नीतीश कुमारको बहिर्गमनसँगै विहारमा एक युगको अन्त्य

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण
  • नीतीशले आमविहारी जनतालाई परिवर्तन सम्भव छ भनेर विश्वास दिलाए, जुन उनको सबैभन्दा ठुलो सफलता हो 

भारतको पूर्वी राज्य विहारको इतिहासमा सबैभन्दा लामो समय मुख्यमन्त्री रहेका नीतीश कुमारले अन्ततः मंगलबार पदबाट राजीनामा दिए । योसँगै राज्यको राजनीतिमा एक युगको अन्त्य भएको मानिएको छ । नीतीशको आगमनले त्यसअघि राज्यमा हाबी भएको भनिएको ‘जंगल राज’ अन्त्य गरेको र पूर्वाधार विकासको लहर ल्याएको भनेर उनको कार्यकालको प्रशंसा गरिन्छ । सँगसँगै, सत्तामा टिकिरहन राजनीतिक गठबन्धन पटक–पटक बदलिरहने प्रवृत्तिले उनको चमक घटायो । नीतीशले अन्ततः मंगलबार पटनाको लोकभवनमा आफ्नो अन्तिम मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरे र पदबाट राजीनामा दिए ।

उनले राजीनामा दिँदै गर्दा विहारले सन् २०२५–२६ मा १३.१ प्रतिशतको बलियो आर्थिक वृद्धिदर रेकर्ड दर्ज गर्यो, जुन राष्ट्रिय औसत ९.८ प्रतिशतभन्दा बढी हो । यद्यपि, उनले बारम्बार गठबन्धन परिवर्तन गर्दा उनको ‘अवसरवादी राजनीति’को आलोचनाले यो उपलब्धिलाई केही ओझेलमा पार्यो । गठबन्धन बदलिरहँदा १० पटक राज्यको मुख्यमन्त्रीको शपथ लिएका नीतीशलाई विरोधीहरूले ‘पलटु–राम’ भन्ने गर्थे । हुन पनि विगत ११ वर्षको अवधिमा उनले पाँचपटक गठबन्धन परिवर्तन गरे । र, राज्यमा भएका प्रत्येक विधानसभा चुनावमा उनी नेतृत्वको गठबन्धनले जित हासिल गरिरह्यो ।

नीतिशको शासनकालमा विहारमा केही वर्ष लगातार दोहोरो अंकको वृद्धि देखियो । पूर्वाधारमाथिको उच्च लगानी र कल्याणकारी योजनाको बलमा आएको यस वृद्धिका कारण उनलाई समर्थकले ‘विकासपुरुष’ र ‘सुशासनबाबु’ भन्ने गर्छन् । सन् २००० को दशकको सुरुवातमा लालुप्रसाद यादवको कार्यकालमा देखिएको अव्यवस्थापछि आएका नीतीशले राज्यमाथि लाग्ने ‘भारतको सबैभन्दा पिछडिएको राज्य’को बिल्ला हटाउन धेरै मिहिनेत गरे ।

नीतीशका समर्थक तथा उनका पार्टीका नेता उनलाई विहारलाई रूपान्तरण गर्ने आशाको किरणका रूपमा वर्णन गर्थे । तथापि, पूर्वाधारमा भएको अभूतपूर्व लगानीका बाबजुद राज्यमा देशका अन्य भागको तुलनामा औद्योगिक विकास भने अहिलेम्म देखिएन । यसले रोजगारी सिर्जना तथा सबल अर्थतन्त्र बन्न नसकेको विरोधीहरू बताउँछन् । तथापि, उनका समर्थक भने उनी आएपछि राज्यमा अराजकताको अन्त्य भएर शान्ति सुरक्षा लागू हुनुलाई नै ठुलो मान्छन् । साथै सडक र बिजुलीजस्ता पूर्वाधारमा ठुलो काम भएकाले भावी नेतालाई सहजता भएको बताउँछन् ।

