विवाद छाडौँ, एकजुट भई अघि बढौँ

आइतबार, १३ बैशाख, २०८३
डिजिटल संस्करण
  • अब पनि पार्टीको आन्तरिक विवादलाई लम्ब्याइयो भने त्यसबाट पार्टी, नेता र कार्यकर्ता कसैका लागि कुनै उपलब्धि हुनेवाला छैन 

नेपाली कांग्रेसले नेपाली जनताको अधिकार र समृद्धि तथा मुलुकको बृहत्तर हित र विकासका निम्ति आफ्नो स्थापनाकालदेखि नै अत्यन्त महत्वपूर्ण र नेतृत्वदायी काम गर्दै आएको तथ्य कसैबाट लुकेको छैन । यसका लागि कांग्रेसले इतिहासदेखि नै व्यावहारिक, नैतिक र पारदर्शी नेतृत्व देश र जनतालाई दिँदै आएको छ । कांग्रेसका त्यागी, बेदागी र सादगी नेताका कारण देशमा शासन व्यवस्था परिवर्तनका लागि पटकपटक भएका आन्दोलनका अग्रमोर्चामा रहेर आत्मबलिदान गर्न नेपाली जनता कहिल्यै हिच्किचाएनन् । देशमा भएका हरेक राजनीतिक परिवर्तनमा कांग्रेसकै नेतृत्व रह्यो र जनताले मन, वचन र कर्मले कांग्रेस र उसले आह्वान गरेको संघर्षलाई साथ दिए । जसले गर्दा २००७ सालको राणाशासनविरोधी सशस्त्र क्रान्तिदेखि ०४६ र ०६२/६३ को पहिलो र दोस्रो जनआन्दोलनसँगै ०७२ को संविधान लेखन तथा जारी गर्ने प्रक्रियामा समेत नागरिकको अपार सहभागिता तथा कांग्रेसको नेतृत्वदायी भूमिका रह्यो । जसले गर्दा कांग्रेसलाई आमजनताले निर्वाचनको मोर्चामा पनि पटकपटक विश्वास गर्दै आए । 

तर, यस्तो लोकप्रिय र ऐतिहासिक विरासत बोकेको दल जबजब सत्तामा पुग्यो, तबतब आन्तरिक द्वन्द्व र मनमुटावको सिकार बन्यो । गणेशमानजी, किशुनजी र गिरिजाबाबुबिच मात्र होइन, स्वयं कांग्रेसका संस्थापक नेता बिपी र सुवर्णजीमा पनि सत्ताप्राप्तिपछि आपसी बेमेल, असमझदारी र मनमुटाव देखिए । व्यक्तित्वको टकरावसम्बन्धी कांग्रेस इतिहास हेर्दा एउटै व्यक्ति लामो समयसम्म पार्टी हाई कमान्ड र राज्यसत्ताको नेतृत्वमा रहँदा यस्ता द्वन्द्व हुँदा रहेछन् जस्तो देखिन्छ । यहाँनेर सत्ता भनेकै द्वन्द्व, आपसी बेमेल, असन्तुष्टि र असमझदारीको आधार त होइन भन्ने प्रश्न पनि उठ्न सक्छ । 

कांग्रेसले देशमा एक दशक लामो सशस्त्र द्वन्द्व अन्त्य गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्यो । दुई–दुईपटक संविधानसभाको निर्वाचन गराएर भए पनि ०७२ मा संविधानसभाबाट नयाँ संविधान जारी गराउने कार्यको नेतृत्व पनि कांग्रेसले नै गर्यो । कांग्रेसको नेतृत्वमा समानुपातिक, समावेशी, प्रतिनिधिमूलक संविधान बन्यो । तर, सत्तामा पुगिसकेपछि उही कांग्रेसले त्यही संविधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेन । संविधानमा समानुपातिक व्यवस्था समावेश गराउने कांग्रेसले समानुपातिक संस्कारअनुरूप प्रतिनिधित्व गराउनुभन्दा पनि समाजमा खाइपाई आएका, हुनेखाने र पहुँचवालाकै मात्र प्रतिनिधित्वमा ध्यान दियो, यसले गर्दा पनि समाजमा असन्तुष्टि बढ्दै गयो, संविधान कार्यान्वयनमै अप्ठ्यारो अवस्था सिर्जना भयो । विभिन्न संवैधानिक निकायमा हुने नियुक्तिमा पनि समस्या देखियो । भागबन्डाको अपसंस्कृति भित्रियो । जसले गर्दा सही मान्छे, सही ठाउँमा, सही समयमा आउन सकेनन् । राजनीतिक नियुक्तिका पदहरू व्यापारका विषय बने । ती पद नेता र तिनका आसेपासेले थापेका पसलजस्ता देखिए । 

