‘बफर स्टेट’बाट ‘रणनीतिक मस्तिष्क’मा रूपान्तरण

नेपाल कसैको सैन्य वा राजनीतिक ‘बफर’ होइन, बरु विश्वका विशाल सभ्यता र अर्थतन्त्रलाई जोड्ने ‘रणनीतिक मस्तिष्क’ र गतिशील पुल हो

सोमबार, १४ बैशाख, २०८३
डिजिटल संस्करण

नेपालको भौगोलिक अवस्थितिलाई सचेत ढंगले ‘रणनीतिक मस्तिष्क’तर्फ रूपान्तरण गर्न सक्नुपर्छ । इतिहास साक्षी छ– भूगोल अपरिवर्तनीय हुन्छ, तर त्यसको प्रयोग, व्याख्या र प्रभाव समयको गतिसँगै परिवर्तनशील हुन्छन् । हिजोको ‘भूपरिवेष्टित’ नेपाललाई आजको ‘डिजिटल कनेक्टिभिटी’को युगमा ‘भूजडित’ र विश्वव्यापारको एक अपरिहार्य ‘रणनीतिक चौबाटो’ बनाउन सक्नुपर्छ ।

हाम्रो भौगोलिक अवस्थिति केवल दुई विशाल छिमेकीबिच खुम्चिएको जमिन मात्र होइन, यो त विश्वको कुल जनसंख्याको झन्डै आधा हिस्सा ओगट्ने दुई उदीयमान चीन र भारतको अर्थतन्त्रलाई जोड्ने ‘केन्द्रीय मेरुदण्ड’ हो । विश्वको आर्थिक र सामरिक शक्तिसन्तुलन पश्चिमा जगत्बाट पुनः एसियातर्फ ढल्कँदै गर्दा, नेपालले अब ‘दुई ढुंगाबिचको तरुल’जस्तो रक्षात्मक, निरीह र लघुताभासपूर्ण मनोविज्ञान त्याग्नुपर्छ ।

नेपालले केवल दुई शक्तिबिचको निष्क्रिय ‘बफर स्टेट’ मात्र होइन, बरु विश्व अर्थतन्त्र, सुरक्षा र कूटनीतिको एउटा ‘रणनीतिक मस्तिष्क’ र गतिशील सेतु बन्ने अद्वितीय सामर्थ्य राख्न सक्नुपर्छ । हिमालयको यो उचाइलाई अब हाम्रो ‘बन्धन’ होइन, बरु २१औँ शताब्दीको भूराजनीतिमा सबैभन्दा ठुलो ‘सामरिक पुँजी’ र विश्वलाई नियाल्ने ‘वाच टावर’ बनाउन सक्नुपर्छ । भौतिक सीमाहरू अभौतिक डिजिटल सञ्जालमा रूपान्तरण भइरहेको वर्तमान युगमा ‘डाटा’ नै २१औँ शताब्दीको शक्ति, अर्थतन्त्र र सार्वभौमिकताको नयाँ मानक हो । नेपालले आफ्नो भौगोलिक विशिष्टतालाई निम्न दुई आधारमा प्रयोग गर्नुपर्छ :

१. हिमालयको प्राकृतिक शीतल जलवायु र उच्च उचाइका कारण यहाँ ठुला डाटा सेन्टर सञ्चालन गर्दा लाग्ने विद्युतीय खर्च विश्वका अन्य देशको तुलनामा निकै कम हुन्छ । नेपालले विश्वका गुगल, माइक्रोसफ्ट, अलिबाबाजस्ता ‘टेक जायन्ट’का लागि सुरक्षित, सस्तो र प्राकृतिक रूपमै वातावरणमैत्री ‘ग्रिन डाटा सेन्टर’को प्रस्ताव गर्न सक्छ । जसरी स्विट्जरल्यान्डले विश्वको धनलाई ‘गोप्य बैंक’मार्फत सुरक्षा दियो, नेपालले विश्वको अमूल्य डाटालाई हिमालयको काखमा सुरक्षा प्रदान गरी विश्वको ‘डिजिटल भल्ट’को पहिचान बनाउन सक्नुपर्छ । 

