भारतका चारवटा राज्य र केन्द्र शासित प्रदेश पुडुचेरीमा अप्रिलमा सम्पन्न निर्वाचनको मतपरिणामसँगै धेरैको ध्यान अहिले तमिलनाडुमा केन्द्रित छ । सबैभन्दा रोचक नतिजा यस राज्यमा देखिएको छ, जहाँ अभिनय हुँदै राजनीतिमा प्रवेश गरेका विजय थलपति नेतृत्वको तमिलागा वेट्री कंजगम (टिभिके) पार्टी २३४ सदस्यीय विधानसभा निर्वाचनमा १०८ सिटमा अगाडि छ । दुई वर्षअघि मात्र स्थापना गरेको पार्टीले सत्तारुढ डिएमके र प्रमुख विपक्षी एडिएमकेलाई चुनौती दिएको छ । निर्वाचनमा मुख्यमन्त्री एमके स्टालिन नै पराजित भएका छन् । स्टालिनलाई टिभिकेका उम्मेदवार बिएस बाबुले पराजित गरेका हुन् । स्टालिन सन् २०११ देखि लगातार कोलाथुर निर्वाचन क्षेत्रबाट विजयी हुँदै आएका थिए र यसपटक पनि उनले सहजै जित्ने अनुमान गरिएको थियो । पार्टीको विजयसँगै थलपति मुख्यमन्त्री बन्ने निश्चितजस्तै बनेको छ ।
को हुन् विजय थलपति ?
५१ वर्षीय विजयको पूरा नाम चन्द्रशेखर जोसेफ विजय हो । उनलाई प्रशंसकलेविजय थलपति भन्छन् । तमिल भाषामा थलपतिको अर्थ कमान्डर वा नेता हो । निर्वाचन अभियानमा टिभिकेले ‘विजय आउनेछन्’ भन्ने नारा चर्चामा थियो । पार्टीको नारालाई पुराना दलले सामान्य ठाने । तर, नतिजा अप्रत्यासित आयो ।७० भन्दा धेरै चलचित्र खेलेका थलपतिले सन् २०२४ मा सक्रिय राजनीतिमा आउने घोषणा गरेका थिए। उनले गत वर्ष २७ डिसेम्बरमा फिल्म क्षेत्रबाट सन्न्यास लिएको घोषणा गरेका थिए ।
थलपति सन् १९७७ मा राज्यको राजनीतिलाई पुनः परिभाषित गर्ने एम.जी. रामचन्द्रनपछि तमिलनाडुमा अभिनेताबाट मुख्यमन्त्री बन्ने लाइनमा छन् । उनको जन्म १९७४ मा चेन्नईमा जोसेफ विजय चन्द्रशेखरको रूपमा भएको थियो । विजयका बाबु एसए चन्द्रशेखर फिल्म निर्देशक र आमा साहित्री शोभा गायिका हुन् । उनले १९८४ मा आफ्नै बाबुको निर्देशनमा बनेको फिल्म ‘भेत्री’बाट बालकलाकारका रूपमा सिनेमा यात्रा थालेका थिए ।
संघर्षका ती दिन
विजयले बालकलाकारको रूपमा आफ्नो करिअर सुरु गरे, तर तुरुन्तै सफलता पाएनन् । उनका सुरुवाती चलचित्रहरू आलोचित बने । एउटा गहिरो व्यक्तिगत त्रासदीले पनि उनलाई केही झट्का दियो । विजयले दुई वर्षको उमेरमा आफ्नी कान्छी बहिनी विद्यालाई गुमाए । यसको असर उनको जीवनमा लामो समयसम्म परेको बताइन्छ । उनी आफ्नो प्रारम्भिक वर्षहरूमा बढी संयमित बने ।
घिल्लीजस्ता चलचित्रहरूबाट उनको करिअरमा एउटा मोड आयो । सन् १९९० र २००० को दशकको अन्त्यतिर, उनले लभ टुडे, कुशी र थुल्लाथा मनमुम थुल्लमजस्ता धेरै हिट चलचित्र दिए । समयसँगै, विजय एक रोमान्टिक नायकबाट एक स्टारडममा रूपान्तरित भए । उनका चलचित्रहरूले सामाजिक विषयवस्तुहरूलाई बढ्दो रूपमा प्रतिबिम्बित गरे । आममानिसको पक्षमा बोल्ने व्यक्तिको रूपमा उनको पर्दामा रहेको छविले दर्शकहरूसँग बलियो सम्बन्ध निर्माण गर्न मद्दत गर्यो ।