हामीले बनाएको यति राम्रो संविधानमा एउटा व्यक्ति दुईपटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था राख्नुपर्थ्यो । हामी त्यहाँ चुक्यौँ । संविधान निर्माणमा प्रत्यक्ष, अप्रत्यक्ष जोडिएका हामी सबैले यसको जिम्मेवारी लिनैपर्छ । हामीले गरेको कमजोरीका कारण लामो समयसम्म एउटै व्यक्ति पटकपटक सत्तामा दोहोरिइरहने परिस्थिति आयो । इतिहासमा बढीपटक प्रधानमन्त्री बनेको कीर्तिमान लेखाउने ‘होड’ देखियो । यसले गर्दा सत्तामा सीमित व्यक्तिको ‘सिन्डिकेट’ चल्यो । सत्तामा रहेका ‘मुखिया’का आसेपासे र आफन्तले पूरै राज्यसत्तामाथि कब्जा गरे । बिचौलिया र माफियाको इसारामा राज्यसत्ता चल्न थाल्यो । पैसाको अपारदर्शी चलखेल सुरु भयो । नेताहरूमा हामीलाई कसले के गर्न सक्छ र भन्ने अहं जन्मियो । पार्टी, राजनीतिक सिद्धान्त, त्याग र पारदर्शिता गौण भयो । नेताहरूको यही सिन्डिकेटले आममानिसमा व्यापक निराशा र असन्तुष्टि जन्मायो । यही असन्तुष्टि र निराशा नै कांग्रेस र अन्य पुराना राजनीतिक दलका लागि गम्भीर चुनौतीको पहाड बनेर उभिएको छ अहिले । 

नयाँ सरकार बनेसँगै विभिन्न क्षेत्रका धेरै व्यक्ति भटाभट गिरफ्तारीमा परिरहेका छन् र अझै धेरै व्यक्ति तानिन सक्ने सूचीमा छन् भन्ने सुनिन्छ । सरकारले आयोग बनाएर सुरु गरेको सम्पत्ति छानबिनले पुराना दल र नेतालाई कहाँ पुर्याउने हो, त्यसको परिणाम देखिन बाँकी नै छ । 

अहिले युवाहरूको हातमा सरकार आएको छ । संसद्मा पनि युवा अनुहारकै बाहुल्य छ । ३५ वर्षका एक युवाको हातमा सत्ताको बागडोर सुम्पेका छन् नेपाली जनताले । देश, जनता र लोकतन्त्रका लागि लामो समय जेलनेल भोगेका, त्याग गरेका, आफ्नो क्षेत्रमा विकास, निर्माण र जनताको समृद्धिका लागि राम्रै काम गरेका पाका र अनुभवी नेतालाई राजनीतिमा खासै नसुनिएका युवाले यसो हात हल्लाएको भरमा ठाउँका ठाउँ पाखा लगाए । जनताले पनि तिनै युवा अनुहारलाई विश्वास गरे । स्वदेशमा रहेका र विदेशी भूमिमा पसिना बगाइरहेका कसैले पनि पुराना पार्टीलाई विश्वास गरेको देखिएन । 

यस्तो अवस्थामा अब नयाँ दलका युवासँग पुराना दलका पनि युवाले नै प्रतिस्पर्धा गर्नुपर्छ । विचारले विचारसँग, जोस, जाँगरले जोस, जाँगरसँग, ज्ञानले ज्ञानसँग, प्रविधिले प्रविधिसँग, तर्कले तर्कसँगै प्रतिस्पर्धा गर्नुपर्छ अब । यस्तो अवस्थामा कांग्रेसमा पनि युवाहरूको काँधमा नेतृत्व आएको छ । यसअघि कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विवाद थियो । विवादकै बिचमा विशेष महाधिवेशन सम्पन्न भयो । पार्टीभित्र विवाद भए पनि विशेष महाधिवेशनको नेतृत्वलाई निर्वाचन आयोगले वैधानिकता दियो । पार्टी नयाँ नेतृत्वलाई स्विकारेर निर्वाचनमा गयो । केही साथीहरू विशेष महाधिवेशनविरुद्ध रिट लिएर सर्वोच्च अदालत जानुभयो । तर, अहिले सर्वोच्चले पनि उहाँहरूको रिट खारेज गरी विशेष महाधिवेशनको विवादलाई कानुनी हैसियतमा टुंग्याइदिएको छ । 