परिवर्तनको सम्भावना
नीतीशका समकालीन नेताहरूले उनको शासनको प्रशंसा गर्दै उनले वैचारिक लडाइँ जितेको औँल्याउँछन् । विहार राज्यका वरिष्ठ भाजपा नेता देवेश कुमारले नीतीशबारे बोल्दै भने, ‘उनले विहारी जनतामा विश्वास जगाए । एउटा पूर्ण रूपमा अस्तव्यस्त राज्यमा उनले जुन सुरक्षा र आशाको विकास गरे, त्यो नै उनको सबैभन्दा ठुलो जित हो । उनले आमजनतालाई परिवर्तन सम्भव छ भनेर विश्वास दिए ।’

नीतीशलाई अक्सर ‘सामाजिक नेता’ पनि भनिन्थ्यो, किनभने उनले पिछडिएका जातिका लागि काम गरे । उनले विशेषगरी अति पिछडिएका वर्गलाई संगठित गरे र उनीहरूको राजनीतिक सहभागिता बढाए । सन् २०२३ मा विहारमा भएको जातीय जनगणनापछि, उनले अनुसूचित जाति, अनुसूचित जनजाति अन्य पिछडिएका वर्ग र आर्थिक रूपमा पिछडिएका वर्गका लागि आरक्षण ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत पुर्याए । तथापि, पटना उच्च अदालतले पछि यस निर्णयलाई उल्ट्याइदियो ।

विहार राज्यको राजनीति र समाजबारे लेख्दै आएका दिल्ली विश्वविद्यालयका सह–प्राध्यापक डा. चन्द्रचूड सिंह नीतीश कुमारलाई एक जननेताका रूपमा व्याख्या गर्छन् । ‘ उनले त्यस्तो समयमा पदभार ग्रहण गरे, जब विहार अत्यन्त दयनीय अवस्थामा थियो । राजनीतिमा उच्च जात एकदम हाबी थियो । उनले राजनीतिमा हिंसा कम गर्दै पिछडिएका जातिलाई मूलधारमा ल्याउन ध्यान केन्द्रित गरे । यसले जनतामाझ उनको स्वीकार्यता बढायो ।’

सत्तामा पकड बढाएपछि नीतीशले केही कठोर नीति पनि लागू गरे । आफ्नो लोकप्रियता शिखरमा रहेको समयमा सन् २०१६ मा उनले राज्यमा रक्सीजन्य पदार्थको बिक्री–वितरणमा प्रतिबन्ध लगाए । उनले अघिल्लो वर्ष भएको विधानसभा चुनावमै यस्तो व्यवस्था लागू गर्ने वाचा गरेका थिए । यसले विशेषगरी महिलामाझ उच्च समर्थन प्राप्त गर्यो । यस कदमलाई राज्यमा विकराल रहेको मदिरा समस्या हटाउन र विहारलाई रूपान्तरण गर्ने उद्देश्यले चालिएको एक प्रमुख सामाजिक सुधारको रूपमा प्रस्तुत गरिएको थियो ।

यद्यपि, रक्सीजन्य सामग्रीको बिक्रीमा प्रतिबन्ध लगाउने नीतिमा समस्या पनि देखियो । विशेषतः मदिराको तस्करी, कालोबजारी, लुकेर बनाइएका नक्कली मदिरा खाँदा हुने मृत्यु र राज्यको राजस्वमा उल्लेखनीय गिरावटजस्ता समस्या देखियो । नीतीश कुमार नेतृत्वको जनता दल युनाइटेड(जेडियू)को प्रतिद्वन्द्वी दल राष्ट्रिय जनता दल (आरजेडी)का नेता तेजस्वी यादवले दाबी गरेअनुसार रक्सी बिक्री–वितरणमा प्रतिबन्ध लागेदेखि विषाक्त मदिराबाट एक हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको छ । वास्तविक संख्या योभन्दा धेरै हुन सक्ने भन्दै धेरैले आँखाको ज्योति गुमाएको पनि उनले बताए ।

महिला समर्थन पहिलो शक्ति 
नीतीश कुमारले आफूलाई महिला सशक्तीकरणमा दृढतापूर्वक लागिरहने नेताका रूपमा प्रस्तुत गरे । उनले कैयौँ महिला सशक्तीकरण गर्ने कार्यक्रम ल्याए भने राजनीतिक सहभागिता बढाउने काम गरे । यसबाट महिला मतदातामाझ उनको बलियो समर्थन कायम बन्यो । उनले गाउँ पञ्चायतमा महिलाका लागि ५० प्रतिशत आरक्षण लागू गरे । त्यस्तै महिलाको आर्थिक पहुँच सुधार गर्न ‘जीविका योजना’ अन्तर्गत स्वयं सहायता समूह विस्तार गरे ।

