- युद्ध र त्यसको रक्तपातले ट्रम्प र नेतन्याहुलाई आगामी चुनाव जित्न मद्दत गर्ने सम्भावना निकै न्यून देखिन्छ
हरेक युद्धले आत्मालाई छुने प्रश्न राख्छ । इरानविरुद्धको युद्ध पनि अपवाद होइन । भविष्यमा राष्ट्रियताको नयाँ परिदृश्यलाई पुनः ‘एड्जस्ट’ गर्ने प्रयासमा, जित र हारका कथा सुनाइँदा हामीलाई एउटा प्रश्नले सताउनेछ, युद्धको तर्क के थियो ?
सन् १९८२ मा मार्गरेट थ्याचर बेलायतकी प्रधानमन्त्री थिइन् । पदभार ग्रहण गरेपछि उनले सरकारी निगमलाई निजीकरण गरिन्, श्रमिक संघहरूलाई नियन्त्रण गरिन्, सरकारी खर्च घटाइन् र स्वतन्त्र बजार अर्थतन्त्रतर्फ अघि बढिन् । समग्रमा उनी मिसन–मोडमा अगाडि बढिन् । यसले अस्थायी बेरोजगारी र सामाजिक अशान्तिमा वृद्धि निम्त्यायो । थ्याचरप्रति सार्वजनिक स्वीकृति मूल्यांकन घट्यो । यो स्पष्ट थियो कि उनी आउँदै गरेको चुनाव हार्नेछिन् ।
अनि त्यसपछि उनले जीवनदान पाइन् । अर्जेन्टिनाका जनरल र देशको सैन्य जुन्टाका नेता लियोपोल्ड गुआल्टेरीले अर्जेन्टिनाको समुद्री सिमानाको नजिकै बेलायत नियन्त्रित फकल्यान्ड टापुमा आक्रमण गरे । बेलायतले युद्धको घोषणा गर्यो । युद्ध २ देखि १४ अप्रिल (१९८२) सम्म लडियो । युद्धमा ९०० सैनिक र नागरिक मारिए । बेलायतले जित्यो र थ्याचरको भाग्य रातारात परिवर्तन भयो । उनी ‘आइरन लेडी’का रूपमा उभिइन् । उनी आफ्नो अघिल्लो कार्यकालमा ३३९ सिटको तुलनामा ३९७ सिटको विशाल बहुमतसाथ हाउस अफ कमन्समा पुगिन् । अर्कातर्फ, गुआल्टेरीलाई राजनीतिक उजाडस्थानमा निर्वासित गरियो । थ्याचरलाई अझै पनि आइरन लेडी मानिन्छ, तर राजनीतिक महत्वाकांक्षाको टेबलमा बलिदान दिइएका ९०० जनाको मृत्युबारे कसैले कुरा गर्दैन ।
त्यसैगरी, डिसेम्बर १९७१ मा भारत र पाकिस्तान युद्धमा फसे । इन्दिरा गान्धीले पहिले पनि भारी बहुमतसाथ चुनाव जितेकी थिइन्, तर ‘गुंगी गुडिया’ (मौन पुतली) को छवि अझै पनि उनको मनमा टाँसिएको थियो । पाकिस्तानका याह्या खानले उनलाई त्यो छवि त्याग्ने मौका दिए । १९७० मा शेख मुजिबुर रहमानको अवामी लिगले पूर्वी पाकिस्तानको १६२ विधानसभा सिटमध्ये १६० जितेर नेसनल एसेम्ब्लीमा बहुमत हासिल गर्यो । जायज रूपमा उनलाई पाकिस्तानको प्रधानमन्त्री बनाउनुपर्थ्यो, तर पश्चिम पाकिस्तानका पञ्जाबी, सिन्धी, बलुच र पठानहरू बंगलाभाषी प्रधानमन्त्रीका लागि तयार थिएनन् ।
याह्या खानले पूर्वी पाकिस्तानमा रहेका बंगलाभाषी सैन्य एकाइलाई त्यहाँका मानिसलाई दमनको आदेश दिए । दसौँ हजार शरणार्थी भारत पसे र अन्ततः भारत र पाकिस्तानबिच युद्ध भयो । इन्दिरा गान्धीले भारतलाई पाकिस्तानमाथि निर्णायक जित दिलाइन् र बंगलादेश जन्मिन मद्दत गरिन् । यसले भारतको प्रतिष्ठा बढायो, ‘मौन गुडिया’ इन्दिरा गान्धी रातारात ‘दुर्गा’ बनिन् । याह्या खानलाई सत्ताच्युत गरियो र आफ्नो बाँकी जीवन उनले अपमानजनक रूपमा बिताए ।
अब पश्चिम एसियामा भएको युद्धलाई हेरौँ । गत वर्ष १२ दिनको निरन्तर हवाई आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक सुविधा पूर्ण रूपमा ध्वस्त भएको घोषणा गरे । यदि यो सत्य हो भने इरानलाई आणविक खतराका रूपमा चित्रण गर्दै अहिले युद्ध गर्नुको के आवश्यकता थियो ? यहाँ ट्रम्पको युद्ध थ्याचर वा इन्दिरा गान्धीको जस्तो छैन । यो अनावश्यक युद्धले पश्चिम एसियामा हजारौँको ज्यान लिएको छ र अमेरिकाको लोकतान्त्रिक परम्पराको खिल्ली उडाएको छ । कसैले पनि कल्पना गरेको थिएन कि अमेरिकी राष्ट्रपतिले सभ्यतालाई मेटाउने धम्की दिनेछन् ।
युद्धको राजनीतिक औचित्य खोज्ने मानिसले यसलाई ‘एपस्टाइन फाइल’ (अमेरिकी बाल यौन दुराचारसँग सम्बन्धित कुख्यात काण्ड) बाट विषयान्तर गर्ने ट्रम्पको प्रयाससँग जोड्छन् । इजरायली प्रधानमन्त्री र युद्धमा ट्रम्पका साझेदार बेन्जामिन नेतन्याहुले स्वदेशमा पनि भ्रष्टाचारको गम्भीर आरोपको सामना गरिरहेका छन् । नेतन्याहुले हमासलाई रकम पठाइरहेका थिए भन्ने उनीमाथि लगाइएका धेरै आरोपमध्ये एक हो ।
धारणाका हिसाबले युद्धका कारण ट्रम्पले स्वदेशमै दुःख भोगेकोजस्तो देखिन्थ्यो भने नेतन्याहुले आफ्नो देशमा बलियो छवि बनाएकोजस्तो देखिन्छ । दुवै देशका धेरै सर्वेक्षणले यो संकेत गर्छन् । अमेरिकामा केहीले ट्रम्पमाथि महाभियोग लगाउनुपर्ने माग पनि गरिरहेका छन् । उनका लागि एक मात्र उपाय भनेको इरानसँगको सम्झौता नै हो ।अमेरिकाले सेप्टेम्बरमा मध्यावधि चुनाव गर्नेछ भने इजरायलले अक्टोबरमा । के युद्ध र त्यसको रक्तपातले ट्रम्प र नेतन्याहुलाई चुनाव जित्न मद्दत गर्ला ? के यी दुई नेताले इमानदार जवाफ दिन पर्याप्त साहस देखाउलान् ?
(शेखर हिन्दुस्तान टाइम्सका प्रधान सम्पादक हुन्)
हिन्दुस्तान टाइम्सबाट