२. आजको डिजिटल युगमा जसको नियन्त्रण डाटा सेन्टर, फाइबर अप्टिक्स र स्याटेलाइट कम्युनिकेसनमा हुन्छ, उसैले भविष्यको विश्व राजनीति र अर्थतन्त्रको लगाम समात्छ । नेपाल, विश्वका दुई ठुला इन्टरनेट बजार (भारत र चीन)को बिचमा छ । हामीले आफूलाई केवल एक ‘प्रयोगकर्ता’मा सीमित नगरी ‘डिजिटल ट्रान्जिट हब’का रूपमा विकास गर्नुपर्छ । नेपालले भारत र चीनबिचको डाटा ट्राफिकलाई सुरक्षित बाटो प्रदान गर्दै ‘डाटा तटस्थता’को नेतृत्व गर्न सक्छ । यसले नेपाललाई एक यस्तो सुरक्षित ‘डिजिटल कोरिडोर’ बनाउनेछ जहाँ दुवै छिमेकी र विश्वका अन्य शक्तिले आफ्नो डाटा सुरक्षित र निष्पक्ष रूपमा आदानप्रदान गर्न सकून् ।

जल र युरेनियमका कारण नेपाल अदृश्य शक्तिको सामरिक भण्डार पनि हो । २०औँ शताब्दी ‘तेल’ले चलायो भने २१औँ शताब्दी ‘पानी’ र ‘स्वच्छ ऊर्जा’ले चलाउनेछ । नेपालको पानी ‘सेतो सुन’ र भविष्यको सामरिक अस्त्र हो । नेपालको पानी केवल बिजुली निकाल्ने कच्चा पदार्थ मात्र होइन, यो २१औँ शताब्दीको सबैभन्दा मूल्यवान् ‘तरल सम्पत्ति’ पनि हो । अबको हाम्रो जलकूटनीतिलाई निम्नबमोजिम पुनरावलोकन गरिनुपर्छ :

‘बफर स्टेट’बाट ‘रणनीतिक मस्तिष्क’सम्म नेपाललाई पुर्याउन हामीले वर्षौँदेखि बोक्दै आएको ‘दुई ढुंगाबिचको तरुल’ वा ‘चेपुवामा परेको देश’ भन्ने रक्षात्मक र हीनताबोधयुक्त मनोविज्ञानलाई अब पूर्णतः विस्थापित गर्नुपर्छ । 

१. विश्वभर शुद्ध पिउने पानीको संकट गहिरिँदै गर्दा, नेपालको हिमनदी र प्राकृतिक मूलबाट बग्ने पानीलाई ‘बोटलिङ’ गरी विश्वबजारमा ‘प्रिमियम ब्रान्ड’का रूपमा निर्यात गर्नुपर्छ । मध्यपूर्वका मरुभूमिदेखि दक्षिण एसियाका सुक्खा सहरहरूसम्म नेपालको ‘हिमालयन स्प्रिङ वाटर’ पुर्याउन सके यसले पेट्रोलियम पदार्थभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने सामर्थ्य राख्छ ।

२. ‘हाम्रो पानी तपाईंको विकास’को नीतिलाई नयाँ ढंगले व्याख्या गर्नुपर्छ । अबको सम्झौता केवल बिजुलीमा मात्र सीमित नभई, ‘शुद्ध खानेपानी आपूर्ति’ र ’जलसुरक्षा’मा आधारित हुनुपर्छ । नेपालले दक्षिण एसियाको ‘वाटर टावर’का रूपमा आफ्नो रणनीतिक बार्गेनिङ पावर बढाउनुपर्छ ।

३. विश्व मञ्चमा नेपालले आफूलाई ’शुद्ध जलको दाता’का रूपमा उभ्याउनुपर्छ । जसरी खाडी देशहरूले तेलमार्फत विश्वराजनीति प्रभावित गर्छन्, नेपालले शुद्ध हिमालयन पानीमार्फत विश्वलाई आफ्नो सामरिक र मानवीय महŒव महसुस गराउन सक्छ ।

४. नेपालको गर्भमा रहेको युरेनियमको सुरक्षित उत्खनन र अन्तर्राष्ट्रिय नियमनमा यसको व्यवस्थापनले नेपाललाई विश्व ऊर्जा सुरक्षाको एक निर्णायक खेलाडी बनाउन सक्छ ।

