रोक्न सकिन्छ अर्को ‘चेर्नोबिल’जस्तो आणविक दुर्घटना

मंगलबार, १५ बैशाख, २०८३
डिजिटल संस्करण
  • विकेन्द्रीकृत नवीकरणीय ऊर्जा प्रणालीको व्यापक विकास र अवलम्बन गरिए आणविक संयन्त्र आवश्यक नै पर्दैन 

चालीस वर्षअघि २६ अप्रिलमा तत्कालीन सोभियत गणराज्य युक्रेनमा रहेको चेर्नोबिल आणविक ऊर्जा केन्द्रको एउटा ‘रिएक्टर’मा विस्फोट भएको थियो । कम्तीमा ३० जनाको मृत्यु भएको त्यस आणविक दुर्घटनाको परिणामस्वरूप निस्केको विशाल परिमाणको रेडियोधर्मी कण युक्रेन, बेलारुस र रुसभर फैलिएको थियो । आणविक विकिरण सोभियत गणराज्यमा मात्र नभई युरोपका अन्य भागमा समेत फैलियो । प्राणघातक रेडियोधर्मी विकिरणका कारण त्यसवेलादेखि दसौँ हजार मानिस क्यान्सरलगायत विभिन्न समस्याका कारण बितेको अनुमान गरिन्छ । त्यस्तै, प्रभावित क्षेत्रमा बालबच्चा जन्मिँदा देखिने समस्या (जन्मदोष) को प्रवृत्ति २०० देखि २५० प्रतिशतबिच बढ्यो । वरपरका लाखौँ मानिस आफ्ना घर त्याग्न बाध्य भए ।

चेर्नोबिल इतिहास होइन, यो रेडियोधर्मी प्रदूषणको जीवित दस्ताबेज हो । अझै पनि चेर्नोबिल र वरपरका भागमा खेती गर्न सकिन्न । त्यस भेगका घर बस्न योग्य नभएकाले परिवार अब त्यहाँ फिर्ता हुन सक्दैनन् । यस दुर्घटनाका कारण स्थायी स्वास्थ्य समस्या भोगेका हजारौँ मानिस अझै जीवित छन् । यसैले, यस दुर्घटनाको पाठ स्पष्ट छः जब आणविक संयन्त्रमा समस्या आउँछ, त्यसका परिणाम दीर्घकालीन, व्यापक र व्यवस्थापन गर्न असाधारण रूपमा कठिन हुन्छ । 

विश्वले चेर्नोबिल आणविक दुर्घटनाको ४०औँ वार्षिकीको स्मरण गरिरहँदा युक्रेन र इरानका आणविक स्थल खतरामा परेका छन् । युरोप महादेशकै ठुलो आणविक ऊर्जा केन्द्र मानिने युक्रेनस्थित ‘जापोरिझिया’ केन्द्रमा रुसले अवैध रूपमा कब्जा जमाएको छ । त्यस्तै हालै चेर्नोबिल दुर्घटनास्थललाई छोपेर राखिएको संरचनामाथि रुसी ड्रोन आक्रमणले क्षति पुगेको समाचार आएका छन् । 

उता इरानमा धेरै आणविक स्थलमाथि पटकपटक बमबारी गरिएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए)ले अमेरिका–इजरायली आक्रमणका क्रममा बुसेहर आणविक ऊर्जा केन्द्रको ७५ मिटरनजिक प्रहार भएको पुष्टि गरेको छ । यसबिच, इरानमाथिको अमेरिका–इजरायली आक्रमणले विश्वव्यापी जीवाश्म इन्धन प्रणालीको नाजुकतालाई उजागर गरेको छ । उसो त यसअघि पनि सन् २०२२ मा युक्रेनमा रुसी आक्रमणले पनि यस प्रणालीको कमजोरीमाथि प्रकाश पारेको थियो । 

विश्वको प्रमुख समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’मा आएको अवरोधले तेल र ग्यासको मूल्य बढाएको छ । यसले युद्धमा प्रत्यक्ष संलग्न नभएका विश्वका करोडौँ मानिसले महँगी झेल्नुपरिरहेको छ । यी दुई अलग संकट होइनन् । तिनले एउटै संरचनात्मक समस्यालाई इंगित गर्छन् । आणविक र जीवाश्म इन्धन प्रणाली दुवैमा विशाल तथा केन्द्रीकृत पूर्वाधार आवश्यक पर्छ । यसैले, ती सहजै निसानामा पर्छन् । 

भूराजनीतिक तनाव, विषम मौसम अवस्था र आर्थिक अस्थिरताको योगका कारण जोखिम नियन्त्रण गर्न लगभग असम्भव बन्दै गएको छ । आणविक संयन्त्र र केन्द्रीकृत विद्युत् प्रणाली प्रायः युद्धका लक्ष्य हुन्छन् । स्ट्रेट अफ हर्मुजजस्तो रणनीतिक ‘चेकपोइन्ट’ तेल र ग्यास आपूर्ति अवरुद्ध गर्न प्रयोग हुने गर्छ । दुवै अवस्थामा परिणाम सानो क्षेत्रमा सीमित नभई विश्वव्यापी हुने गर्छ । तर, यसको पनि विकल्प छ । 

भण्डारण क्षमतासहितको विकेन्द्रीकृत नवीकरणीय ऊर्जाको विकासले ऊर्जा सुरक्षा, स्थिरता, स्वतन्त्रता प्रदान गर्छ । नवीकरणीय ऊर्जामाथि विशाल लगानी गरिए त्यसबाट पर्याप्त बिजुली उत्पादन भई आणविक संयन्त्र नै नचाहिने बनाइदिन्छ । साथै, भूराजनीतिक झट्काको जोखिम पनि कम गरिदिन्छ । युक्रेनले रुसको पूर्णस्तरीय आक्रमणपछि विकेन्द्रीकृत सौर्य तथा ब्याट्री प्रणालीमा व्यापक लगानी गर्दा अहिले बारम्बार युक्रेनी ऊर्जा ग्रिड आक्रमणमा पर्दा पनि युक्रेनी अस्पताल, विद्यालय र महत्वपूर्ण सेवा निर्बाध सञ्चालन भइरहेका छन् । 

नवीकरणीय ऊर्जा प्रणाली प्रयोगमा ल्याउन र छिटो मर्मत गर्न सजिलो हुन्छ । तर, विकेन्द्रित हुने भएकाले समग्र प्रणालीलाई निस्तेज पार्न गाह्रो हुन्छ । यसैले प्रणालीलाई राजनीतिक लाभका लागि अवरुद्ध गर्न सकिँदैन । अझ महत्वपूर्ण रूपमा नवीकरणीय ऊर्जाले वातावरणीय र मानवीय विपत्ति निम्त्याउँदैन । विश्वले चेर्नोबिल प्रकोपको ४०औँ वार्षिकी सम्झँदै गर्दा यस दुर्घटनामा रेडियोधर्मी विकिरणले निम्त्याएको विनाशमाथि ध्यान दिनुपर्छ र यसको पुनरावृत्तिबाट बच्ने उपायमाथि विचारविमर्श हुनुपर्छ । 

(क्रिस्टेनसेन ‘ग्रिनपिस इन्टरनेसनल’का कार्यकारी निर्देशक हुन् भने गोजाक ग्रिनपिसको युक्रेन शाखाकी निर्देशक हुन्)
अलजजिराबाट

सुझावित समाचार