- दिल्लीनजिकैको लोनी सहरमा कारखानाबाट निस्कने धुवाँ, सवारीसाधन तथा निर्माणबाट निस्कने धुलोले हावा विषाक्त बनाएको छ
लोनी सहर दिल्लीबाट मुस्किलले एक घण्टाको दूरीमा पर्छ, तर यो द्रुत गतिमा बढ्दो औद्योगिक आधारले भारतीय राजधानीलाई उछिनेको छ । स्विस कम्पनी ‘आइक्यु एयर’का अनुसार यहाँको हावाको गुणस्तर गत वर्ष सबैभन्दा खराब थियो । यहाँ, कारखानाबाट निस्कने धुवाँ, सवारी साधन तथा निर्माणबाट निस्कने धुलोले विषाक्त मिश्रण उत्पादन गर्छ, जसका कारण यहाँका सात लाख बासिन्दा उकुसमुकुस बनेका छन् । ‘खोकी त सामान्य भइसक्यो, यहाँ सास फेर्न पनि गाह्रो छ,’ ४५ वर्षीय इ–रिक्सा चालक मनोज कुमारले भने । उनले आफ्नो सम्पूर्ण जीवन लोनीमा बिताएका छन् । अर्का स्थानीय बासिन्दा मोहम्मद मोहमिन खानका अनुसार प्रदूषण यति धेरै छ कि उनी सहरको खराब पक्की सडकमा पाइला टेक्दा हरेकपटक मास्क लगाउँछन् । ‘यहाँ चौबिसै घन्टा प्रदूषण हुन्छ’ उनले भने, ‘तपाईं जहाँ गए पनि प्रदूषणबाट उम्कन सक्नुहुन्न ।’
सबैभन्दा प्रदूषित सहरहरूको सूची निर्धारण गर्न, आइक्यु एयरले धुलोका सूक्ष्म कण अर्थात् सबैभन्दा सानो तर खतरनाक प्रदूषकमध्ये एक पिएम २.५ अवलोकन गर्यो । आइक्यु एयरका अनुसार गत वर्ष लोनीको औसत पिएम २.५ सार्द्रता (कन्सन्ट्रेसन) ११२.५ थियो, जुन विश्व स्वास्थ्य संगठनको सुरक्षित सीमाभन्दा २२ गुणा बढी हो । सास लिँदा पिएम २.५ कण फोक्सोको तन्तुमा पुग्छ र यो रक्तप्रवाहमा प्रवेश गर्न सक्छ । यसको असर दम, मुटु र फोक्सो रोग, क्यान्सर र अन्य श्वासप्रश्वासजन्य रोगका साथै बच्चामा संज्ञानात्मक हानिसँग जोडिएको छ । लोनीमा क्लिनिक सञ्चालन गर्ने डा. अनिल सिंहका अनुसार विगत पाँच वर्षमा श्वासप्रश्वास समस्या भएका बिरामीको संख्या बढेको छ । ‘मैले विशेषगरी धेरै कम उमेरका बालबालिकालाई दमको प्रारम्भिक लक्षण लिएर आएको देखेको छु ।’
बढ्दो बिमारी
आइक्यु एयरका अनुसार गत वर्ष विश्वका शीर्ष पाँच सबैभन्दा प्रदूषित सहरमध्ये तीन भारतमा थिए, जसमध्ये नयाँदिल्ली फेरि एकपटक विश्वको सबैभन्दा प्रदूषित राजधानीका रूपमा देखापरेको छ । उक्त संस्थाका अनुसार १.४ अर्ब जनसंख्या भएको देशमा सवारी साधन र औद्योगिक उत्सर्जन, बालीनालीको अवशेष जलाउने कार्य र निर्माणको धुलो प्रदूषणका प्रमुख स्रोत हुन् । डिसेम्बरदेखि जनवरीसम्म उत्तरी भारतका लोनी र अन्य सहर चिसो, सुक्खा जाडो महिनामा नियमित रूपमा प्रदूषणको चपेटामा परेका छन् ।