नेपालको विशिष्ट भूगोल केवल पर्यटकीय गन्तव्य मात्र होइन, यो विश्वकै सबैभन्दा शक्तिशाली र निःशुल्क ‘अभौतिक प्रतिरक्षा प्रणाली’ हो । यसलाई निम्न दुई सामरिक दृष्टिकोणबाट व्याख्या गर्न सकिन्छ :

१. नेपालका जटिल पहाड, भिरपाखा र गहिरा खोँचहरू हिजोका दिनमा उपनिवेशवादविरुद्धका अभेद्य ‘प्राकृतिक किल्ला’ थिए । आजको आधुनिक युद्धकलामा पनि ’उचाइ’को आफ्नै निर्णायक महत्व हुन्छ । नेपालको हिमालयन रेन्जले अत्याधुनिक सैन्य निगरानी, राडार प्रणाली र प्रतिरक्षा संयन्त्रका लागि विश्वकै उत्कृष्ट ’नेचुरल प्लाटफर्म’ प्रदान गर्दछ । हाम्रो भूगोल नै हाम्रो यस्तो ‘कवच’ हो, जसलाई कुनै पनि आधुनिक क्षेप्यास्त्र वा प्रविधिले पूर्णतः परास्त गर्न सक्दैन ।

२. विश्वका तीन प्रमुख शक्तिहरू– भारत, चीन र अमेरिकालगायत शक्तिराष्ट्रहरूको सामरिक स्वार्थ र प्रभावको संगमस्थल हुनुले नेपाललाई विश्वकै सबैभन्दा संवेदनशील ‘इन्टेलिजेन्स कोरिडोर’ बनाएको छ । भौगोलिक अवस्थितिका कारण नेपाल एसियाको एउटा यस्तो ‘लिसेनिङ पोस्ट’ बन्न सक्छ, जहाँबाट हुने सूचनाको प्रवाहले क्षेत्रीय र विश्वव्यापी राजनीतिलाई नै प्रभावित पार्ने सामर्थ्य राख्छ । आजको युगमा जसको हातमा ‘सटिक सूचना’ र ‘डाटा’को पहुँच हुन्छ, शक्तिको केन्द्र उसैतर्फ सर्छ । नेपालले आफ्नो यो रणनीतिक अवस्थितिलाई ‘बार्गेनिङ पावर’का रूपमा प्रयोग गर्दै विश्व मञ्चमा आफ्नो अपरिहार्यता सिद्ध गर्न सक्छ ।

२१औँ शताब्दीमा राष्ट्रिय सुरक्षा र आर्थिक विकासको एउटा ठुलो हिस्सा अन्तरिक्ष प्रविधिमा निर्भर छ । नेपालको विशिष्ट भौगोलिक अवस्थितिलाई अब ‘अन्तरिक्ष कुटनीति’को बलियो आधार बनाउनुपर्छ :

१. नेपालको उच्च उचाइ र अवस्थितिले यसलाई स्याटेलाइट ट्र्याकिङ, कमान्ड एन्ड कन्ट्रोल ग्राउन्ड स्टेसनका लागि विश्वमै उत्कृष्ट स्थान बनाउँछ । विश्वका प्रमुख अन्तरिक्ष एजेन्सीहरूसँग सहकार्य गरी नेपाललाई ‘अन्तर्राष्ट्रिय सञ्चार र डाटा ट्रान्जिट हब’का रूपमा विकास गर्न सकिन्छ । यहाँबाट संकलित र प्रसारित डाटा रणनीतिक र व्यापारिक दुवै रूपमा अत्यन्तै मूल्यवान् हुनेछन् ।

२. उच्च हिमालय क्षेत्रबाट गरिने अन्तरिक्ष निगरानी र भूउपग्रहमार्फत प्राप्त हुने हिमाली जलवायुसम्बन्धी तथ्यांक विश्वव्यापी जलवायु परिवर्तनको अध्ययनका लागि अपरिहार्य छ । नेपालले यस क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै ‘हिमालयन क्लाइमेट डाटा सेन्टर’ स्थापना गरी विश्वलाई महत्वपूर्ण सूचना बेच्न र कूटनीतिक प्रभाव बढाउन सक्छ ।