सिनेमादेखि राजनीतिसम्म
फेब्रुअरी २०२४ मा विजयले तमिलगा बेट्री कजगम (टिभिके) सुरु गरेर औपचारिक रूपमा राजनीतिमा प्रवेश गरे । यद्यपि, उनको राजनीतिक जग वर्षौँदेखि फ्यान क्लब, कल्याणकारी पहल, रक्तदान अभियान र राहत कार्यमार्फत खडा गरिएको थियो । उनले फिल्मबाट अलग भएर राजनीतिमा पूर्ण रूपमा ध्यान केन्द्रित गरेर निर्णायक कदम चाले । राजनीतिमा आगमनसँगै उनको लगभग तीन दशक लामो फिल्मी करिअर समाप्त भएको थियो । टिभिकेले बिस्तारै जिल्ला समितिहरू, निर्वाचन क्षेत्र एकाइहरू र बुथस्तरीय सञ्जालहरूसहित संगठनात्मक आकार लियो । पार्टीको सन्देश शिक्षा, रोजगारी, भ्रष्टाचारविरोधी शासनजस्ता मुद्दाहरूमा केन्द्रित छ ।
पृथक् निर्वाचन शैली
थलपतिले अप्रिलमा सम्पन्न निर्वाचन अभियानमा अनौठो शैली अपनाएका थिए । त्यसो त उनलाई चुनावमा गठबन्धन गर्नेदेखि मुख्यमन्त्रीसम्मको प्रस्ताव आएको थियो । तर, उनले ती सबै प्रस्ताव अस्वीकार गरे । निर्वाचन अभियानमा उनले पुराना राजनीतिक दल र प्रवृत्तिको अन्त्य गर्ने भन्दै सिठी अभियान चलाएका थिए ।
विजयले आफ्नो पार्टी टिभिकेको घोषणामा भाजपालाई ‘वैचारिक शत्रु’ र डिएमकेलाई ‘राजनीतिक शत्रु’ करार गरेका छन् । डिएमके र एआइएडिएमकेले जेन–जी पुस्ताको भावनालाई प्रतिनिधित्व गर्न नसक्ने उनको दाबी थियो । निर्वाचनमा पार्टीले युवा, महिला र मछुवा समुदायका मुद्दा उठाएका थियो ।
बनर्जीलाई धक्का, मोदीको सपना पूरा
मतगणनामा पश्चिम बंगालमा भाजपाले ऐतिहासिक विजय हासिल गरेको छ । भाजपाले ममता बनर्जी नेतृत्वको त्रिणमूल कंग्रेसको ‘शक्तिशाली आधार’लाई भत्काएर पश्चिम बंगालमा पहिलोपटक सरकार गठनको तयारी गरेको छ । पश्चिम वंगालको निर्वाचमा सन् २०११ देखि लगातार मुख्यमन्त्री बनेकी ममता बनर्जी नै पराजित भएकी छिन् । त्यस्तै, असाम राज्यमा भारतीय जनता पार्टी (भाजपा), पुडुचेरी प्रदेशमा भाजपा सम्मिलित एनडिए गठबन्धन र केरला राज्यमा कंग्रेस नेतृत्वको युडिएफ गठबन्धन विजयउन्मुख छन् ।
कुल २९४ सिट रहेको पश्चिम बंगालमा भाजपा २०५ सिटमा अगाडि छ भने त्रिणमूल कंग्रेसले ८२ सिटमा अग्रता कायम गरेको छ । सरकार गठनका लागि सामान्य बहुमत जुटाउन १४८ सिट आवश्यक पर्छ । यसअघिको विधानसभा निर्वाचनमा त्यहाँ भाजपाले ७७ र त्रिणमूल कंग्रेसले २१४ सिट ल्याएका थिए । त्यस्तै, यसअघि निल रहेको भारतीय कंग्रेस भने अहिले दुई सिटमा अगाडि छ ।
