नेपाल नगरपालिका संघले देशभरका स्थानीय तहहरूमध्ये स्थानीय आर्थिक विकासमा उल्लेख्य कार्य गरेकोमा रामेछापको मन्थली नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार २०८२ प्रदान गरेको छ।
नेपाल नगरपालिका संघको ३३औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्थली नगरपालिकालाई उक्त पुरस्कारबाट सम्मान गरिएको हो। समारोहमा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले उक्त पुरस्कार मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठलाई प्रदान गरेका थिए।
संघले आर्थिक वर्ष ०८१/८२ मा स्थानीय आर्थिक विकासमा मन्थली नगरपालिकाको कार्य सम्पादन मूल्यांकनका आधारमा पुरस्कार प्रदान गरेको हो। संघले देशभरका स्थानीय तहको मूल्यांकन गरेकोमा मन्थली नगरपालिका पहिलो भएको हो।
पुरस्कार तथा सम्मान ग्रहण गर्दै मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले नगरपालिकाबाट आर्थिक विकासमा गरेको प्रयासलाई उच्च मूल्यांकन गरी सम्मान प्राप्त भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा काम गर्न थप ऊर्जा मिलेको बताए।