वस्तु तथा सेवा आयातको मूल्यनजिक रेमिट्यान्स आप्रवाह

आइतबार, २० बैशाख, २०८३
डिजिटल संस्करण
  • जिडिपीको तुलनामा वस्तु तथा सेवा आयात ३४.५२ प्रतिशत हुँदा रेमिट्यान्स ३३.०२ प्रतिशत, कुल आयातलाई रेमिट्यान्सले धान्दा अर्थतन्त्रको बाह्य क्षेत्र बलियो 

नेपालमा रेमिट्यान्स आप्रवाह वस्तु तथा सेवा आयातको मूल्य नजिक पुगेको छ । कुल खपतको तुलनामा निर्यात बढाउन नसके पनि रेमिट्यान्स आप्रवाहले आयात मूल्यलाई भरथेग गरेको देखिन्छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चालू आर्थिक वर्ष ०८२/८३ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को आकार ६४ खर्ब ४६ अर्ब ७८ करोड ८० लाख रुपैयाँबराबर पुग्ने अनुमान गरिएको छ । जिडिपीको तुलनामा वस्तु तथा सेवाको आयात ३४.५२ प्रतिशतबराबर र रेमिट्यान्स ३३.०२ प्रतिशतबराबर पुग्ने अनुमान गरिएको छ । अर्थात्, कुल वस्तु तथा आयातको मूल्य र रेमिट्यान्स आयको मूल्य झन्डै–झन्डै बराबर पुग्न थालेको हो ।

खपत र निर्यात कम हुँदा पनि रेमिट्यान्स उच्च हुँदा अर्थतन्त्रको बाह्य क्षेत्रसमेत बलियो देखिएको हो । यद्यपि, यो दीर्घ भने नहुने जानकार बताउँछन् । उच्च रेमिट्यान्स आप्रवाहले राष्ट्रिय खर्चयोग्य आयमा समेत भरथेग गरेको कार्यालयको तथ्यांक छ ।

पछिल्लो समय रेमिट्यान्स आय उच्च दरमा बढिरहेको देखिएको कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछाने बताउँछन् । यसले समग्र अर्थतन्त्रलाई भरथेग गरेको उनको भनाइ छ । ‘रेमिट्यान्स बढेको छ, झन्डै झन्डै आयात मूल्यबराबर नै पुग्न थालेको छ,’ उनले भने, ‘रेमिट्यान्स व्यक्ति वा संस्थाको खातामा आउने हो, सरकारलाई आउने होइन, तर त्यसले अर्थतन्त्रलाई योगदान गरेको छ, खपत र आयातमा यसले भरथेग गरेको छ ।’ रेमिट्यान्सकै कारण राष्ट्रिय खर्चयोग्य आयसमेत उच्च दरमा बढेको उनको भनाइ छ ।

वैदेशिक रोजगारीमा जाने २८.६ प्रतिशतले वृद्धि
पछिल्लो एक दशक अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या वार्षिक औसत २८.६ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष ०८१/८२ मा वैदेशिक रोजगारीमा जान पाँच लाख ६ हजारले नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति तीन लाख ३३ हजार गरी जम्मा आठ लाख ३९ हजार नेपाली कामदारले श्रम स्वीकृति लिएका छन् । चालू आर्थिक वर्षको चैत १२ सम्ममा नयाँ श्रम स्वीकृति दुई लाख ८३ हजार र पुनः श्रम स्वीकृति दुई लाख ७४ हजार गरी पाँच लाख ५७ हजार नेपाली कामदारले श्रम स्वीकृति लिएका छन् । रोजगारीका लागि बिदेसिनेको संख्या उच्च हुँदा उनीहरूले पठाउने विप्रेषणसमेत बढिरहेको छ ।