३. ‘नेपाली स्याट–१’ को अनुभवलाई आधार मानी नेपालले आफ्नै सञ्चार र भूअवलोकन स्याटेलाइट प्रक्षेपण गर्ने दीर्घकालीन लक्ष्य राख्नुपर्छ । यसले हाम्रो सञ्चार सार्वभौमिकता, विपत् व्यवस्थापन र कृषिमा क्रान्तिकारी परिवर्तन ल्याउनुका साथै छिमेकी देशहरूलाई पनि सञ्चार सेवा प्रदान गरी आर्थिक लाभ लिन सक्छ ।नेपालको ‘सफ्ट पावर’ केवल हिमाल र पदयात्रामा मात्र सीमित छैन, यो त पूर्वीय दर्शन, अध्यात्म र शान्तिपूर्ण सहअस्तित्वको मुहान पनि हो । यसलाई विश्वमञ्चमा हाम्रो ‘अदृश्य सामर्थ्य’का रूपमा स्थापित गर्न निम्न कदम चाल्न सकिन्छ :

१. नेपालले आफूलाई विश्वकै ‘तटस्थ शान्तिक्षेत्र’का रूपमा पुनर्जागृत गर्नुपर्छ । यसको पहिलो र अनिवार्य सर्त भनेको हाम्रो पवित्र भूमिमा रहेका विदेशी सैन्य भर्ती केन्द्रहरू (भारतीय र बेलायती गोर्खा भर्ती)को सम्मानजनक र तार्किक अन्त्य हो । आफ्ना नागरिकलाई विदेशी सेनाको हिस्सा बन्न पठाउने परिपाटीको अन्त्यले मात्र नेपाललाई विश्वमञ्चमा एक ‘नैतिक र पूर्ण तटस्थ’ राष्ट्रका रूपमा उभ्याउन सक्छ । 

२. बुद्धको शान्ति र अहिंसालाई अब धार्मिक प्रवचनमा मात्र सीमित नराखी नेपालको ‘राष्ट्रिय शक्ति’ र परराष्ट्र नीतिको मूल आधार बनाउनुपर्छ । विश्वले युद्धको विकल्प खोज्दा ‘लुम्बिनी र बुद्धको भूमि’लाई संवादको साझा थलोका रूपमा प्रस्ताव गर्नु हाम्रो कूटनीतिक सफलता हुनेछ ।

३. बुद्धदेखि पशुपतिनाथ हुँदै जानकीमन्दिरसम्म र हिमालयको योगध्यान सभ्यतासम्म हाम्रो आध्यात्मिक वैभवले विश्वका अर्बौँ मानिसलाई आकर्षित गर्ने सामर्थ्य राख्छ । यो ‘सफ्ट पावर’ले नेपाललाई विश्वको ‘आध्यात्मिक राजधानी’ बनाउन सक्छ, जसको प्रभाव कुनै पनि हतियार वा पैसाभन्दा कैयौँ गुणा बढी हुन्छ ।

राष्ट्रिय सुरक्षा, जलस्रोत, डिजिटल सार्वभौमिकता र परराष्ट्र नीतिका आधारभूत विषयमा सबै राजनीतिक दलबिच एउटा ‘न्यूनतम साझा राष्ट्रिय सहमति’ अनिवार्य छ । सरकार परिवर्तन हुनासाथ कूटनीतिक प्राथमिकता र वैदेशिक सम्बन्धका मापदण्ड परिवर्तन हुने अस्थिर परिपाटी अन्त्य हुनुपर्छ । विश्वमञ्चमा नेपालले एउटै स्वरमा बोल्नुपर्छ जहाँ दलीय स्वार्थभन्दा माथि ‘राष्ट्रिय स्वार्थ’ सर्वोपरि होस् ।

