सुकुमवासी बस्ती डुबान सम्झाउँदै प्रधानमन्त्रीले भने– मान्छेको जीवनसँग खेलबाड गर्दै भोटको राजनीति गरिरहने हो ?

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नदीकिनारका बस्ती बर्सेनि डुबानमा पर्ने गरेको स्मरण गराउँदै अब भोटको राजनीति बन्द गरेर सुरक्षित वासको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।

शुक्रबार फेसबुकमा सुकुमवासी बस्ती डुबानको तस्बिरहरू पोस्ट गर्दै बालेनले लेखेका छन्, ‘बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौँका नदीकिनारमा रहेका हजारौँ मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य।’

जोखिमरहित व्यवस्थापन अव्यवस्थित बसोबासीको अधिकार रहेको प्रस्ट पार्दै प्रधानमन्त्रीले भनेका छन्, ‘अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैँ गरिरहने ? उहाँहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ कि जसरी वर्षौँदेखि झुलाइयो, त्यसैगरी अबका वर्षहरूमा पनि झुलाइराख्नु ? नागरिकका रूपमा उहाँहरूले पाउने अधिकार त्यही अव्यवस्थित र डुबानको जोखिम भएको ठाउँमा बसिरहनु हो कि त्योभन्दा सुरक्षित ठाउँमा जानु हो ? पक्कै पनि जोखिमरहित व्यवस्थापन उहाँहरूको अधिकार हो।’

नदीकिनारका अव्यवस्थित बस्तीले ढल निकास प्रणाली निर्माणमा समेत अवरोध पुगेको उल्लेख गर्दै बालेनले थापाथली, गैरीगाउँ र मनोहरालगायत क्षेत्रमा जोखिमपूर्ण अवस्थामा रहेका नागरिकलाई बल प्रयोग नगरी, मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको बताएका छन्।

सुझावित समाचार