राजनीतिमा नैतिकताको महत्व कति हुन्छ ?
राजनीतिमा नैतिकताको ठुलो महत्व हुन्छ । आममतदाताको विश्वास जितेर आउने जनप्रतिनिधिको विश्वसनीयताका लागि पनि वैधानिकता र नैतिकताको ठुलो महत्व हुन्छ । वैधानिकताले जनप्रतिनिधिका काम–कारबाही वैधानिक छन् कि छैनन् भन्ने पाटोलाई प्रस्ट पार्छ भने नैतिकताले चाहिँ व्यक्तिको नैतिक आचरणलाई बुझाउँछ । नैतिकता सम्बन्धित व्यक्तिको व्यक्तित्वमा अनुभूति हुनुपर्छ । नैतिकता कतै लेखिएको हुँदैन । ‘कमन सेन्स’ भएका व्यक्तिले कसैको काम, कारबाही र व्यवहारलाई राम्रो ठाने भने उसको नैतिकता राम्रो भएको मानिन्छ । राजनीतिमा सफल हुन नैतिकता अपरिहार्य हुन्छ । नेल्सन मन्डेला, महात्मा गान्धी, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीलगायत नेतालाई जनताले त्यसै माया गरेका होइनन् । नैतिक तागतले नै उनीहरूलाई माथि उठाएको हो ।
छोटो समयमै दुईजना मन्त्रीले राजीनामा दिनुले के सन्देश दिएको छ ?
राजनीतिमा यसको सकारात्मक मात्र नभई नकारात्मक सन्देश पनि जान सक्छ । यसअघि यति छोटो समयमा मन्त्रीहरूले पद छाड्नुपर्ने गरी प्रश्न उठेको थिएन । अहिले जसरी मन्त्रीहरूले राजीनामा दिनुभयो, त्यसले बालेन सरकारलाई फाइदा र बेफाइदा दुवै गर्न सक्छ । नैतिक प्रश्न उठिसकेपछि त्यसको जिम्मेवारीबोध गरी छानबिनलाई सघाउन राजीनामा गरिएको हो भने त्यसले सरकारलाई फाइदा पुग्छ । सरकार थप बलियो बन्छ । तर, ‘पावर सिक्वेन्स’का कारण राजीनामा आएको हो भने यसले फाइदा गर्दैन ।
यस घटनाले भावी राजनीतिमा कस्तो प्रभाव पार्न सक्छ ?
आफूमाथि उठेका प्रश्नको प्रस्टीकरण दिएर जनतालाई बुझाउन सक्ने पर्याप्त ठाउँ हुँदाहुँदै पनि यसरी राजीनामा दिन थालियो भने भोलि प्रधानमन्त्रीदेखि रास्वपा सभापतिसम्मका नेतामाथि पनि प्रश्न नउठ्लान् भन्न सकिन्न । त्यतिखेर पनि यसैगरी राजीनामा दिनुपर्ने अवस्था आउन सक्छ । तर, जेसुकै भए पनि भविष्यमा कसैलाई मन्त्री नियुक्त गरिँदै गर्दा उसको ‘ब्याकग्राउन्ड’ हेरेर ‘क्लिन’ मान्छेलाई ल्याउने नजिर भने बस्न सक्छ ।