सन् २००६ मा उनले स्कुले छात्राहरूका लागि साइकल योजना सुरु गरे । यस कार्यक्रमले बालिकाहरूको विद्यालय छाड्ने दर उल्लेख्य घटाएको र शिक्षामा पहुँच बढाएको तथ्यांकले देखाउँछ । साथै यस कार्यक्रमले छात्रा भर्ना र नियमित कक्षामा उपस्थितिमा पनि सुधार गर्न सघायो । नीतीशले प्रहरी प्रशासनलाई मजबुत बनाएर द्रुत परीक्षणमार्फत कानुन र व्यवस्थामा सुधार गरे । पूर्वाधारको हकमा उनले सडक, पुल र ग्रामीण विद्युतीकरणमा सुधार गरे ।

तथापि यी सुधारका बाबजुद मानव विकासका प्रमुख सूचकमा विहार अझै पनि भारतका अन्य राज्यमध्ये सबैभन्दा पुछारमा छ । सन् २०२२ मा राज्यले मानव विकास सूचकांकमा ०.६०९ अंक प्राप्त गर्यो, जुन भारतका राज्यमा सबैभन्दा कम हो । यो सूचकांकले स्वास्थ्य, शिक्षा र आयस्तर मापन गर्छ । शिक्षा क्षेत्र पनि दबाबमा छ । भर्नामा २३ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । माध्यमिक तहमा विद्यालय छाड्ने दर लगभग १९.५ प्रतिशतसम्म छ । उच्च शिक्षामा राज्यका विद्यार्थीको सहभागिता पनि न्यून छ । कुल भर्ना अनुपात केवल २५.५ प्रतिशत छ, जुन भारतका राज्यमध्ये सबैभन्दा खराब हो ।

पूर्वाधार विकासकै अनुपातमा उद्योगधन्दा विकास नहुँदा रोजगारी बढ्न सकेको छैन । यसले कामको खोजीमा धेरै देशभित्रै वा बाहिर जान बाध्य छन् । परिणामस्वरूप बसाइँसराइ राज्यको एक प्रमुख समस्या बनेको छ । एक अनुमानअनुसार करिब ७५ लाख विहारीहरू कामको खोजीमा राज्य छोड्छन् । लालुप्रसाद यादवको नेतृत्वमा हुर्केका र पछि नीतीश कुमारको नेतृत्वमा काम गरेका एक पूर्वआइएएस अधिकारीले नाम नछाप्ने सर्तमा बताएअनुसार नीतीशको पछिल्लो कार्यकालमा विहारको अवस्था पुनः बिग्रिन थालेको थियो ।

उच्च बसाइँसराइका कारण विहारमै काम गर्ने क्षमतावान् जनशक्तिको अभाव देखिन्छ । अर्थात्, झन्डै नीतीशको २० वर्षे शासनकालमा मानिसले आर्थिक पक्षमा भने उलेख्य परिवर्तन महसुस गर्न सकेनन् । जंगलराज अन्त्य गरेको दाबी गर्ने नीतीशले राज्यको नोकरशाही प्रणालीमा व्याप्त भ्रष्टाचार र घूसखोरी अन्त्य गर्न सकेन, जुन निक्कै व्याप्त भएको छ । २० वर्ष लामो अवधिमा राज्यमा राज्यले प्रयास गरे अनुरूप ठुला चिनी मिलका उद्योगहरू पुनः सुरु हुन सकेका छैनन् । पटना विश्वविद्यालयजस्ता उच्च शैक्षिक संस्था झन्झन् कमजोर बन्दै गएका छन् । र, जब स्कुल प्रणाली बिग्रिँदै जान्छ, त्यसले बिस्तारै सबै कुरामाथि असर गर्छ ।

द प्रिन्टबाट

(मिश्रा वरिष्ठ पत्रकार हुन्)

सुझावित समाचार