आसामको चुनावमा कंग्रेसको रणनीति र भाजपाको सबलता

शुक्रबार, २७ चैत, २०८२
डिजिटल संस्करण
  • राहुल गान्धीले आसाममा सरकार बनाए हालका मुख्यमन्त्रीलाई जेल पठाउने धम्की दिएका छन् । यो भनाइका आधारमा राहुल आसाममा कंग्रेस सत्तामा फर्कने कुरामा विश्वस्त देखिन्छन् जस्तो लाग्छ । तर, उनी किन यति विश्वस्त छन् ?

भारतीय राष्ट्रिय कंग्रेसले आसाम राज्यमा उसको चिरपरिचित रणनीति अपनाउँदै छ । यो राहुल गान्धीले सन् २०२४ को लोकसभा चुनावमा अपनाएको ‘चौकीदार चोर है’ अभियानको केही परिमार्जित संस्करणजस्तो देखिन्छ । कंग्रेसले आसामको मुख्यमन्त्री हिमन्त विश्व शर्मालाई भ्रष्टको रूपमा चित्रण गर्ने हरसम्भव प्रयास गरिरहेको छ । यहाँसम्म कि गान्धीले सरमालाई जेल पठाउने धम्कीसमेत दिइरहेका छन् । यी भनाइ हेर्दा राहुल आसाममा कंग्रेस सत्तामा फर्कने कुरामा विश्वस्त देखिन्छन् । तर, उनी किन यति विश्वस्त छन् ?

कंग्रेस नेताका अनुसार यसका कम्तीमा तीन प्रमुख कारण छन् । पहिलो, भाजपा नेतृत्वको विपक्षी गठबन्धन ‘नेसनल डेमोक्रेटिक अलायन्स (एनडिए)’ सरकारविरुद्ध १० वर्षको सत्ताविरोधी भावनामाथि कंग्रेसको मुख्य विश्वास देखिन्छ । यद्यपि, मुख्यमन्त्री सरमाको व्यक्तिगत लोकप्रियता भाजपाको आसाम शाखाको सबैभन्दा ठुलो ढाल हो । त्यसैले, विपक्षीले निरन्तर उनको छवि बिगार्न ख।छोजिरहेको छ । अर्थात्, यस रणनीतिमा केन्द्रमा प्रधानमन्त्री मोदीविरुद्ध राहुल गान्धीले अपनाएको रणनीतिको झल्को देखिन्छ । दोस्रो कारण, गौरव गोगोईको नेतृत्वमा कंग्रेसले पाँच दलसँग मिलेर बनाएको व्यापक सामाजिक गठबन्धनमाथिको विश्वास हुन सक्छ । कंग्रेसले बनाएको गठबन्धनमा अखिल गोगोईको रायजोर दल, लुरिनज्योति गोगोईको आसाम जातीय परिषद्, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी), सिपिआई (एमएल) र अल पार्टी हिल लिडर कन्फरेन्स समावेश छन् । 

‘तीन गोगोई’को एकताका कारण राज्यका प्रभावशाली अहोम समुदायको समर्थन प्राप्त हुने अपेक्षा गरिएको छ । यो समुदायको बसोवास मुख्यतया माथिल्लो आसाममा देखिन्छ, जुन क्षेत्रमा लगभग ४० वटा विधानसभा सिट छन् । चियाखेती र व्यापारमा संलग्न जनजातिले ३५ भन्दा बढी सिटमा नतिजा निर्धारण गर्न प्रमुख भूमिका खेल्न सक्छन् । अहोम र चियाखेतीमा संलग्न जनजाति दुवै कंग्रेससँग मिलेकाले पार्टीले यस क्षेत्रमा ठुलो विजयको आशा गरेको छ । तर, अहिलेका लागि यो केवल आशा मात्र देखिन्छ । 

सन् २०१६ र २०२१ मा चियाखेतीमा संलग्न जनजातिहरू भाजपातर्फ सर्दा नै पार्टीले जित हासिल गर्न सकेको थियो । कंग्रेसले तिनलाई फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ । 

