कोठा नपाएर भौँतारिँदै सुकुमवासी बस्तीबाट हटाइएका नागरिक

एक हजार १३६ परिवारका चार हजार ८०४ जना आए सरकारको सम्पर्कमा

बुधबार, १६ बैशाख, २०८३
डिजिटल संस्करण

काठमाडौं उपत्यकाका विभिन्न स्थानका सुकुमवासी बस्ती भत्काउँदा बिचल्लीमा परेका एक हजार १३६ परिवार सरकारको सम्पर्कमा आएका छन् । उनीहरूको विवरण काठमाडौं महानगरपालिका र उपत्यका विकास प्राधिकरणले राखेको छ । तर, त्यसमा थप स्क्रिनिङको काम बाँकी छ ।

हाल सरकारले सुकुमवासीलाई कीर्तिपुर रामघाटको राधास्वामी सत्संग आश्रम, गोंगबु, सिनामंगल र सुन्धारा क्षेत्रका होटेलमा राखेको छ । तर, ती ठाउँमा सीमित संख्यामा मात्रै बस्छन् । अधिकांश परिवार सरकारले दिएको ठाउँमा असहज हुने भन्दै आफैँ विकल्प खोजेर अन्यत्रै बस्न थालेका छन् । कतिपय आफन्तकहाँ बसेका छन् भने कतिपयले कोठा खोजेका छन् । तर, यो समयमा कोठा खोज्दा भौँतारिनुपरेको र कोठा पाउन निकै सकस परेको उनीहरूको गुनासो छ ।

कोठा नभेटिएकै कारण मनोहरा र सिनामंगल क्षेत्रका कतिपय सुकुमवासीले आफ्ना सामान अझै सुरक्षित स्थानमा सार्न सकेका छैनन् । ‘टहरो भत्काएको ठाउँभन्दा बाहिर त्रिपालले छोपेर सामान राखेको छु, साँझ आफन्तकहाँ जान्छु, दिनभरि सामान कुरेर बस्छु,’ मंगलबार सिनामंगल क्षेत्रमा भेटिएका बुद्धि तामाङले भने, ‘चार दिनदेखि कोठा नै भेटिएको छैन, सरकारले होटेलमा बस्न भनेको रहेछ, तर सामान होटेलमा लैजान दिँदैन ।’

सरकारले भनेको ठाउँमा जाँदा सामान नै लैजान नदिने गरेको सुकुमवासीको दुखेसो छ । ‘सामान त्रिपुरेश्वर राखेर होटेलमा गएर बस्नुपर्ने रे, त्यहाँ पनि प्याकेटको खाना दिने रहेछ, त्यसले पेट भरिँदैन,’ सिनामंगलमा भेटिएका सनम थापाले भने, ‘चारजनाको परिवार छ, कोठामा बसौँ भनेर चार दिनदेखि खोजिरहेको छु, भेटिएकै छैन, पैसा तिरेर बस्छौँ भन्दा पनि कोठा दिँदैनन्, कतिपयले १० हजार पर्ने कोठालाई २० हजार भन्छन्,’ उनले भने, ‘अहिलेसम्म त आफन्तले खान–बस्न दिएका छन्, तर सरकारले बोलाएको ठाउँमा जाँदा सामान कहाँ राख्ने ठेगानै छैन ।’

उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त जानुका ढकालले हालसम्म एक हजार १३६ परिवारका चार हजार ८०४ सदस्यले नाम टिपाएको जानकारी दिइन् । तर, उनीहरू सबैको खानपान तथा बसोबास सरकारले व्यहार्नुपरेको छैन । हाल राधास्वामी सत्संग आश्रममा ३२ परिवारका १४७ जना र ४०७ जना सरकारकै व्यवस्थापनमा विभिन्न होटेलमा छन् । अन्य दुई हजार ४०१ जना आफैँ व्यवस्थापन गरेर डेरा, आफन्त वा साथीभाइको आश्रयमा छन् ।

अन्य चार हजार २५० जना आफ्नै व्यवस्थापनमा बसेको काठमाडौं महानगरपालिकाले जनाएको छ । ‘अझै पनि कतिपयले नाम टिपाइरहनुभएको छ, संख्या थपिँदै छ, तर त्यसमा थप स्क्रिनिङको काम बाँकी छ, टहराबाट हटेपछि आफूलाई सुकुमवासी भनेर दाबी गर्नुभएकाको विवरणमा थप रुजु हुन्छ,’ उनले भनिन्, ‘भूमि आयोग, सहरी विकास मन्त्रालय, प्राधिकरण र काठमाडौं महानगरपालिकाले सुकुमवासी व्यवस्थापनको तयारी संयुक्त रूपमा गरिरहेका छौँ ।’

हाल सुकुमवासीलाई स्थायी रूपमा के गर्ने भनेर सरकारले निचोड निकाल्न भने सकेको छैन । तर, नार्गाजुनमा बनेको अपार्टमेन्टमा २३३ परिवारलाई राख्ने गरी उक्त भवन मर्मतसम्भारको कार्य भइरहेको छ । त्यहाँ नअटेकालाई अन्यन्त्र ठाउँ खोजिँदै गरिने सहरी विकास मन्त्रालयले जनाएको छ । त्यस्तै, विकल्पका लागि भक्तपुर खरिपाटीमा रहेको विद्युत् तालिम केन्द्र र बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रमा पनि राख्ने सहरी विकास मन्त्रालयको तयारी छ । हाल सुकुमवासीलाई राखिएको आश्रम र होटेलमा प्याकेट खाना वितरण गर्ने गरिएको छ । तर, उक्त खानेकुरा अपुग भएको गुनासो आउन थालेको छ ।

सरकारले शनिबार, आइतबार र सोमबारदेखि बागमती नदी र मनोहरा नदीकिनारका करिब एक हजार ६ सय घरटहरा भत्काएको थियो । घरटहरा भत्काएपछि त्यहाँ बस्नेले आ–आफ्नो सामान बाहिर सारेका थिए । अन्य स्थानमा घरजग्गा हुनेले सूचनाकै आधारमा सामान सारेका थिए भने विकल्प नहुनेले टहराबाहिर सामान झिकेका थिए । हालसम्म कतिपय सरकारी व्यवस्थापन बसेका छन् भने कतिपय कोठामा सरेका छन् । केहीले कोठा नपाएका कारण रंगशालालगायत ठाउँमा सामान राख्ने गरेका छन् । सरकारले तोकिदिएको ठाउँमा कोचाकोच र अव्यवस्थित रहेको भन्दै कतिपय आफैँ डेरा खोजेरसमेत सर्न थालेका छन् ।

उपत्यका विकास प्राधिकरणको तथ्यांकअनुसार उपत्यकाका विभिन्न अतिक्रमित क्षेत्रहरूमा ठूलो संख्यामा सुकुम्वासी घरपरिवार बसोबास गर्दै आएका थिए । शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी ८७१ घरपरिवार रहेको तथ्यांकले देखाएको छ । महानगरले सार्वजनिक जग्गा संरक्षण, नदी किनारको व्यवस्थापन तथा सहरी सौन्दर्यकरणलाई प्राथमिकतामा राख्दै अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ । साथै, विस्थापित भएका परिवारको व्यवस्थापन र पुनर्स्थापनाका विषयमा संघीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि महानगरको भनाइ छ । 

सुझावित समाचार