देशनसहित पत्राचार गरेको छ।

सबै मन्त्रालयहरू र अधिकांश केन्द्रीय निकाय, संस्थानहरूमा ट्रेड युनियनपिच्छेका विभागीय संरचना र समिति छन्। ती सबैलाई बन्द गर्न मन्त्रालयले भनेको छ। सबै निकायहरूलाई एकमुस्ट सम्बोधन गर्दै मन्त्रालयले गरेको पत्राचारमा ‘कार्यालय र अन्तर्गतका निकायहरूमा रहेका निजामती कर्मचारीसँग सम्बन्धित ट्रेड युनियन (आधिकारिक ट्रेड युनियनसमेत)का विभागीय तथा अन्य समितिका कार्यालय बन्द गर्न’ भनिएको छ।

विभागीय तथा अन्य समिति र त्यसमा आबद्ध रहेका कर्मचारीहरूले ट्रेड युनियन प्रयोजनका लागि कार्यालय भवन, कार्यकक्ष, सवारीसाधनलगायतका अन्य सेवासुविधा तथा सरकारी सम्पत्ति उपयोग गरेको भए सम्बन्धित कार्यालयलाई फिर्ता लिनसमेत भनिएको छ। ट्रेड युनियनका विभिन्नस्तरका समितिमा आबद्ध भएका कर्मचारीहरूलाई तोकिएको दरबन्दीअनुसारको कार्य जिम्मेवारीमा खटाउने व्यवस्था मिलाउनसमेत मन्त्रालयले निर्देशन दिएको छ।

सुझावित समाचार