पश्चिम बंगालमा विजय भाजपाको वर्षौंदेखिको सपना थियो । यस राज्यमा भाजपाको विजय प्रधानमन्त्री नरेन्द्र मोदीको १२ वर्षे शासनकालको सबैभन्दा महत्वपूर्ण सफलतामध्ये एक हो । ‘पश्चिम बंगाल जित्नु भाजपाका लागि ठुलो विजय हो । यो आशाको भूमि हो, जुन लामो समयदेखि आफ्नो पकडबाट बाहिर थियो’ लेखक तथा पत्रकार निलान्जन मुखोपाध्यायको भनाइ उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ । विश्लेषकहरूले यो परिणामलाई अचानक भएको उथलपुथलको रूपमा नभई दशक लामो राजनीतिक परियोजनाको परिणामको रूपमा हेरेका छन् । हारपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले निर्वाचन आयोग र सरकार मिलेर निर्वाचनमा धाँधली गरेको आरोप लगाएकी छिन् ।
केरलामा कंग्रेसको अपेक्षाभन्दा बढी सिट
केरलामा कंग्रेस नेतृत्वको गठबन्धनले अपेक्षाभन्दा बढी जित हासिल गरेको छ । केरलामा, कंग्रेस नेतृत्वको संयुक्त लोकतान्त्रिक मोर्चा (युडिएफ) ले लगातार दुई कार्यकालपछि वाम लोकतान्त्रिक मोर्चा (एलडिएफ) लाई पराजित गर्यो । योसँगै भारतमा कम्युनिस्ट नेतृत्वको अन्तिम राज्य सरकारको पनि पतन भएको छ ।
निर्वाचपछिका अधिकांश सर्वेक्षणले केरलामा कंग्रेस नेतृत्वको संयुक्त लोकतान्त्रिक मोर्चा (युडिएफ) को जित हुने भविष्यवाणी गरेका थिए, तर गठबन्धनले अपेक्षाभन्दा राम्रो परिणाम ल्यायो । युडिएफ उम्मेदवार सत्तारुढ वाम लोकतान्त्रिक मोर्चा (एलडिएफ) का धेरै गढमा विजयी भएका छन् । सत्ताविरोधी बलियो मनोभावले युडिएफको पक्षमा काम गरेको देखिन्छ । कुल १४० सिट रहेको केरलामा युडिएफ ८९ सिटमा अगाडि छ भने एलडिएफ ३५ सिटसहित दोस्रो स्थानका लागि संघर्षरत छ । अघिल्लो निर्वाचनमा शून्यमा रहेको भाजपाले तीन सिट ल्याएको छ । केरलामा सरकार गठनका लागि सामान्य बहुमत पुर्याउन ७१ सिट ल्याउनुपर्ने हुन्छ ।
असममा भाजपाको विजयी यात्रा निरन्तर
असममा भाजपाले अघिल्लो निर्वाचनमा भन्दा धेरै सिट जितेको छ भने कंग्रेसले सन् २०२१ को निर्वाचनको तुलनामा केही सिट गुमाएको छ । भाजपाले व्यापक सत्ताविरोधी लहरलाई पन्छाएर राज्यमा आफ्नो पकड कायमै राखेको हो । निर्वाचन परिणामसँगै भाजपाले लगातार तेस्रोपटक सरकार बनाउने तयारी गरिरहेको देखिन्छ । १२६ सदस्यीय विधानसभाको दुईतिहाइभन्दा बढीमा भाजपा गठबन्धन सहज रूपमा अगाडि छ ।
सरकार गठनका लागि सामान्य बहुमत पुर्याउन ६४ सिट जित्नुपर्नेमा भाजपाको सय नाघेको छ । यो नतिजाले पार्टीको अग्रणी राष्ट्रिय नेताहरूमा मुख्यमन्त्री हिमन्त विश्व शर्माको स्थान बलियो बनाउने सम्भावना छ । निर्वाचनको समयमा शर्माले आफू विजयी भएमा पार्टीले वनजंगल क्षेत्रबाट अतिक्रमणकारीलाई हटाउने वाचा गरेका थिए । विजयसँगै उनी असमको फेरि मुख्यमन्त्री बन्दै छन् ।
(एजेन्सीको सहयोगमा)