सरकारका प्रवक्ता सस्मित पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न भू-भाग भएको विषयमा सरकारको धारणा स्पष्ट रहेको बताएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले नेपाल सरकारले सीमा विवाद समाधानका लागि कूटनीतिक पहल जारी राखेको जानकारी दिए। उनका अनुसार, परराष्ट्रमन्त्रीले यस विषयमा औपचारिक रूपमा कूटनीतिक नोट जारी गरिसकेका छन्।
प्रवक्ता पोखरेलले नेपाल आफ्नो भू-भागप्रति दृढ रहेको दोहोर्याउँदै विवाद समाधानका लागि संवाद र सहकार्य नै प्रमुख माध्यम भएको उल्लेख गरे। उनले भारत पक्षले पनि सहकार्यबाट समाधान खोज्नुपर्ने धारणा राखेको बताए।
हालै भारत र चीनबिच लिपुलेक नाका हुँदै कैलाश मानसरोवर जाने मार्ग सञ्चालनमा आएपछि नेपालमा सीमा विवादको विषय पुनः चर्किएको छ। सरकारले भने उक्त क्षेत्र नेपालको भएको अडान कायम राख्दै द्विपक्षीय तथा कूटनीतिक वार्तामार्फत समाधान खोज्ने प्रतिबद्धता जनाएको छ।