आर्थिक दबाबमा मधेश प्रदेश

४६ अर्ब ५८ करोड बजेटबाट १५ अर्ब रुपैयाँभन्दा बढीका आयोजनाको रकम कटौती

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण

स्रोत सुनिश्चित नगरी क्षमताभन्दा ठुलो आकारको बजेट ल्याउँदा मधेश प्रदेश अहिले आर्थिक दबाबमा परेको छ । बजेटको सुनिश्चतता नहुँदा साना योजनादेखि विभिन्न विकास कार्यक्रमसम्म रोक्का गर्ने निर्णय गरिएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्ष १५ अर्बभन्दा बढीको योजना तथा खर्च कटौती गर्ने तयारी गरेको हो । प्रदेशको अर्थ मन्त्रालयका अनुसार पूर्वसहमति भइसकेका र ठेक्का लागिसकेका योजनाहरू भने यथावत् सञ्चालन हुनेछन् । 

अर्थमन्त्री महेश यादवले स्रोत सुनिश्चित नगरी क्षमताभन्दा बढी बजेट ल्याउँदा प्रदेश सरकार आर्थिक दबाबमा परेको बताए । ‘एकातर्फ आय स्रोतको अभाव छ भने अर्कोतर्फ ठेक्का लागेका योजनाहरूको भुक्तानी गर्नुपर्ने दबाब छ,’ उनले भने, ‘त्यसैले औचित्यहीन योजनाहरू कटौती गरी ठुला तथा बहुवर्षीय योजनालाई प्राथमिकता दिइनेछ ।’ उनले यस कदमले पारदर्शिता बढाउने र सरकारप्रतिको विश्वास मजबुत बनाउने दाबीसमेत गरे । 

राजस्व संकलन लक्ष्यअनुसार नभएको, आन्तरिक स्रोतबाट थप आय आउने सम्भावना न्यून रहेको तथा संघीय सरकारको २० प्रतिशत बजेट कटौतीसम्बन्धी निर्णयका कारण प्रदेश सरकार यस्तो कदम चाल्न बाध्य भएको हो । चालू आर्थिक वर्ष ०८२–८३ का लागि तत्कालीन अर्थमन्त्री सुनीलकुमार यादवले ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएका थिए । सो बजेटमध्ये चालूतर्फ १६ अर्ब ७२ करोड (३५.८९ प्रतिशत) र पुँजीगततर्फ ३० अर्ब २६ करोड विनियोजन गरिएको थियो । तर, हाल स्रोत सुनिश्चित नभएको भन्दै १५ अर्ब रुपैयाँभन्दा बढीका योजनाहरू कटौती गर्ने तयारी गरिएको हो । प्रदेश मन्त्रिपरिषद्बाट १० लाखभन्दा कम लागतका योजनाहरू रोक्का गर्ने निर्णय भइसकेको छ । 

 यसबाट टुक्रे तथा औचित्यहीन योजनाहरू हटाउँदा करिब एक अर्ब रुपैयाँ बचत हुने अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए । उनका अनुसार यसका अतिरिक्त, विभिन्न शीर्षकमा २० प्रतिशतका दरले बजेट कटौती गरिनेछ । इन्धन, पुस्तक तथा छपाइ, भ्रमण, सेवा शुल्क, अनुगमन तथा मूल्यांकन र विविध खर्चमा कटौती गरिने जनाइएको छ । साथै, सेवा परामर्श, सिप विकास तालिम, जनचेतनामूलक कार्यक्रम, सवारीसाधन खरिद, अनुसन्धान तथा विकास, कम्प्युटर तथा सफ्टवेयर खरिदलगायतका खर्चहरू पनि रोक्का गरिएको छ । 

स्रोत संकलन गर्न नसकेको पूर्वमन्त्री यादवको आरोप
चालू आर्थिक बर्ष ०८२–८३ को बजेट ल्याएका पूर्वअर्थमन्त्री सुनीलकुमार यादवले भने बजेट निर्माण गर्दा संघीय अनुदान, राजस्व संकलन र आन्तरिक ऋणलाई आधार मानिएको बताए । वर्तमान सरकार स्रोत संकलनमा असफल भएको आरोप लगाउँदै अघिल्लो सरकारलाई दोष दिनु उचित नभएको उनले बताए । गत वर्ष अनुमान गरिएको १० अर्ब मौज्दातमध्ये करिब चार अर्ब मात्रै उपलब्ध भएको उनले बताए । त्यसैगरी, चालू आर्थिक वर्षमा साढे नौ अर्ब राजस्व संकलन लक्ष्य राखिएकोमा करिब पाँच अर्ब मात्र संकलन हुने देखिएकाले यस्तो अवस्था आएको उनको भनाइ छ । 

महेश यादव, अर्थमन्त्री
स्रोत सुनिश्चित नगरी क्षमताभन्दा बढी बजेट ल्याउँदा आर्थिक दबाब परेको छ । एकातर्फ आयस्रोतको अभाव छ भने अर्कोतर्फ ठेक्का लागेका योजनाहरूको भुक्तानी गर्नुपर्ने दबाब छ । त्यसैले औचित्यहीन योजनाहरू कटौती गरी ठुला तथा बहुवर्षीय योजनालाई प्राथमिकता दिइनेछ । यस कदमले पारदर्शिता बढ्ने र सरकारप्रतिको विश्वास मजबुत हुने अपेक्षा छ ।

सुझावित समाचार