निर्वाचनको हारको जिम्मेवारीसहित पार्टी पुनर्गठनका लागि अध्यक्ष केपी ओलीले स्वैच्छिक राजीनामा नगरे विशेष महाधिवेशनको माग गर्ने इतर पक्षको गृहकार्य चलेपछि एमालेको संस्थापन पक्ष सक्रिय भएको छ । सोहीअनुसार एमाले नेतृत्वले पार्टी पुनर्गठनका लागि दबाब दिन विशेष महाधिवेशनको माग राखेर प्रतिनिधिहरूको हस्ताक्षर अभियान चलाउन खोजेका अभियानकर्मीसँग मंगलबार छलफल गरेको छ ।
एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललगायतका नेताहरूले हस्ताक्षर अभियान चलाउन खोजेका अभियानकर्मीसँग पार्टी कार्यालयमा छलफल गरेका छन् । नेताहरूले पार्टीसम्बद्ध बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलिया, अनेरास्ववियुका उपमहासचिव कमल जोशी र राष्ट्रिय युवा संघका उपमहासचिव उपेन्द्र शाहीसँग छलफल गरेका हुन् । छलफलमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि सहभागी थिए ।
त्यसक्रममा थापाले पार्टीले चुनावको औपचारिक समीक्षाका लागि तल्लो तहबाट प्रतिवेदन मागिसकेको र केन्द्रीय कमिटी बैठकको मिति तय गर्न बाँकी रहेको अवस्थामा हस्ताक्षर अभियान चलाउनु गलत भएको बताएका थिए । उनले अध्यक्ष ओलीलाई प्रतिशोध साधेर गिरफ्तार गरेको अवस्थामा पार्टी एकतामा जोड गर्नुपर्नेसमेत धारणा राखेका थिए ।
एमाले र नेतृत्वमाथि हमला भइरहेका वेला र पार्टीमा संस्थागत छलफल बाँकी नै रहेको वेला गलत समयमा हस्ताक्षर चलाउन खोजेको भन्दै पछि हट्न पनि कार्यवाहक अध्यक्ष थापाले आग्रह गरेका थिए । पार्टी कार्यकर्ताले आफ्ना फोरममा आलोचनात्मक ढंगले पनि कुरा राख्न तथा समीक्षा गर्न पाउने सार्वभौम अधिकार रहेको स्मरण गराएका थिए ।
जवाफमा उनीहरूले चुनावको समीक्षामा ढिलाइ भइरहेको र तलसम्म कार्यकर्ता पंक्तिमा बढेको निराशा चिर्न पनि एमालेलाई पुनर्जीवित गरेर लैजान जरुरी भएको बताएका थिए । साथै अभियान चलाउन खोजेकाहरूले पार्टीलाई पुनर्गठनको दिशामा लैजानुपर्ने आमधारणा रहेको र त्यसको सम्बोधन अनिवार्य प्रस्टीकरण दिएका थिए ।
छलफलमा पार्टीले बैठकमै चुनावी समीक्षा गरेर एउटा ठोस निष्कर्ष निकाल्ने र आमकार्यकर्ताको भावनासमेत सम्बोधन गर्ने गरी अघि बढ्ने गरी नै निर्णय लिन सक्ने भन्दै महासचिव पोखरेलले अभियानकर्मीलाई आश्वस्त बनाउन खोजेका थिए । उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरू भने ओलीको सम्मानजनक बहिर्गमनको पक्षमा छन् ।
केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले हस्ताक्षर अभियान चलाउन खोज्ने कार्यकर्तासँग नेताहरूले केहीबेर छलफल गरेको भए पनि विषयवस्तुबारे जानकारी नभएको बताए । ‘उहाँहरूबिच आधा घण्टाजति छलफल भएको हो, तर के–के कुराकानी भयो थाहा भएन,’ उनले भने ।
छलफलमा सहभागी बुद्धिजीवी परिषद्का अध्यक्ष थपलियाले आफूहरूले अभियानको उद्देश्य प्रस्ट्याएको र नेताहरूले पार्टी प्रणाली र देशको अहिलेको अवस्थाबारे जानकारी गराएको बताए । ‘कुरा सुन्ने र राख्ने दुवै काम भयो, पार्टीलाई कसरी राम्रो र बलियो बनाएर जाने भन्ने दिशामा कुराकानी गरिएको हो,’ उनले भने ।