गत अप्रिलमा दिल्लीमा आएको ठुलो धुलोको आँधीले लोनीको हावामा थप प्रदूषक थप्यो, जसले गर्दा यो अझ विषाक्त भयो र त्यसको असर, विशेषगरी यहाँका वृद्ध र बालबालिकामा देखियो । प्रदूषणका कारण आफ्नो तीन वर्षीय छोरालाई प्रायः एलर्जी, खोकी र पेटमा संक्रमण हुने गरेको लोनीकी खुसी फिरोजले बताइन् । ‘धुलोका कारण हामीले हाम्रो घरमा दिनको दुईदेखि तीनपटक पानी राख्नुपर्छ,’ उनले अगाडि थपिन्, ‘तपाईंले घरभित्रको सबैभन्दा टाढाको कोठामा पनि धुलो देख्न सक्नुहुन्छ ।’
निरन्तर प्रदूषण
भारतले २०१९ मा आफ्नो स्वच्छ वायु कार्यक्रम सुरु गर्यो, जसले २०२५–२६ सम्ममा कणको सार्द्रता ४० प्रतिशतले घटाउने उपाय २४ राज्य र केन्द्र शासित प्रदेशमा लागू गर्यो । यी उपायमा कोइलाबाट चल्ने पावर प्लान्टमा कारबाही गर्ने, वायु अनुगमन प्रणाली स्थापना गर्ने र बायोमास जलाउन प्रतिबन्ध लगाउने समावेश छ । सरकारी तथ्यांकअनुसार केही भारतीय सहरले आफ्नो वायु गुणस्तरमा सुधार देखेका छन् । तैपनि, विज्ञहरूले कडा कार्यान्वयन र समन्वयको अभावले प्रगति सुस्त भएको सुझाव दिन्छन् ।
गत अक्टोबरमा दिल्लीको स्थानीय सरकारले राजधानीको हावा सफा गर्न क्लाउड–सिडिङ (मौसम परिवर्तनको एक प्रकार जसको उद्देश्य वर्षाको मात्रा परिवर्तन गर्नु, असिना घटाउनु र कुहिरो फैलाउनु हो) प्रयोगको प्रयास गरेको थियो, तर यो असफल भयो । जब अर्को महिना राजधानी क्षेत्रको पिएम २.५ दैनिक औसत सार्द्रता खतरनाकस्तरमा पुग्यो, कडा सरकारी कदमको आह्वान गर्दै सयौँ मानिस दुर्लभ विरोध प्रदर्शनमा सहभागी भए । आइक्यु एयर रिपोर्टअनुसार भारतको हावा सफा गर्ने संघर्ष छिमेकी चीनकोभन्दा फरक छ, जहाँ देशको कुख्यात प्रदूषित आकाशलाई नियन्त्रण गर्न अबौँ डलर लगानी र वर्षौं लामो प्रयासले राष्ट्रिय पिएम २.५ स्तरमा कमी ल्याएको छ ।
यस क्षेत्रका अन्य देशले पनि विश्वव्यापी रूपमा उच्चतम वार्षिक औसत पिएम २.५ सार्द्रता अनुभव गरेका छन् । रिपोर्टअनुसार दक्षिण एसियाले २०२५ मा विश्वको सबैभन्दा प्रदूषित देशको रूपमा स्थान पायो । लोनीमा बासिन्दा भन्छन् कि उनीहरू केवल स्वतन्त्र रूपमा सास फेर्न चाहन्छन् । ‘गत ४० वर्षमा केही पनि परिवर्तन भएको छैन,’ इ–रिक्सा चालक कुमारले । ‘हामी यहाँबाट निस्कँदा हामी निश्चित रूपमा धेरै राम्रो महसुस गर्छौं,’ फिरोजले भने, ‘तपाईं यहाँबाट जहाँ जानुहुन्छ, त्यहाँ धेरै ताजगी हुन्छ । हामीलाई यहाँ राम्रो लाग्दैन ।’
(सिएनएनका लागि मित्रा, कुर्नियावान र रावको आलेख)
सिएनएनबाट