पाँच वर्षमा ६३ प्रतिशतले बढ्यो रेमिट्यान्स
पछिल्ला वर्षहरूमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को तुलनामा रेमिट्यान्स आय उच्च दरमा बढेको देखिएको छ । पाँच वर्षयता जिडिपीको तुलनामा रेमिट्यान्स आय ६३.१५ प्रतिशतले बढेको कार्यालयको तथ्यांक छ । आर्थिक वर्ष ०७८/७९ मा जिडिपीको तुलनामा रेमिट्यान्स आय २०.२४ प्रतिशत रहेको थियो । चालू आवमा भने जिडिपीको तुलनामा रेमिट्यान्स ३३.०२ प्रतिशत पुग्ने अनुमान गरिएको छ । यसबिचमा जिडिपीसँगको तुलनामा रेमिट्यान्स आय १२.७८ विन्दु प्रतिशतले बढेको देखिन्छ ।

चालू आवको आठ महिनामा विप्रेषण आप्रवाह १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँबराबर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनमा यो ३७.७ प्रतिशतले बढी हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.० प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोडबराबर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो ।

जिडिपीको तुलनामा आयात घट्दो
जिडिपीको तुलनामा आयातको आकार भने घट्दै गएको देखिन्छ । आर्थिक वर्ष ०७८/७९ मा जिडिपीको तुलनामा वस्तु तथा सेवा आयात ४२.२७ प्रतिशत रहेको थियो । चालू आवमा भने जिडिपीको तुलनामा वस्तु तथा सेवा आयात ३४.५२ प्रतिशत पुग्ने अनुमान गरिएको छ । यसबिचमा जिडिपीसँगको तुलनामा वस्तु तथा सेवा आयात ७.७५ विन्दु प्रतिशतले घटेको देखिन्छ ।

चालू आवको आठ महिनामा कुल वस्तु आयात १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँबराबर पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.५ प्रतिशतले बढी हो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.१ प्रतिशत, २१.२ प्रतिशत र २६.० प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ ।

वैदेशिक रोजगारीमाथिको निर्भरता बढ्दो 
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालै सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक स्थितिपत्रमा वैदेशिक रोजगारीमाथिको निर्भरता बढ्दो अवस्थामा रहेको उल्लेख गरेका छन् । उनले रेमिट्यान्सले अर्थतन्त्रमा अल्पकालीन राहत दिए पनि दीर्घकालमा भने जोखिम निम्त्याउने विश्लेषण गरेका छन् । ‘मुलुकभित्र मर्यादित रोजगारीका अवसर सिर्जना नहुँदा वैदेशिक रोजगारीमा निर्भरता बढेको छ, रोजगारीका लागि बिदेसिनेको संख्या उच्च हुँदा उनीहरूले पठाउने विप्रेषणले बाह्य क्षेत्र सन्तुलन, गरिबी निवारण, आन्तरिक माग तथा सामाजिक क्षेत्रमा अल्पकालीन राहत दिए पनि यसले देशभित्र दक्ष तथा अर्धदक्ष जनशक्तिको अभाव र समष्टिगत मागमा कमी ल्याउनुका साथै दीर्घकालमा मानव पुँजीको ह्रास हुने जोखिम बढेको छ,’ स्थितिपत्रमा उल्लेख छ, ‘स्वदेशमा रोजगारीका पर्याप्त अवसर सिर्जना गरी बाध्यात्मक रूपमा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेछ ।’ 

रेमिट्यान्सले अर्थतन्त्रलाई भरथेग गरेको छ : ढुण्डीराज लामिछाने, प्रवक्ता, राष्ट्रिय तथ्यांक कार्यालय 
रेमिट्यान्स बढेको छ, झन्डै–झन्डै आयात मूल्यबराबर नै पुग्न थालेको छ । रेमिट्यान्स व्यक्ति वा संस्थाको खातामा आउने हो, सरकारलाई आउने होइन, तर त्यसले अर्थतन्त्रलाई योगदान गरेको छ, खपत र आयातमा यसले भरथेग गरेको छ । रेमिट्यान्सकै कारण राष्ट्रिय खर्चयोग्य आयसमेत उच्च दरमा बढेको छ । यसले समग्र अर्थतन्त्रलाई भरथेग गरेको छ ।

सुझावित समाचार