यसका लागि पार्टीले चिया भेगका जनजाति र अहोमहरूसहित ६ समुदायलाई अनुसूचित जनजातिको दर्जा दिने वाचा गरेको छ । राहुल गान्धीले चिया बगानका कामदारको ज्याला प्रतिदिन ४५० भारु पुर्याउने वाचा पनि गरेका छन्, जुन हालको ज्यालाबाट २०० भारु बढी हो । १३ वटा विधानसभा सिट भएको बाराक उपत्यकाका धेरै क्षेत्रमा चियाखेतीमा संलग्न जनजातिको उल्लेखनीय उपस्थिति छ । निश्चित रूपमा ‘एसटी’को दर्जा र ज्याला वृद्धिको वाचा उनीहरूका लागि महत्वपूर्ण छ । तर, अरू पनि धेरै कारकले उनीहरूको मतदान निर्णयलाई प्रभाव पार्ने गर्छ । ‘झारखण्ड मुक्ति मोर्चा (झामुमो)’को चुनावमा प्रवेशले विषयलाई अझ रोचक बनाएको छ । 

कंग्रेसले गठबन्धनमा आठ सिट दिन अस्वीकार गरेपछि झामुमोले १६ जना उम्मेदवारलाई मैदानमा उतारेको छ । झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन र कम्तीमा १५ झामुमो विधायक एक हप्ताभन्दा बढी समय डिब्रुगढमा बसेका थिए । धेरै चियाखेती हुने क्षेत्रका जनजातिका पुर्खालाई ब्रिटिस कालमा छोटा नागपुरबाट आसामका चिया बगानमा काम गर्न ल्याइएको थियो । झामुमो यो सम्बन्धको फाइदा उठाएर आसाममा आफ्नो पकड जमाउन खोजिरहेको छ । कंग्रेसका आशाको तेस्रो कारण सिंगापुरमा चर्चित आसामी गायक जुबिन गर्गको मृत्युप्रति जनताको आक्रोश र निराशा हो । कांग्रेसले सत्तामा आएको १०० दिनभित्र यस घटनाको अनुसन्धान गर्ने र न्याय प्रदान गर्ने वाचा गरेको छ । हिमन्त सरमा सरकारले यस ‘हत्या’को अनुसन्धान गर्न पहिले नै विशेष अनुसन्धान टिम (एसआइटी) गठन गरिसकेको छ । सिंगापुर कोरोनरले यसलाई दुर्घटनावश डुबेर मृत्यु भएको ठहर गरेको छ । गल्तीलाई अस्वीकार गरेको छ ।

यी तीन कारकको प्रभाव स्पष्ट छैन । उदाहरणका लागि यसअघि सन् २०२१ को विधानसभा चुनावमा पनि कंग्रेसले आठ दलको महागठबन्धन गठन गरेको थियो । त्यतिखेरका यसका दुई सहयोगी एआइयुडिएफ र ‘बोडोल्यान्ड पिपुल्स फ्रन्ट’ अहिले गठबन्धनमा पर्न सकेका छैनन् । यी दुई दल मिलेर सन् २०२१ मा १२ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका थिए । के सन् २०२६ मा एजेपी र रायजोर दलको प्रवेशले ती दलको अनुपस्थितिको क्षतिपूर्ति गर्ला ? सन् २०२१ मा यी दुईले तेस्रो मोर्चाको रूपमा चुनाव लडेका थिए र कुल ५.२ प्रतिशत मत प्राप्त गरेका थिए । 

हिमन्त सरमाको ध्रुवीकरण मुद्दालाई बढावा दिनबाट बच्न कंग्रेसले बद्रुद्दिन अजमलबाट आफूलाई टाढा राखेको छ । तर पनि यसले पार्टीका कठिनाइ कम हुँदैनन् । सन् २०२३ को निर्वाचन क्षेत्रको पुनसीमांकनपछि, आसाममा मुस्लिमबहुल सिटको संख्या ३५ बाट घटेर २३ भएको छ । यसपटक यी सिटमा प्रतिस्पर्धा अझ तीव्र हुन सक्छ ।  उदाहरणका लागि, अलिगढपुर–काटलीछेरा निर्वाचन क्षेत्रमा तीनजना वर्तमान मुस्लिम विधायक चुनाव लडिरहेका छन् । यसमा अलिगढपुर, काटलीछेरा र हैलाकाण्डीका विधायक समावेश छन् । 