अब यो विवादलाई थप लम्ब्याउने कि विवादलाई थाती राखेर मिलेर पार्टी सुदृढीकरणको बाटोमा जाने, निर्णय हामीले नै गर्नुपर्छ । अब पनि यो विवादलाई लम्ब्याइयो भने त्यसबाट पार्टी, नेता र कार्यकर्ताका लागि कुनै उपलब्धि हुनेवाला छैन । अहिले जजसले विवाद गर्दै हुनुहुन्छ, पार्टीको विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई स्विकार्न सकिरहनुभएको छैन, उहाँहरूले यसअघि पटकपटक लाभका पदमा पुग्ने अवसर पाउनुभएको छ । अहिले पनि उहाँहरूको असन्तुष्टि पदका लागि मात्र हो । अबका दिनमा नयाँ नेतृत्वका कारण हामीले विगतमा जस्तै पद पाउँदैनौँ कि भन्ने चिन्ता मात्र हो, उहाँहरूको । तर, अब उहाँहरूलाई नेतृत्वमा फर्किन र विगतमा जस्तै पदमा रहन समयले पनि दिँदैन । अहिलेको सरकारले यो पाँच वर्ष र अर्को थप पाँच वर्ष सत्ता सम्हाल्यो भने त्यतिन्जेलसम्ममा अहिले कांग्रेसमा विवाद गरिरहनुभएका आदरणीय नेताहरूको राजनीतिक जीवनको अवसान भइसकेको हुनेछ । यतिखेर कांग्रेसमा नेतृत्वमा आउनुभएका गगन, विश्वलगायत साथीलाई समयले पनि साथ दिएको छ । उहाँहरूबाट पार्टी जीवनमा राम्रो हुने आमविश्वास पनि छ र कुनै कमीकमजोरी भएमा त्यसलाई सच्याउने ठाउँ र समय दुवै छ । 

यो कांग्रेस, त्यसका नेता तथा कार्यकर्ता सबैका लागि गम्भीर चुनौतीको घडी हो । पछिल्लो निर्वाचनमा आममतदाताले कांग्रेसको रुख चिह्नमा विश्वास गरेनन्, उनीहरूले कांग्रेसका वाचालाई पत्याएनन् र कांग्रेसलाई मत दिएनन् । कांग्रेसका हामी उम्मेदवारहरू निकै ठुलो मतान्तरमा पराजित भयौँ । हारको यो विशाल अन्तरलाई ‘मेकअप’ गर्न र अहिले उदाएका युवाहरूको टिमसित प्रतिस्पर्धा गर्नका लागि पनि कांग्रेसको नयाँ नेतृत्व नै योग्य र सक्षम छ । पार्टीको वर्तमान नेतृत्वलाई अहिले विवाद गरिरहेका नेताहरूले बाहिरै बसेर आफ्नो अनुभवको बलमा साथ र सहयोग दिनु बुद्धिमानी हुन्छ । 

राजनीतिमा कहिले को सत्तामा पुग्छ, कहिले को । कसैले राम्रो गर्यो भने पाँच वर्षपछि पनि पुनः दोहोरिन सक्छ । राम्रो गर्न सकेन भने जनताले उसलाई हटाएर अर्कोलाई सत्तामा पुर्याउँछन् । त्यसैले पनि अहिलेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को टिमसित प्रतिस्पर्धा गर्न, जनतामाझ गएर विश्वास जगाउन र अहिले गुमेको पार्टीको साख फर्काउन पनि कांग्रेसको वर्तमान टिम नै सशक्त छ । यो टिमलाई हामी सबैको साथ र सहयोग भने आवश्यक छ । 

