श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारमा रहेका व्यक्तिहरूको सार्वजनिक गरिएको सम्पत्तिको स्रोतसमेत स्पष्ट पार्नुपर्ने माग गरेका छन्।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले स्रोत नखुलेको सम्पत्तिले भ्रष्टाचारको आशंका पैदा गर्ने बताएका छन्। ‘सम्पत्ति कति छ भन्ने मात्र होइन, त्यसको स्रोत पनि खुलाइनुपर्छ,’ उनले लेखेका छन्, ‘स्रोतविनाको सम्पत्ति फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने बुझिन्छ, त्यसैले स्पष्ट पारिनुपर्छ।’
सरकारले आइतबार प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेपछि यस विषयमा व्यापक बहस सुरु भएको छ। केही नेताहरूको अस्वाभाविक देखिने सम्पत्तिबारे प्रश्न उठ्दै आएको छ।
यसैबिच, सामाजिक सञ्जालमा विभिन्न धारणा सार्वजनिक भइरहेका छन्। केहीले राजनीतिमा सामान्य जीवनशैली भएका व्यक्तिहरू आउनुपर्ने तर्क गरेका छन् भने अर्कोतर्फ प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने माग पनि उठिरहेको छ।