‘बफर स्टेट’बाट ‘रणनीतिक मस्तिष्क’सम्म नेपाललाई पुर्याउन हामीले वर्षौँदेखि बोक्दै आएको ‘दुई ढुंगाबिचको तरुल’ वा ‘चेपुवामा परेको देश’ भन्ने रक्षात्मक र हीनताबोधयुक्त मनोविज्ञानलाई अब पूर्णतः विस्थापित गर्नुपर्छ । नेपाल कसैको सैन्य वा राजनीतिक ‘बफर’ होइन, बरु विश्वका विशाल सभ्यता र अर्थतन्त्रलाई जोड्ने ‘रणनीतिक मस्तिष्क’ र गतिशील पुल हो । हाम्रो सामूहिक आत्मविश्वास, स्वाभिमान र आन्तरिक एकता नै हाम्रो सबैभन्दा ठुलो ‘अदृश्य परमाणु बम’ हो, जसले बाह्य हस्तक्षेपलाई निरुत्साहित गर्छ र विश्वलाई हाम्रो अस्तित्व स्विकार्न बाध्य पार्छ ।

व्यक्तिगत र दलगत स्वार्थको सानो घेराबाट माथि उठेर, विश्व परिवेशमा नेपालको अद्वितीय सामर्थ्यलाई प्रस्तुत गर्नु नै आजको प्रमुख कार्यभार हो । जब तीन करोड नेपालीको मन र एजेन्डा एउटै हुन्छ, तब हाम्रो भूगोल ‘बाधा’ होइन, विश्वकै सबैभन्दा मूल्यवान् ‘सामरिक सम्पत्ति’ बन्नेछ ।

नेपाल आज इतिहासको एउटा यस्तो निर्णायक चौबाटोमा उभिएको छ, जहाँ विश्वका प्रमुख शक्तिहरू चीनको ‘बेल्ट एन्ड रोड’, भारतको ‘छिमेकी पहिलो’ नीति र अमेरिकाको एमसिसीलगायत शक्ति राष्ट्रहरूको भूराजनीतिक चासोको प्रत्यक्ष संगम भएको छ । यो अवस्था हाम्रा लागि चुनौती मात्र होइन, विश्वमञ्चमा आफ्नो सामर्थ्य प्रमाणित गर्ने ‘स्वर्णिम अवसर’ पनि हो ।

यी शक्तिहरूलाई एक–अर्काविरुद्ध लडाएर वा कुनै एक पक्षको कार्ड खेलेर होइन, बरु नेपालले आफूलाई सबैको साझा ‘व्यापारिक, डिजिटल, तटस्थ शान्तिक्षेत्र र सामरिक सेतु’का रूपमा उभ्याउनुपर्छ । यसका लागि केवल कूटनीतिक चातुर्य मात्र पर्याप्त छैन, हामीले अन्तर्राष्ट्रिय मान्यताप्राप्त कानुनी ढाँचा र नीतिगत सुनिश्चितता प्रदान गर्नुपर्छ । नेपालले विश्वलाई निम्न विश्वास दिलाउनुपर्छ :

१. हाम्रो भूमिमा हुने लगानी र डाटा ‘अन्तर्राष्ट्रिय कानुन’ र ‘विश्वव्यापी मानक’द्वारा संरक्षित छन् । २. नेपाल एउटा यस्तो ‘सफ्टवेयर र कानुनी हब’ हुनेछ जहाँ विश्वका शक्ति राष्ट्रहरूका स्वार्थ र लगानीबिच द्वन्द्व होइन, बरु कानुनी सुरक्षाको ग्यारेन्टी हुनेछ ।

हाम्रो वास्तविक शक्ति ‘चिच्याउनु’ वा प्रोपोगान्डामा होइन, बरु हाम्रो ‘रणनीतिक मौनता’, ‘अटल तटस्थता’ र ‘विशिष्ट भौगोलिक अवस्थिति’मा अन्तर्निहित छ । अब हामीले ‘सानो देश’को लघुताभास त्यागेर विश्वकै एउटा ‘रणनीतिक मस्तिष्क’ बन्ने साहस गर्नुपर्छ । व्यक्तिगत र दलीय स्वार्थको सानो घेराभन्दा माथि उठेर, अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिने गरी ‘न्यूनतम राष्ट्रिय सहमति’का आधारमा नीतिगत स्थिरता कायम गर्न सक्यौँ भने, २१औँ शताब्दीको विश्व मानचित्रमा नेपाल एक ‘अपरिहार्य र शक्तिशाली रणनीतिक केन्द्र’का रूपमा उदय हुने निश्चित छ ।

सुझावित समाचार