नदीकिनार डोजरले होइन, कानुनमार्फत खाली गर्नुपर्छ : गगन थापा

‘विकल्प र पहिचान नगरी बलपूर्वक उठिवास लगाउनु लोकतन्त्रको उपहास’

शुक्रबार, १८ बैशाख, २०८३
डिजिटल संस्करण
नदीकिनार डोजरले होइन, कानुनमार्फत खाली गर्नुपर्छ : गगन थापा

फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले धम्क्याएर र लखेटेर सुकुमवासीलाई हटाउने काम तत्काल बन्द गर्न माग गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत थापाले वास्तविक भूमिहीनलाई पहिचान नगरी र पुनर्स्थापनाको आधार नबनाई डोजर चलाउने काम रोक्न भनेका हुन्।

संविधानअनुसार भूमिहीन दलित र सुकुमवासीलाई एकपटकका लागि जग्गा उपलब्ध गराउने कानुनी व्यवस्था गरिएको स्मरण गराउँदै उनले वास्तविक पीडितको पहिचान र पुनर्स्थापनाको नीतिगत बाटो प्रस्ट रहेको बताएका छन्।

सुकुमवासीको आवरणमा राज्यलाई ठग्ने अपराधीलाई कारबाही गर्नैपर्नेमा जोड दिँदै उनले लेखेका छन्, ‘...आजको सरकारसँग प्रचण्ड बहुमत छ। हामी सहयोगी बन्न तयार नै थियौँ। सडकमा डोजर चलाउनुभन्दा त्यही कानुनलाई प्रयोग गरेर दशौँ गुणा तीव्र गतिमा काम गर्न सकिन्थ्यो।’

डोजरले नागरिकको झुपडी मात्र नभई उनीहरूको मर्यादा र राज्यप्रतिको भरोसा पनि भत्काएको जिकिर गर्दै थापाले सस्तो लोकप्रियताका लागि गरिएको निर्मम प्रहारले सडक खाली गराए पनि लोकतन्त्रको जग कमजोर बनाउनेमा चिन्ता व्यक्त गरेका छन्।

सुझावित समाचार