मकवानपुरमा स्थानीय तहबाटै करदाता सेवा सुरु हुने भएको छ। मनहरी गाउँपालिकाले वैशाख ९ गते बुधबारदेखि उक्त सेवा सञ्चालनमा ल्याउने भएको छ।
संघीय सरकारको गत कात्तिक १७ गतेको निर्णयअनुसार स्थानीय तहबाट करदाता सेवा प्रदान गर्ने नीति लागू भएसँगै जिल्लामै पहिलोपटक यस्तो सेवा सुरु हुन लागेको हो।
गाउँपालिकाबाटै अब व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा (प्यान) नम्बर जारी गरिनेछ। साथै, प्यान नम्बर रूपान्तरण, आयकर दर्ता तथा स्थायी लेखा नम्बरसम्बन्धी संशोधित कार्यहरू पनि स्थानीय तहबाटै हुने गाउँपालिकाका राजस्व शाखा अधिकृत राजीव बानियाँले जानकारी दिए।
अन्तःशुल्कसम्बन्धी इजाजतपत्र जारी तथा नवीकरणका लागि सम्बन्धित आन्तरिक राजस्व विभागअन्तर्गतका कार्यालयसँग सहजीकरण गरी प्रक्रिया अगाडि बढाइनेछ। आवश्यक कागजात रुजु गरी सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा पठाइने र अन्तिम स्वीकृति भने सोही कार्यालयबाट डिजिटल हस्ताक्षरमार्फत जारी हुने व्यवस्था गरिएको छ।
सेवा सञ्चालनका लागि गाउँपालिकाका तीनजना कर्मचारीलाई हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयबाट तालिम दिइसकिएको र आवश्यक उपकरणको व्यवस्थापन पनि भएको जनाइएको छ।
गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले स्थानीयस्तरमै सेवा सुरु भएपछि करदातालाई सहजता हुने, समय र लागत घट्ने तथा सुशासन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार यसअघि सञ्चालनमा रहेका करदाता सेवा कार्यालयहरू खारेज गरी सेवा स्थानीय तहबाटै विस्तार गर्ने नीति लागू गरिएको हो।