अहिले एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत दलका नेताले पार्टी एकता या गठबन्धन गर्ने हल्ला पनि सुनिँदै छ । तर, यतिबिघ्न जनमत खस्केको समयमा पुराना नेताले पार्टीभित्र आफ्नो पद सुरक्षित राख्न गरेको एकता या गठबन्धनको कुनै अर्थ छैन । यस्तो गठबन्धन या एकता नेपाली समाजमा अहिले बिल्कुलै असान्दर्भिक भइसकेको छ । उहाँहरूले पार्टीमा रूपान्तरण र नेतृत्वमा पुस्तान्तरण गर्नका लागि त्यस्तो एकता या गठबन्धनको प्रयास गर्दै हुनुहुन्छ भने त्यो स्वागतयोग्य नै हुन्छ । अन्यथा, आआफ्नो पदीय हैसियत जोगाउने लोभलालचले दौडधुप गरेर कहीँ पुगिँदैन, जनताको विश्वास जित्न सकिँदैन । अहिले विचार, दृष्टिकोण, इमानदारी, पारदर्शिता र सुशासनको युग सुरु भएको छ । वर्तमान सरकारले पनि पारदर्शिता र सुशासन दिन सक्यो भने मात्र यो अगाडि बढ्न सक्छ । 

अबका दिनमा कांग्रेसले पनि विगतकै बाटोबाट हिँडेर हुँदैन । आफूले विगतमा गरेका राम्रा कामलाई जनतामाझ लाने र विगतमा भएका गल्ती, कमी, कमजोरीलाई स्विकारेर भविष्यमा सच्चिने र सच्याउने प्रतिबद्धतासाथ जान सक्नुपर्छ । साथै, वर्तमान सरकारले राम्रो काम गरेमा उसलाई साथ र सहयोग दिने अनि गलत गरेमा खबरदारी गरी त्यसलाई सच्याउन दबाब दिन सक्नुपर्छ । त्यति गर्दा पनि सच्याउन नसके भविष्यमा आफूले मौका पाएमा सच्याउने प्रतिबद्धता जनतासामु गर्न सक्नुपर्छ । अब कसैलाई गालीगलोज गर्दैमा कसैले राम्रो भन्दैन । 

आफूले नेपाल विद्यार्थी संघको नेतृत्व तहमा रहेर राजनीति गर्दा मातहतमा रहेर काम गर्ने गगनजी, विश्वजी, गुरुजी, प्रदीपजीजस्ता नेताको नेतृत्व विकासमा मेरो पनि कुनै न कुनै भूमिका रह्यो होला भन्ने सम्झिँदा अहिले गर्व लाग्छ । कांग्रेसको भविष्य सुरक्षित गर्न कसैले सक्छ भने त्यो वर्तमान नेतृत्वले नै सक्छ । विगतको विकृतिको भारी बोकेर अब अगाडि जान सकिन्न । भागबन्डाका नाममा अब पनि जसलाई पायो त्यसैलाई नेतृत्वमा ल्याउने र गलत संस्कृतिलाई प्रोत्साहित गर्ने हो भने जनताले विश्वास गर्दैनन् । आजको २१औँ शताब्दीको विश्वमा नेता को छ भन्ने भन्दा पनि नेताको पछाडि बसेर उसलाई अघि बढाउने व्यक्ति कस्ता छन्, त्यो बढी महत्वपूर्ण हुन्छ । 

अबका दिनमा युवाका लागि युवा, विचारका लागि विचार, तर्कका लागि तर्क, इच्छाशक्तिका लागि इच्छाशक्ति, इमानदारीका लागि इमानदारी नै एक–अर्काका प्रतिस्पर्धी बन्नुपर्छ । विगतमा हामीले धेरै हेर्यौँ र अनुभव पनि गर्यौँ, उल्लिखित कुराको अभावका कारण पुराना, स्थापित र ऐतिहासिक राजनीतिक दललाई जनताले पछाडि धकेलिदिए । अब अगाडि बढ्नका निम्ति यिनै बुँदालाई नै हामीले प्रतिस्पर्धाको आधार बनाउनुपर्छ । त्यसले सफलताको बाटो मात्र दिँदैन, टिकाउ र विश्वासिलो नेतृत्वको आधार पनि दिनेछ ।

(डा. भण्डारी कांग्रेस नेता हुन्)

सुझावित समाचार