सीमांकनपछि, अलिगढपुर र काट्लीचेरालाई मिलाएर ८० प्रतिशतभन्दा बढी मुस्लिम जनसंख्या भएको सिट बनाइयो । जबकि हैलाकाण्डी हिन्दुबहुल निर्वाचन क्षेत्र बन्यो । यसले गर्दा त्यो निर्वाचन क्षेत्रका विधायक नयाँ सिटमा सर्न बाध्य भए । उनी एनडिए सहयोगी एजिपीको टिकटमा चुनाव लडिरहेका छन् । त्यसैले, हिमन्त सरमाले सीमांकनलाई प्रमुख रणनीति मानेका छन् । अहिले एआइयुडिएफ गठबन्धन नरहेकाले मुस्लिम सिटमा कंग्रेसका लागि प्रतिस्पर्धा अझ कठिन हुन सक्छ । हाग्रामा मोहिलारी नेतृत्वको बिपिएफले सन् २०२१ मा ३.३९ प्रतिशत मत र चार सिट जितेको थियो । यो अहिले एनडिएमा जोडिएको छ । गत सेप्टेम्बरमा यसले बोडोल्यान्ड क्षेत्रीय परिषद्को ४० मध्ये २८ सिट जितेको थियो । त्यसपछि नै हिमन्त सरमाले पार्टीलाई एनडिएमा पुनः सामेल गराएका हुन् । यसपटक बिपिएफले बोडोल्यान्ड क्षेत्रका १५ मध्ये ११ सिटमा चुनाव लडिरहेको छ । तथापि, एनडिएमा सामेल भएर यसले पहिले यसलाई समर्थन गर्ने मुस्लिम मतदाताको समर्थन गुमाउने जोखिम छ । जहाँसम्म जुबिन फ्याक्टरको कुरा छ, आसामी जनता उनको मृत्युको स्पष्ट कारण बाहिर नआउँदा दुखी छन् । तर, डिब्रुगढ विश्वविद्यालयका विद्यार्थीले यही कुराले उनीहरूको मतलाई असर नगर्ने बताइरहेका छन् । तथापि, एक शिक्षकले भने कम्तीमा तीनमध्ये एकजना विद्यार्थी सरकारको मनोवृत्तिबाट असन्तुष्ट रहेको, तर खुला रूपमा आफ्नो रिस व्यक्त नगरिरहेको बताए ।

भाजपाको कल्याणकारी प्याकेज
भाजपाबाट टिकट नपाएका कारण पार्टीमा देखिएको विद्रोह र आक्रोशले पनि उसलाई आशा दिएको हुन सक्छ । तर, भाजपासँग कम्तीमा दुई बलिया सकारात्मक पक्ष छन्, ‘विकास पुरुष’को रूपमा हिमन्त सरमाको लोकप्रियता र डिबिटीमार्फत नगद सहयोग । हिमन्त सरमाको मुस्लिमविरोधी राजनीतिले माथिल्लो आसाममा धेरै प्रभाव पारेको छैन । किनकि, यस क्षेत्रको जनसंख्यामा लगभग १० प्रतिशत मात्र मुस्लिम छन् । उल्टो डिब्रुगढ र वरपरका मानिसको उल्टो मुस्लिमको अतिक्रमण हटाउने विवादास्पद अभियानलाई अत्यधिक समर्थन देखिन्छ ।

माथिल्लो आसाममा पुल र फ्लाई ओभरजस्ता पूर्वाधार विकासबारे जनमत स्पष्ट सकारात्मक देखिन्छ । यसबाहेक, हिमन्त सरमाको सरकारले ल्याएको कल्याणकारी योजनाहरू र वित्तीय सहायताबाट धेरै मानिस लाभान्वित छन् । डिब्रुगढ विश्वविद्यालय क्याम्पसमा धेरै विद्यार्थी नै हिमन्त सरमाको विकास कार्यबाट निकै उत्साहित देखिन्छन् ।

यसअघि विहारमा महिलाहरूको बैंक खातामा भारु १०,००० स्थानान्तरणलाई चुनाव जित्ने चाल मानिएको थियो । खासमा त्यो हिमन्त शर्माको विचार थियो । उनले विगत पाँच वर्षमा आसाममा विभिन्न रूपमा यस्ता धेरै कार्यक्रम लागू गरेका छन् । हुन त कंग्रेसले आफूले सरकार बनाएमा प्रत्येक महिलालाई भारु पचास हजार दिने वाचा गरेको छ, तर हालैका चुनावमा देखिएझैँ, मतदाताले अहिले पाइरहेको रकमलाई ध्यान दिन्छन्, पछि दिने आशा देखाइएको रकममा होइन । कंग्रेसका रणनीतिकार आसामको चुनाव अझै भाजपाले जित्ने पक्का नरहेको बताउँछन् । निश्चित रूपमा यो सही हो । तर, यो अनिश्चितता दुवै पक्षका लागि हो । आखिरमा नतिजा नआएसम्म कुनै पनि चुनावबारे यकिनका साथ भन्न सकिँदैन । 

सिंह राजनीति र शासनबारे कलम चलाउँछन् । 
– द प्रिन्टबाट 

सुझावित समाचार