पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई खुला गर्छौँ : अर्थमन्त्री

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सडक, पुल, सुरुङमार्गजस्ता पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई खुला गर्ने घोषणा गरेका छन् । सोमबारदेखि काठमाडौंमा सुरु भएको नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई विकासको साझेदार बनाउने बताएका हुन् ।

सरकारले पुँजीगत खर्च गरेर मात्रै अब विकासमा कायापलट नहुने भन्दै उनले त्यसका लागि पनि पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको उनले बताए । ‘२० खर्बको बजेट ल्याउँदा पनि अनिवार्य दायित्व १४ खर्ब छ,’ उनले भने, ‘पुँजीगततर्फ चार खर्ब बजेट छुट्याइन्छ ।

तर, दुई खर्ब पनि खर्च हुँदैन । अहिले सरकारले पुँजीगत खर्च गरेर कायापलट हुने अवस्था छैन । तसर्थ, अब पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई भित्र्याउँछौँ ।’ सकारले एक रुपैयाँ खर्च गर्दा निजी क्षेत्रले सात रुपैयाँ लगानी गर्ने गरी वातावरण बनाउनुपर्ने पनि उनको भनाइ छ ।

यस्तै, महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई सुधारको प्रस्थान विन्दुका रूपमा ल्याउनुपर्ने बताए । अब आर्थिक सुधारको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने उनको भनाइ छ ।  कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रलाई सरकारले सहकार्यकर्ता मान्नुपर्ने बताए । सोहीअनुसार आफूले काम गर्ने उनको भनाइ छ । 

आज महासंघको निर्वाचन

महासंघको यो साधारणसभाले नयाँ कार्यसमितिसमेत छनोट गर्नेछ । साधारणसभाबाट हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष हुँदै छन् । अन्य पदाधिकारी तथा सदस्य पदका लागि भने मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा चुनाव हुँदै छ । चुनावमा स्पष्ट प्यानलसहित दुई पक्ष प्रतिस्पर्धामा उत्रिएका छन् । महासंघको निर्वाचनमा ७३ पदका लागि एक सय ३७ उम्मेदवार उत्रिएका छन् । वरिष्ठ उपाध्यक्षका आकांक्षीद्वय हेमराज ढकाल र सुरकृष्ण वैद्य प्यानलसहित चुनावमा होमिएका छन् । ढकाल प्यानललाई वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र वैद्य प्यानललाई आगामी अध्यक्ष अन्जन श्रेष्ठको समर्थन रहेको देखिन्छ । 

सुझावित समाचार