जुम्ला सदरमुकाम खलंगा बजारमा राष्ट्रिय प्रसारण (ग्रिड) पुगेको एक दशक भयो । तर, जिल्लाका अधिकांश दुर्गम गाउँमा प्रसारण लाइन छैन । तिला गाउँपालिका– ६ स्थित दुर्गम रिपी गाउँमा विद्युत्का पोल पुगेको झन्डै एक वर्ष बितिसक्दा पनि बिजुली बलेको छैन ।
पूर्वाधार पुगेको देखिए पनि विद्युत् सेवा सञ्चालन नहुँदा स्थानीय समस्यामा परेका छन् । बिजुली अभावमा स्थानीय बासिन्दा अहिले पनि झरो र टुकीको भरमा अन्धकारमै जीवन गुजारिरहेका छन् । साँझ परेपछि बाहिर निस्कनै कठिन हुने, बालबालिकालाई पठनपाठन गर्नसमेत समस्या परेको छ । नियमित टुकी र झरो प्रयोग गर्दा धुवाँका कारण स्वास्थ्यमा असर पर्ने समस्या विकराल छ ।
उज्यालो अभावमा राति अध्ययन गर्न कठिन हुने, मोबाइल तथा अन्य उपकरण चार्ज गर्न टाढा जानुपर्ने बाध्यताले सूचना र सञ्चारबाट पनि टाढा हुनुपरेको छ । स्थानीय सरकार सञ्चालन भएको आठ वर्ष र गाउँमा पोल गाडेको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि अझै रिपीवासी अन्धकारमै रात कटाउन बाध्य भएका छन् ।
बिजुली अभावमा गाउँमा साना उद्योग, कुटानी–पिसानी मिल तथा अन्य आर्थिक गतिविधि सञ्चालन हुन नसक्दा स्थानीयको आयआर्जनमा समेत असर परेको स्थानीय गोरबहादुर रावत बताउँछन् । ‘सडक पुगेको छैन । पोल पुगेको वर्ष दिनभन्दा बढी समय भइसक्दा पनि बिजुली आएन,’ उनले भने, ‘आधारभूत आवश्यकताभित्र पर्ने बिजुली विस्तार नहुँदा समस्या झेलिरहेका छौँ । एक वर्षअघि गाडीएका पोल अधिकांश ढल्ने अवस्थामा छन् । तर, बत्ती बल्ने छाँटकाँट देखिएको छैन ।’
भौगोलिक हिसाबले जिल्लाकै विकट तिला गाउँपालिकाको दुर्गम रिपी गाउँमा सडकको समेत अभाव छ । नियमित गाडी सञ्चालनमा छैनन् । जसकारण स्थानीयवासी दैनिक उपभोग्य सामान बोक्न विवश छन् । तिला गाउँपालिका– ६ का अध्यक्ष जंगबहादुर रोकायाका अनुसार आगामी दसंँसम्म गाउँमा बिजुली बल्ने गरी काम भइरहेको छ । तिलाको रारा शेरीबजार हुँदै पुरुगाउँ, जुम्लाकोट, मानेचौर सुडी रिपी गाउँमा राष्ट्रिय प्रसारण लाइनमार्फत बिजुली बल्ने उनको भनाइ छ ।